उपप्रमुख भएर अनुभव बटुलेका महिला जनप्रतिनिधि भन्छन् : अब प्रमुखमा हाम्रो दाबी

 चैत २३, २०७८ बुधबार १४:३:२७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीलाई आउँदो चुनावमा मेयर बन्ने चाहना छ । तर उहाँले आफ्नो चाहना पार्टीमा खुलेर भन्न सक्नुभएको छैन। 

‘मेरो एकपटक प्रमुख भएर पालिका हाँक्ने इच्छा छ,’ जाग्रीले भन्नुभयो, ‘तर महिलालाई मुख्य पद दिन हुँदैन भन्ने परिपाटी हाम्रोमा छ । सबै कुरामा सक्षम हामी महिला पनि प्रमुख बन्न पाउनुपर्छ भन्ने मेरो माग हो । मेरो दाबी पनि यसैमा छ।’

प्रायः सबै दलमा महिलालाई प्रमुख दिनु हुँदैन भन्ने सोच विद्यमान रहेको उहाँले बताउनुभयो । महिलालाई महत्त्वपूर्ण पदमा ल्याउन नखोज्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ छ । ‘महिला के मा कम छौँ र ? लेखेपढेका छौँ । ५ वर्ष उपप्रमुख भएर काम गरेका छौँ। त्यसैले अबको मेरो दाबी प्रमुखमै रहन्छ,’ उहाँले भन्नुभयो । उपप्रमुख भएर काम गर्दा पनि प्रमुखबाट सहयोग नपाइने र फेरि जिम्मेवारी दिन नचाहने नेतृत्व रहेकाले अब महिलाले सोच्नुपर्ने समय आएको उहाँले बताउनुभयो ।

महिला उपप्रमुख भएकै कारणले पुरुष जनप्रतिनिधिले सहयोग नगरेरै आफ्नो कार्यकाल सकिन लागेको बझाङका उपप्रमुखहरु बताउँछन् ।

खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष पाउसरा थापा भन्नुहुन्छ, ‘कतिपय पालिकामा कार्यपालिकाकै बैठकबारे पनि महिला जनप्रतिनिधिलाई जानकारी हुँदैन।’ यस्तो अवस्थामा पनि आफूहरुले काम गरेको उहाँ बताउनुहुन्छ । स्थानीय तहको पहिलो कार्यकाल भएकाले कर्मचारीदेखि कार्यालय व्यवस्थापनमा धेरै समय खर्च भएको उहाँको भनाइ छ । 

छविसपाथीभेरा गाउँपालिकाकी उपाध्यक्ष राधिका रताला जोशीले पनि अध्यक्षको उम्मेदवार बन्ने इच्छा अनुसार तयारी गरिरहेको बताउनुभयो । ‘अब हामीले पनि प्रमुख बन्ने तयारीमा जुट्नु पर्छ,’ उहाँले भन्नुभयो, ‘५ वर्ष उपाध्यक्ष भएर काम गरेपछि अब स्वतः प्रमुखमै दाबी हुनु स्वाभाविक पनि हो । केही थाहा नपाएरै पदमा पुगिएको थियो, अब स्थानीय तह सञ्चालन सम्बन्धी धेरै विषयमा जानकार भइसकेपछि प्रमुख भएर काम गर्ने चाहना छ ।’ 

खप्तड छान्ना गाउँपालिकाकी धिरा खत्रीले २०७४ सालको स्थानीय तहको चुनावमा उपाध्यक्षमा उठ्नुभएको थियो । उहाँ १ मतले पराजित हुनुभयो । उहाँ यसपालि अध्यक्षको टिकटका लागि दाबी गरिरहनुभएको छ । आफूहरुले प्रमुखको पद पाए जिल्लाको नमुना पालिका बनाउन सक्ने क्षमता महिलामा पनि छ भनेर देखाउन सक्ने उहाँको दाबी छ । ‘नेतृत्वले अवसर दिँदैन, महिलालाई उपप्रमुखमै सीमित गर्ने प्रवृत्ति छ । उप पद महिलाका लागि मात्रै हो भन्ने बुझाइ छ । यो सोच र यो बुझाइ परिवर्तन गर्न जरुरी छ’ उहाँले भन्नुभयो ।

पार्टीका घोषणापत्रमा मात्र महिलालाई सीमित नराखेर प्रमुख पदमा ल्याउनुपर्ने जोड आफ्नो रहेको खत्रीले बताउनुभयो । महिला जनप्रतिनिधिलाई पुरुष जनप्रतिनिधिदेखि कर्मचारीहरूले असहयोग गर्ने गरेको उहाँको पनि गुनासो छ ।

बुङ्गल नगरपालिकाकी उपमेयर मिना जागरी पनि महिलालाई उपप्रमुखमा मात्र सीमित गर्न नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पाँच वर्ष सिकाइ भएको छ । दलहरूले महिलालाई उपमै मात्र सीमित राख्न हुँदैन, महिलाले पनि प्रमुखको लागि आवाज उठाउनुपर्ने बेला आएको छ । प्रमुख भएर पुरुषले भन्दा राम्रो तरिकाले काम गर्ने क्षमता महिलाले पनि राख्छन् ।’

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया