प्रचण्डकाे दाबी : अझै पनि संविधान र गणतन्त्र उल्ट्याउन चाहने मानिसहरू छन्

 चैत २९, २०७८ मंगलबार १४:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै पनि समावेशी समानुपातिक संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउन चाहने मानिसहरू रहेको दाबी गर्नुभएको छ । 

आज मङ्गलवार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले नेपालका लागि नागरिकले ल्याएको परिवर्तनको प्रक्रियालाई उनीहरूले अनुभूत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने मत्हत्वका साथ उठाउनुपर्ने बताउनु भयो । 

अध्यक्ष दाहालले भन्नुभयाे, ‘एउटा प्रवृत्ति छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रूचिकर ठान्दैन । त्यो प्रवृत्तिले कुनै न कुनै रूपले याे प्रणालीलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरू गरिरहेकाे छ ।’

अध्यक्ष दाहालले अहिलेको २१ औँ शताब्दीको विश्व डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्मक र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर सहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यक्ता भएको पनि बताउनुभयो ।

अध्यक्ष दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया