अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन रुसको चेतावनी

 बैशाख ३, २०७९ शनिबार १०:४०:३७ | एजेन्सी
unn.prixa.net

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ ।

दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा रहेकाे दूतावासले उपलब्ध गराएको हो ।  

युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बाहिर आउन थालेपछि रुसले नोट पठाएको हो ।  त्यसको केही घन्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गर्नुभएको थियो । जसमा पहिलो पटक लामो दूरीमा पनि निसाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार थिए । पछिल्लो सैन्य सहायताको प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकप्टरहरू पनि छन् ।

अमेरिकाले उपलब्ध गराउने भनेको सैन्य सहयोगको पहिलो किस्ता केही दिनपछि युक्रेन पुग्नेछ । रुसले अहिले युक्रेनको पूर्वी भेगमा आफ्नो कारबाहीलाई केन्द्रित गरेको छ र केही दिन डोनबास क्षेत्रमा लडाइँ चर्कने ठानिएको छ ।

युद्ध सुरु भएयता अमेरिकाले तीन अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई उपलब्ध गराएको छ । युरोपेली देशहरूले पनि युक्रेनलाई शक्तिशाली किसिमका हतियारहरू उपलब्ध गराउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया