पालिका चुनाव : कोही उत्साहित, कोही निराश, ‘राम्रो मान्छे’ हेरेर मात्र भोट हाल्ने

 बैशाख ६, २०७९ मंगलबार १२:५१:४१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ महानगरपालिका २८ नम्बर वडाकाे बागबजारका सफिउद्दीन मियाँले नबेहोरेको नेपालको सायदै चुनाव होला । पञ्चायतकादलेखि गणतन्त्रसम्म आइपुग्दा उहाँले थुप्रै राष्ट्रिय पञ्चायत सदस्यदेखि अहिलेका सभासदसम्मलाई मत दिइसक्नु भएको छ । त्यसैगरी थुप्रै मेयरदेखि वडाध्यक्षसम्मलाई पनि उहाँले मत दिइसक्नु भएको छ । यति धेरै नेतालाई मतदान गरिसक्नु भएका सफिउद्दीन आउँदै गरेको पालिका चुनावमा भने राम्रो मान्छेलाई मतदान गर्ने विचार छ । 

‘राम्रो आए राम्रो हुन्छ । उसको पनि नाम रहन्छ । इज्जत रहन्छ । काम कस्तो हुन्छ ? खोला तर्‍याे लौरो बिर्सने गर्‍याे भने के काम ?’ भन्नुहुन्छ, ‘जे भनेको छ त्यो काम गर्नुपर्छ । बोलेर मात्र होइन गरेर देखाउनु पर्छ । अनि मात्र त्यसको इज्जत रहन्छ । मूल्यविनाको केही काम हुँदैन । मूल्य बनाउने भनेकाे आफ्नै हातमा हुन्छ ।’

दोलखाकी सपना घिमिरेको चाहना पनि विकास गर्ने, जनताका लागि सुविधा दिने जनप्रतिनिधिलाई मतदान गर्ने चाहना छ । ‘यहाँ युवाले जनि पढाइ लेखाइ गरे पनि केही काम, रोजगारी छैन । यहीँ केही काम होस् । काम गर्न विदेश जान नपरोस्,’ घिमिरे भन्नुहुन्छ, ‘विकास, रोजगारी र नागरिकको चाहनाअनुसार काम गर्ने जनप्रतिनिधि आउन् ।’

दोलखाका सुरजबहादुर मानन्धर पेसाले कृषिमा आबद्ध हुनुहुन्छ । उहाँको चाहना कृषिमा योगदान दिने जनप्रतिनिधि होस् भन्ने छ । ‘अहिलेसम्म कसैले पनि कृषिलाई महत्त्व दिएका छैनन् । कृषिमा योगदान गर्ने कोही जनप्रतिनिधि देखिएका छैनन्,’ उहाँको गुनासो छ, ‘सबै भाषण र कागजमा मात्र हो । यो पाँच वर्ष कसैले पनि राम्रो काम गरेको देखिएन ।’

उहाँ आफैँले पनि ५५ रोपनी जग्गा भाडामा लिएर कृषि कर्म गरिरहनु भएको छ । कृषि कर्जा तथा अनुदानबारे सरकारले धेरै पटक भने पनि आफू जाँदा कतै नपाएको गुनासो छ मानन्धरको । उहाँ भन्नुहुन्छ, ‘जनप्रतिनिधि भएर कसले के काम गरिरहेको छ, के भइरहेको छ भन्ने हेरेर तथा नेपालबाट निर्यात गर्न सकिने कृषि उपजको उत्पादन गर्ने वातावरण बनाइदिने जनप्रतिनिधि भए राम्रो ।’

बागबजारकी प्रमिला खड्गीले पनि धेरै पटक मतदान गरिसक्नु भयो । तर, आफूले भोट हाले पनि पछि गएर त्यस्ता जनप्रतिनिधिले काम नगरेको उहाँको गुनासो छ । ‘जनप्रतिनिधि भनेर आफ्नो मात्र हेर्ने नभएर टोल र जनतालाई हेर्ने होस्,’ उहाँको चाहना छ, ‘पहिला आफ्नो हेर्ने अनि पछि यो त्यो बहाना बनाएर त्यत्तिकै छोड्ने होइन, टोलमा ढल, पानी, आदिको सुविधा दिने होस् ।’ 

दोलखाका राजु श्रेष्ठ भन्नुहुन्छ, ‘जनप्रतिनिधि भनेकै जनताको प्रतिनिधि हो । त्यसैले जनताको हरेक सुख, दुःखमा साथ रहने जनप्रतिनिधि हुनुपर्छ,’ श्रेष्ठ अगाडि थप्नुहुन्छ, ‘जनप्रतिनिधि भनेको स्थानीय सरकार हो । स्थानीय सरकारको प्रत्याभूति दिने मान्छे नै जनप्रतिनिधि हुनुपर्छ जसले त्यहाँका अवस्थाको बारेमा अर्थात् स्थानीय तहमा कस्तो विकासको आवश्यक्ता छ त्यहीअनुसारकाे बुझ्ने जनप्रतिनिधि आउनु पर्छ ।’

नारायणटारका मंगल तामाङको आक्रोश भने बेग्लै छ । ‘चुनाव आयो, चुनाव आयो भन्या छ । चुनाव आएर के हुन्छ ?,’ तामाङ भन्नुहुन्छ, ‘कांग्रेस, कम्युनिस्ट, माओवादी सबै के के नै गर्छु भनेर आए तर कसैले गरेनन् । अब कुन चाहिँले गर्छन् भनेर अपेक्षा राखेर हामीले जोस जाँगर लिएर चुनावमा अगाडि बढ्ने त ?’

रामेछापकी चन्द्रमाया सुनुवार भने चुनावमा भोट हाल्नका लागि एकदमै उत्साहित हुनुहुन्छ । आफूहरू सपरिवार भोट हाल्न जाने बताउँदै सुनुवार भन्नुहुन्छ, ‘जो जिते पनि हारे पनि हामी भोट हाल्न जाने हो । छोरा नाति सबै दुई/तीन जना भेट हुनासाथ चुनावकै कुरा गर्छन् ।’

हेटौँडाका विक्रम लामा अहिले गाउँमा झण्डा गाडेर प्रचार–प्रसार गरेर चुनावको वातावरण बनिरहेको बताउनुहुन्छ । लामा भन्नुहुन्छ, ‘हामीलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको बाटो, पानी र बिजुली हो । त्यो भयो भने गाउँमै खेती, किसानी गर्न सकिन्छ, मोटर चलाउन सकिन्छ, गाउँमा फलाएको चिजलाई सजिलै सहरमा पठाउन पनि सकिन्छ । मेरो प्राथमिकता भनेको त्यही हो ।’

ओखलढुङ्गाकी मालती सुनुवार भने चुनावमा उत्साहित हो कि होइन भन्नेमा अलमलमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘केही बने, केही भए राम्रो । तर, जति भोट हाले पनि, चुनाव आए पनि देश अहिलेसम्म विकास भएको छैन । अझै धेरै ठाउँ विकट छ । विकासको काम गर्ने मान्छे आओस् भन्ने हाम्रो चाहना हो ।’

हेटौँडाका अमरबहादुर लामा पनि चुनावमा भोट हाल्न यसपालि गाउँ जाने बताउनुहुन्छ । तर, पहिलेको जनप्रतिनिधिले खासै काम नगरेकोले यसपालि उहाँ त्यति उत्साहित भने हुनुहुन्न । लामा भन्नुहुन्छ, ‘गाउँमा खानेपानी, बाटो तथा स्वास्थ्यको अवस्था राम्रो छैन । पहिलेको जनप्रतिनिधिले राम्रो काम गरेनन् । अब आउनेले केही गर्ला कि भन्ने आशा छ ।’

सिन्धुलीकी वृन्दा तामाङ भन्नुहुन्छ, ‘जो आए पनि उस्तै हो । कोही आए पनि केही भएको छैन । अब हेरौँ, यसो हेरेर जसले राम्रो गर्छ उसैलाइै भोट हाल्नुपर्छ ।’

‘ज्याला मजदुरी बढेको होइन । महँगी झन् झन् बढेको छ । हामीलाई खासै केही छैन । जुन–जुन पार्टी, जो–जो नेता आए पनि केही हुने होइन,’ सिन्धुलीका निर्मल बस्नेत भन्नुहुन्छ, ‘उनीहरू आफैले चैन गरेका छन्, हिँड्या छन् त्यही हो । राम्रा मान्छे नै देखिँदैनन्, कसई हाल्ने हो र भोट !’

ललितपुर सुनाकोठीकी चिरिमाया महर्जनले पनि धेरै पटक भोट हाल्नुभयो । तर, उहाँले सोचेको जस्तो काम कसैले गरेन भन्ने गुनासो छ उहाँको । महर्जन भन्नुहुन्छ, ‘धेरै पटक भोट हालियो तर सबै आफैँ बन्ने मात्र काम गरे । टोलको, वडाको काम कसैले गरेनन् । अलि राम्रो मान्छे उठे भने भोट हाल्नुपर्ला ।’

गोदावरी नगरपालिका ठेचोका श्याम महर्जन भने पार्टीकालाई भन्दा पनि मान्छे हेरेर भोट हाल्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसअघि राम्रो काम गर्छन् भनेर विश्वास गरेकाहरूले खासै काम गरेनन् । यस पटक भने सबै साथीसँग सल्लाह गरेर को राम्रो छ कसलाई हाल्ने भनेर मात्र भोट हाल्नु पर्छ ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया