सागर फुयालको ‘अँजुलीमा थाप्न पाए’ पुस्तकको विमोचन

 चैत २६, २०७८ शनिबार १२:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कवी तथा गीतकार सागर फुयालको कविता र गीती संग्रह 'अँजुलीमा थाप्न पाए'को विमोचन गरिको छ । काठमाण्डौको बानेश्वरमा रहेको अर्पण ब्यांकटमा शुक्रबार संग्रहको विमोचन गरिएको हो ।

लेखक फुयालकी आमा मैयाँ फुयालले सभापतित्व गर्नुभएको विमोचन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक श्रीकृष्ण श्रेष्ठ प्रमुख आतिथि हुनुहुन्थ्याे । यस्तै विशेष अतिथि साहित्यकार नेत्र न्यौपानेले पुस्तकको समीक्षा गर्दै अँजुलीमा थाप्न पाए सरल सान्दर्भिक र शूक्तिमय रहेको बताउनुभयो । उहाँले फुयालका कवितामा निराशाका कुरा बढी भेटिए पनि तीनमा आम नेपाली नागरिककको यथार्थ चित्रण झल्किने बताउनुभयो । यस्तै मुरारीप्रसाद आचार्य, कृष्ण क्षेत्री र धीरकुमार श्रेष्ठले पनि फुयालका पुस्तकमाथि आफ्नो विचार राख्नुभएको थियो ।

अँजुलीमा थाप्न पाए ३३ कविता र ६८ गीतहरुको संग्रह हो । साहित्यिक मासिक पत्रिका शब्दाङ्कुरका सम्पादक फुयाल परराष्ट्र मन्त्रालयमा उप सचिव समेत हुनुहुन्छ । कामको सिलसिलामा खाडीका विभिन्न देशमा रहेका नेपाली दूतावासमा समेत काम गर्नुभएका फुयालका कवितामा विदेशमा पसिना बगाउने नेपाली श्रमिकको पीडाको गन्ध पनि पाइन्छ ।  

यस संग्रहको पुस्तक शीर्षक पनि रहेको कविता यसप्रकार छ :

अँजुलीमा थाप्न पाए

आँसु र हाँसो
अविरल बगेका
ती तिम्रा नयनका आँसु
एक थोपा मात्र
यो अँजुलीमा थाप्न पाए ।

तिमीले पिएर लुकाएका 
कालकूट विषहरु
कति छन् थाहा पाउन सक्थेँ
सकेको मैले चुस्थेँ
दुवै उस्तै हुन्थ्यौँ
भरोसाको दियो बल्थ्यो ।

बनावटी हाँसोको त
सागर नै दिए पनि रित्तो हुन्छ,
कामना हुँदैन वासना हुँदैन
भ्रम हुन्छ त्यो 
स्वच्छ अनि निर्मल हुँदैन त्यो 
औपचारिकता हुन्छ
तिम्रो अनि मेरो पनि 
भरोसा हुन्छ आँसुभित्र
हाँसोभित्र हुन सक्छ खग्रास ।।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया