महानगरवासीलाई फोहर र दुर्गन्धकै सकस

 चैत २७, २०७८ आइतबार १३:५१:२८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

सिनामङ्गल बस्ने बद्री खतिवडालाई केवल आफ्नो कागजातमा मात्र काठमाण्डौ महानगरवासी जस्तो लाग्छ । अरु बेला सधैँ गन्हाउने वाग्मती उहाँको नाकमै ठोकिए जस्तो लाग्छ खतिवडालाई। 

‘वागमती सफाइ यति हप्ता र उति हप्ता भन्छन् तर, सधैँको ताल यस्तो छ’ वाग्मतीमा बगेको ढल अनि नदी किनारमा रहेको फोहर देखाउँदै खतिवडा भन्नुहुन्छ, ‘वाग्मतीमा सफा पानी बगाउन ढल प्रशोधनको काम सधैँ सकियो सकियो भन्ने सुनिन्छ तर वाग्मती सफा भएको कुनै दिन थाहा भएन ।’

हरेक राष्ट्रिय तथा स्थानीय चुनावमा नारा बन्ने गरेको वाग्मती सफाइको अवस्था वाग्मती नदी किनारमा गएर यसो नियाले पुग्छ । चाहे त्यो पशुपति तिलगङ्गा वा थापाथली जहाँसुकै होस् । 

खतिवडा घर अगाडिको बिग्रिएको बाटो तथा वरपर रहेको फोहर देखाउँदै प्रश्न गर्नुहुन्छ, ‘यही हो त देशको राजधानी काठमाण्डौ महानगर ? अझ त्यो पनि हिन्दुहरुको आराध्य देव पशुपतिनाथ मन्दिरको नजिक ।’

भिमसेनगोलाका शिवराम बस्नेत सिनामङ्गल पुल नपुग्दै शान्तिनगर जाने बाटोमा रहेका सानासाना खाल्डाखुल्डी अनि गाडी तथा मोटरसाइकल गुडेपछि उड्ने धुलोले बेलाबेला नाक बन्द हुने तथा घाँटी दुख्ने गरेको बताउनुहुन्छ । 

‘लकडाउनको बेला बाध्यतावश मास्क लगाउनु पर्थ्याे । अहिले पनि बाटोले गर्दा मास्क छोड्न सकेको छैन’ बस्नेत भन्नुहुन्छ, ‘अब चुनाव आयो बनाउँछन् होला !’ बागबजारका स्थानीयवासी रमेश श्रेष्ठ भन्नुहुन्छ, ‘फोहर यहाँको सधैँको समस्या भएको छ । अन्त फोहर उठ्दा पनि यहाँ भने फोहर उठेको पाइँदैन । त्यसको बारेमा खास थाहा भएन ।’ 

अनामनगरकी रामेश्वरी रिजाललाई भने धोबीखोलाको दुर्गन्धले सताएको छ । ‘पहिले त यहाँको बाटो एकदमै बिग्रेको थियो । अहिले भने राम्रो भएको छ’ रिजाल भन्नुहुन्छ, ‘खानेपानी भने यहाँको एकदमै ठूलो समस्या हो । पानी कहिल्यै आउँदैन । मेलम्ची आएर अन्त पानी आउँदा पनि यहाँ भने पानी आएन।’

धोबीखोलामा वर्षामा आउने बाढीले निकै पिरोल्ने गरेको उहाँको गुनासो छ । भन्नुहुन्छ, ‘बर्खामा हाम्रै घरको तल पनि बाढी पस्ने गरेको छ । खोइ यहाँ निकासको कतै व्यवस्था भएझैँ लागेन ।’

अहिले कमलाक्षी, कमलादी, पुतलीसडक, बागबजार तथा अनामनगरमा फेरि फोहर को थुप्रो देखिन्छ । ‘फोहर पठाउने ठाउँमा बाटो अवरोध भएका कारण थुप्रिएको हो । हामीसँग त फोहर उठाउने गाडी, जनशक्ति सबै तयार छ’ काठमाण्डौ महानगरका सहायक प्रवक्ता महेश काफ्ले भन्नुहुन्छ, ‘फोहर लैजाने ठाउँमा बाटो हिलो, धुलो भयो भनेर स्थानीयले बन्द गरेका हुन् । सडक बनाउने काम सडक विभागको हो । सडक तयार भएर स्थानीयको अवरोध हट्ने बित्तिकै हामी हाम्रो काम थाल्छौँ।’

बाटो बनेन खाल्डाखुल्डी भयो, पानी आएन, फोहर भयो भन्ने स्थानीयको गुनासोमा काठमाण्डौ उपत्यकाको सबै सडक सडक विभाग अन्तर्गत पर्ने भएका कारण त्यसको मर्मतको सबै काम विभागको रहेको पनि काफ्लेको भनाइ छ । भन्नुहुन्छ, ‘महानगरवासीलाई काठमाण्डौ महानगरको बाटो, खानेपानी सबै महानगरले नै हेर्ने हो जस्तो लाग्छ । तर, ती सबैमा फरक-फरक निकायको जिम्मेवारी रहन्छ । हामी आफ्नो मातहतका काममा लागि रहेकै हुन्छौँ।’ 

तिलगङ्गा तथा सिनामङ्गल क्षेत्रमा वाग्मती नदीको ढलले मानिसले नाक थुनेर हिँड्नु पर्ने अवस्था छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितले नदीमा सफा पानी बगाउने भनेर धेरै पटक वाग्मती सफाइ तथा ढल प्रशोधनको काम गरिरहेको भने पनि अवस्थामा खासै सुधार देखिएको छैन । 

नदी किनार वरपरका बासिन्दालाई यो काम काठमाण्डौ महानगरको जस्तो लाग्छ । महानगरसँग यसका बारेमा कुरा गर्दा यो काम विकास समितिको भनेर जवाफ आउँछ । यस्तै सवाल जवाफमा महानगरवासीले भने दुःख पाइरहेका छन् । 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्याल अहिले नदीमा पानीको वहाव कम भएका कारण धेरै दुर्गन्ध फैलिएको जवाफ दिनुहुन्छ । भन्नुहुन्छ, ‘पानीको बहाव कम छ । जोरपाटी पुलमाथि दायाँपट्टि सडक बनाउँदा लेदो माटो गएर ढल पुरिएका कारण ढल सोझै नदीमा आएर यसो भएको हो ।’

उहाँका अनुसार पूरै बाटो नबनेका कारण काम रोकिएको थियो । अब अहिले भने दैनिक १०/१५ जना मान्छे राखेर ढल खोल्ने काम भइरहेको छ । यो काम सकिएपछि जोरपाटी क्षेत्रको समस्या समाधान हुन्छ । दक्षिणढोका तिरबाट आएको खोलाबाट पनि ढल आइरहेको छ । त्यसमा ठेक्कापट्टा गर्दा अहिले ठेक्का लागेको छैन । साथै बिजुली बजारको पुल बनाउँदा पनि त्यहाँ ढल पुरिएकोले यो समस्या आएको हो । त्यो सबै समस्या समाधान भएपछि तिलगङ्गा तलको ढल नदीमा मिसिँदैन । 

‘गोकर्णदेखि माथि ढलको लाइन बिच्छ्याइएको छैन । खोल्साबाट आउने पानी पनि प्रदूषित छन् । नदीमा पानीको बहाव नबढी स्वच्छ हुँदैन । नदीमा भएको पानी सुन्दरीजलमा खानेपानीका लागि प्रयोग भएको छ । यी विविध कारणले नदी गन्हाउने, गन्हाउने पानी बग्ने भएको हो’ काफ्ले भन्नुहुन्छ ।

उहाँले वाग्मती नदीमा स्वच्छ पानी बग्नका लागि अझै पाँच/छ वर्ष लाग्ने बताउनुभयो । ‘अहिले गोकर्णमा ढल प्रशोधन केन्द्र निर्माणका लागि बल्ल जग खन्ने काम हुँदैछ । प्रशोधन केन्द्र निर्माण भएर त्यसले प्रशोधनको काम नगरेसम्म ढल प्रशोधित हुँदैन । त्यस बेलासम्म त कसरी सफा होला र ?’ उहाँ भन्नुहुन्छ । ‍

अन्तिम अपडेट: बैशाख ४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया