पालिका चुनाव : ६ वटा महानगरमा कहाँ कसको चर्चा ?

 बैशाख ५, २०७९ सोमबार १२:३७:५२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

वैशाख ३० मा हुने पालिका चुनावको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । एमाले र गठबन्धन दलहरुले चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन् । सत्ता गठबन्धनले मिलेरै चुनावमा जाने घोषणा गरिसकेको छ । 

सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ महानगर लगायत ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज महानगर पालिका चुनावका हिसाबले सबैभन्दा आकर्षणका केन्द्र बनेका छन् । देशका प्रमुख महानगरमा प्रदेशका सांसद मन्त्रीदेखि सङ्घीय सांसद तथा मन्त्री भइसकेका नेताहरु पनि आकाङ्क्षी देखिएका छन् । 

काठमाण्डौ महानगरमा उम्मेदवार टुङ्ग्याउन ठूला दललाई सकस

देशको सङ्घीय राजधानी समेत भएकाले काठमाण्डौमा मेयरका आकाङ्क्षीहरु धेरै देखिएका छन् । र्यापर बालेन शाहदेखि मिस नेवाः २०११ सुनिता डङ्गोलसम्मले मेयर पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

शाहले चर्चित टेलिभिजन शोहरुमा दिएको अन्तर्वार्तामा आफू मेयर भएमा के गर्ने भन्ने खाका समेत अगाडि सार्नुभएको छ । डङ्गोलले आफ्नो आठ वटा योजना प्रस्तुत गर्नुभएको छ । 

एमाले र गठबन्धनबीच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको काठमाण्डौमा नेकपा एमालेबाट अहिलेका मेयर विद्यासुन्दर शाक्य तथा पूर्व मेयर केशव स्थापितले आफ्नो दाबेदारी प्रस्तुत गरिरहनु भएको छ भने सत्ता गठबन्धनमा अहिले मेयर कसको भागमा पर्ने र को उम्मेदवार बन्ने भन्ने निश्चित भएको छैन । नेकपा एमालेको महानगर कमिटीले भने काठमाण्डौ महानगरपालिकाको मेयरको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ । 

एमालेले अहिलेका मेयर विद्यासुन्दर शाक्य, वाग्मती प्रदेश सभाका सांसद केशव स्थापित, एमाले महानगर कमिटीका अध्यक्ष निर्मल देउला, पूर्वमन्त्री रामवीर मानन्धर तथा इन्दिरा पन्तको नाम मेयरका लागि सिफारिस गरिएको छ । 

उपमेयरका लागि रत्ना गुरुङ, पेम्बा लामा, निमा काफ्ले र शान्ति अधिकारीको नाम सिफारिस भएको छ । गुरुङ र अधिकारी पहिलो संविधान सभाका सदस्य हुन् । यीमध्ये एक जनालाई उम्मेदवार छनाेट गर्न एमालेलाई सकस छ । गठबन्धनले त भागबन्डा नै गर्न भ्याएको छैन ।

काठमाण्डौको मेयरमा गठबन्धनका कांग्रेस, माओवादी तथा एकीकृत समाजवादीले समेत आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । भरतपुरमा मेयर नछोड्ने भए काठमाण्डौ छोड्नु पर्ने माओवादीको तर्क छ । पोखरा महानगर आफूहरुलाई नछोड्ने भए काठमाण्डौ दिनुपर्ने समाजवादीको भनाइ रहेको छ । 

काठमाण्डौको मेयरमा कांग्रेसका तर्फबाट निलकाजी शाक्य, हालकी उपमेयर हरिप्रभा खड्गी, सिर्जना सिंह, सुसन वैद्यलगायतको दाबी रहेको छ भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले आफ्नो दाबी प्रस्तुत गरिरहनु भएको छ । 

काठमाण्डौमा विवेकशील साझा पार्टीले मेयरमा समीक्षा बास्कोटा तथा उपमेयरमा कीर्ति तुलाधरलाई उठाउने निर्णय गरेको छ । यसअघिको चुनावमा अहिलेका मेयर विद्यासुन्दर शाक्यले एमालेबाट तथा कांग्रेसकी हरिप्रभा खड्गीले काठमाण्डौमा उपमेयरमा विजय हासिल गर्नुभएको थियो ।

ललितपुरमा पुरानै अनुहारको चर्चा

गठबन्धनले निर्णय नगरे पनि यसअघि नेपाली कांग्रेसबाट विजयी मेयर तथा उपमेयर दुवै मेयरमा आकाङ्क्षी देखिएका छन् । तर, कांग्रेसले भने मेयरका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

अहिलेका मेयर चिरीबाबु महर्जन तथा उपमेयर गीता सत्यालसहित महानगर सभापति शुभानन धाख्वा महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम कांग्रेस ललितपुर महानगर कार्यसमितिले सिफारिस गरेको हो । 

नेकपा एमालेले केन्द्रीय सदस्य तथा ललितपुर महानगरका इन्चार्ज हरिकृष्ण ब्यञ्जनकारलाई मेयर पदको उम्मेदवारमा सिफारिस गरेको छ । उपमेयरमा भने आस्था शाक्य र सरस्वती खड्काको नाम सिफारिस गरिएको छ । व्यञ्जनकार यसअघि पनि ललितपुर मेयरमा झिनो मतले पराजित हुनुभएको हो । 

चर्चामा भरतपुर महानगरपालिका 

मेयर पदका लागि लिएर अहिले भरतपुर महानगर निकै चर्चित रहेको छ । हालकी मेयर रेणु दाहाललाई नै गठबन्धनका तर्फबाट उम्मेदवार बनाउने कोसिसमा माओवादी रहेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पनि भरतपुर माओवादीलाई दिन तयार हुनुहुन्छ, तर चितवन कांग्रेसले मानिसकेको छैन । यस अघिको चुनावमा माओवादीकी रेणु दाहालले मेयरमा तथा कांग्रेसकी पार्वती शाह ठकुरीले उपमेयरमा विजय हासिल गर्नुभएको थियो ।

चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिने भएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरुको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय समेत गरेको छ । 

बैठकले चुनावी तालमेलका क्रममा भरतपुर महानगरको मेयर छाड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने औपचारिक निर्णयसहितको ज्ञापनपत्र कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएको छ ।

एमालेले भने भरतपुर महानगरपालिकाको मेयर पदका लागि विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । मेयरका लागि भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी सचिव तथा अहिले वाग्मती प्रदेश सचिव हुनुहुन्छ भने चितवन क्षेत्र नं २ (ख) को वाग्मती प्रदेशसभा सदस्य हुनुका साथै सामाजिक विकास मन्त्री समेत हुनुहुन्थ्यो । 

पोखरामा गठबन्धन अझै अलमलमा, एमालेका आकाङ्क्षी धेरै

पोखरा महानगरपालिकामा गठबन्धनले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । एमालेले भने मेयर र उपमेयर पदका आकाङ्क्षी सबैको नाम सिफारिस गरेको छ । एमाले पोखरा नगर कमिटीले मेयरका आकाङ्क्षी १२ जना र उपमेयरका आकाङ्क्षी ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । 

यसअघि सर्वसम्मतिका लागि तीन दिनसम्म बैठक बसे पनि सर्वसम्मत हुन नसकेपछि मतदानबाट उम्मेदवारको नाम टुङ्ग्याउने निर्णय भएको थियो । तर, अन्तमा महानगर कमिटीले सबैको सहमति भन्दै मतदानलाई छोडेर सङ्कलन भएका सबैको नाम सिफारिस गरेको हो । 

मेयरमा सिफारिस भएका नाममा प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी हुनुहुन्छ भने अन्य नाममा रश्मी आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुङ्गाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, दर्शन लामा, दीपकबहादुर पौडेल, बालासिंह काउछा मगर र पुष्पराज अधिकारी रहेका छन् । 

त्यस्तै उपमेयरमा टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी शोभामोहन पौडेल र वामदेव ढुङ्गानाको नाम सिफारिस भएको छ । यसअघि उपमेयरमा आकाङ्क्षी देखिएका बैनबहादुर अधिकारी क्षेत्री र हरिकला गुरुङ भने मनोनयनमा सहभागी भएनन् । 

गठबन्धन दलभित्र पोखरा कसको भागमा पर्ने भन्नेबारे टुङ्गो लागिनसके पनि पोखरा कांग्रेस भने उम्मेदवारी आफ्नो पक्षमा पार्न लागिपरेको छ । कांग्रेसबाट मेयरका लागि पूर्व सचिव बाबुराम आचार्यदेखि मन्त्री विन्दुकुमार थापासम्मको चर्चा छ । निवर्तमान पार्टी सभापति कृष्ण केसी, यसअघिकी उपमेयरको प्रत्यासी सरस्वती गुरुङदेखि केही समयदेखि मात्र कांग्रेसमा प्रवेश गरेका गणेशबहादुर भट्टराईसम्म मेयरको आकाङ्क्षी देखिएका छन् । 

पोखरामा यसअघि एमालेका मानबहादुर जीसी तथा मञ्जुदेवी गुरुङले मेयर तथा उपमेयरमा विजय हासिल गर्नु भएको हो । 

विराटनगरमा पनि गठबन्धनलाई सकस

सत्ता गठबन्धनबीच विराटनगर कसको भागमा पर्ने निश्चित नभए पनि विराटनगर कांग्रेस चुनावी तालमेलको विपक्षमा देखिएको छ । कांग्रेसको विराटनगर महानगर समितिले अहिलेका मेयर तथा उपमेयरसहित मेयरमा सात जना तथा उपमेयरमा १२ जनाको नाम सिफारिस गरेको छ । 

अहिलेका मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली, उपमेयर इन्दिरा कार्की तथा केन्द्रीय सदस्यहरु अमृत अर्याल, डिला सङ्ग्रौला, जिल्ला उपसभापति नागेश कोइराला र प्रदेश सदस्य गोपाल रेग्मी मेयरको सिफारिस सूचीमा हुनुहुन्छ । 

त्यस्तै उपमेयरमा राजु मास्के, गीता सिलवाल, नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, सूची चौधरी, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला र सीता घिमिरेको नाम सिफारिस भएको छ । सूची चौधरी यसअघि तत्कालीन लोकतान्त्रिक फोरमबाट एमालेसँगको तालमेलमा उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो । 

विराटनरको महानगर समिति र सम्पूर्ण १९ वडाका सभापतिले विराटनगरमा चुनावी तालमेल नगर्ने र केन्द्रले जबरजस्ती गरेमा मान्य नहुने निर्णय समेत गरेका छन् । 

विराटनगरमा गठबन्धन गर्ने विषयमा कोइराला समूहका नेता/कार्यकर्ता विरोधमा उत्रिएपछि सत्ता गठबन्धनका बाँकी चार दल एक भएर निर्वाचनमा होमिने तयारी समेत गरेका छन् । कांग्रेस गठबन्धनको विपक्षमा देखिएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एउटै चिह्नमा चुनाव लड्ने तयारी समेत गरेका हुन् । 

विराटनगर मेयरमा एमालेका तर्फबाट थुप्रै आकाङ्क्षी देखिए पनि महानगर कमिटी बैठकले सर्वसम्मत रुपमा ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकाहरुमा नगरपालिकाका पार्टी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई छन् । 

एमालेबाट मेयरमा पूर्वमन्त्री लालबाबु पण्डित, प्रदेश-१ का पूर्वमन्त्री जीवन घिमिरे तथा यसअघिका मेयरका उम्मेदवार विनोद ढकालले आफूलाई आकाङ्क्षीका रुपमा प्रस्तुत गरे पनि उनीहरुको नाम सिफारिस सूचीमा परेन । उपमेयरमा भने अञ्जु उपाध्याय, विमला घिमिरे र शिल्पा कार्कीको नाम सिफारिस गरिएको छ । 

वीरगञ्जमा जसपाको दाबी, एमालेबाट सरावगी

सङ्घीय समाजवादी फोरमबाट विजय हासिल गरेका अहिलेका मेयर विजय सरावगीलाई एमाले वीरगञ्ज महानगर कमिटीले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार सिफारिस गरेको छ । एमालेले टिकट दिने पक्कापक्की भएपछि उहाँ हालैमात्र एमाले प्रवेश गर्नु भएको हो । उपमेयरमा भने त्यस बेला कांग्रेसकी शान्ति कार्की विजयी हुनु भएको थियो । 

मधेसको केन्द्र मानिएको वीरगञ्ज महानगरपालिकामा गठबन्धनले भने उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । मधेस आन्दोलनका चर्चित नेता राजेशमान सिंहलाई जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारका रुपमा अघि बढाउने तयारी गरे पनि गठबन्धन भने अझै टुङ्गोमा पुग्न सकेको छैन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सिंह भर्खरै जसपा प्रवेश गर्नुभएको हो।

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका कांग्रेस तथा जसपा दुवैको दाबी छ । त्यसबेला मधेस आन्दोलनका कारण मात्र मेयर जितेको तथा अहिलेका मेयर विजय सरावगी पार्टी नै छोडेर एमाले प्रवेश गरिसकेकोले वीरगञ्जमा आफू बलियो रहेको कांग्रेसको तर्क छ । 

कांग्रेसबाट नेता राकेश सिंह, नरेन्द्र साह, विजय सर्राफ, लक्ष्मीनाथ नेपाल, प्रकाश उपाध्याय र कञ्चन झाले आफ्नो दाबेदारी प्रस्तुत गरिरहनु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट भने अधिवक्ता सुरेन्द्र कुर्मी, पुरुषोत्तमलाल झा र ओमप्रकाश सर्राफको नाम चर्चामा छ । माओवादी केन्द्रले भने रहबर अन्सारीलाई मेयर उठाउने तयारी गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया