गठबन्धनकाे शक्ति देखेर केपी ओली थरथरी कामेका छन् : पाैडेल

 बैशाख ६, २०७९ मंगलबार १४:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको आराेप लगाउनुभएकाे छ । 

आज मङ्गलवार नेपाल विद्यार्थी सङ्घको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वत्हरूसँग हातेमालो गर्न पुगेका उहाँकाे आराेप छ । उहाँले भन्नुभयो, ‘यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । उनी भ्रष्ट, प्रतिगामी र अवसरवादीहरूसँग मिलेर गठबन्धन गरिरहेका छन् ।’

वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभइ व्यवस्थाका लागि बनेको दाबी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘अहिले पनि लोकतन्त्र सुनिश्चित भएको छैन । त्यसो हुँदा हामी सबैले सजग भएर लोकतन्त्र र परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरूविरुद्ध एक हुनुपर्छ । जनताको भाग्यमाथि खेलबाड गर्ने षड्यन्त्रहरू, राष्ट्रिय एकता, राजनीतिक स्थायित्व, सुशासन, प्रगति र विकासलाई रोक्ने शक्तिहरूविरुद्ध सजग हुनुपर्ने आवश्यकता छ । याे गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो । गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि र नेपालको परिवर्तन बचाउनका लागि, नेपाललाई अग्रगामी बाटोमा रूपान्तरण गर्नका लागि हो ।’

वरिष्ठ नेता पाैडेलले नेविसङ्घलाई पदाधिकारीसहितको कमिटी बनाएर पूर्णता दिनुपर्ने बताउनुभयो । उहाँले कक्षा ८ भन्दा माथिका सबै विद्यार्थीलाई नेविसङ्घको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया