घलेगाउँलाई कहिल्यै बिर्सिन्नँ : अध्यक्ष ओली

 बैशाख २, २०७९ शुक्रबार १८:४७:२५ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको छ । लमजुङ क्वहोलासोंथर गाउँपालिका ३ मा रहेको घलेगाउँलाई उहाँले आज शुक्रवार एक कार्यक्रमकाबीच सुखी गाउँ घोषणा गर्नुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले घलेगाउँलाई कहिल्यै नबिर्सिनले बताउनुभयो । ‘जिन्दगीमा पहिलो चोटि घलेगाउँ आउने मौका मिल्यो । घलेगाउँवासीको मिठो माया, सत्कार र आत्मीयता पाएँ । खुसी लाग्यो । लमजुङको घलेगाउँलाई कैल्यै बिर्सन्नँ, भुल्दिनँ,’ उहाँले भन्नुभयो ।

घलेगाउँ आउने इच्छाले नै दौडेर नभइ उडेर आएको उहाँले उल्लेख गर्नुभयो । ‘मलाई लामो समयदेखि घलेगाउँ आउन इच्छा थियो । मन हुँदाहुँदै आउने मौका मिलिरहेको थिएन । यस पटक यहाँका साथीहरूले बोलाउनुभयो । आउने मौका मिल्यो,’ हेलिकप्टरमा घलेगाउँ आउनुभएका ओलीले ठट्यौली पारामा भन्नुभयो, ‘घलेगाउँ आउने मेरो इच्छा त छँदै थियो । झन् आमन्त्रण गरेपछि गुडेर, दौडेर आउन अलिक गाह्रो पर्नेे भएकाले उडेरै आएको ।’

घलेगाउँ ‘सुखी गाउँ’ को रूपमा घोषित भएकोमा उहाँले घलेगाउँवासीलाई  बधाई, शुभकामना र धन्यवाद ज्ञापन गर्नुभएको छ । होमस्टे सञ्चालनको अभ्यास यसै ठाउँबाट भएको र यसकै अनुसरण गर्दै अहिले देशभरका ग्रामीण क्षेत्रहरूमा होमस्टे सञ्चालनमा रहेको समेत उहाँले बताउनुभयो । घलेगाउँको विकास र समृद्धिका लागि आफ्नो सधैँ सहयोग रहने अध्यक्ष ओलीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षणलगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’ को रूपमा घोषणा गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँ लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार २०४० को दशकसम्म घलेगाउँ दुर्गम पिछडिएको र गरिब गाउँको रूपमा चिनिन्थ्यो । ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २०५७ वैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरवास (होमस्टे) सुरुवात गरिएको हो ।

घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ । अहिले यहाँबाट वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दो छ । विगतमा बसाइँसराइ गर्नेहरू गाउँ फर्कन थालेका छन् । 

‘सुखी गाउँ घोषणा’ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संविधान सभा सदस्य जमिन्द्रमान घले, डा. भीष्मनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया