घर, पर्खालको भित्तामा निषेधपछि सामाजिक सञ्जालमा चुनावी प्रचार

 बैशाख ११, २०७९ आइतबार १४:११:३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

पहिले पहिले चुनावका बेला तुल, वाल पेन्टिङ, पोस्टर तथा पम्प्लेटले घरका भित्ता तथा बाटोका पर्खालहरु रङ्गिन्थे । तर, अब समय त्यस्तो रहेन । निर्वाचन आयोगले निर्वाचन खर्च घटाउने तथा गाउँ/सहरको सौन्दर्य तथा वातावरण स्वच्छ राख्न यस्ता निर्वाचन सामग्रीको प्रयोगमा रोक लगाउने लगाएको छ ।

आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच जस्ता सामग्री उत्पादन, प्रयोग वा बिक्री बितरण तत्काल बन्द गर्न पनि आयोगले अनुरोध गरेको छ । 

आयोगको यस आह्वानपछि नेता तथा कार्यकर्ताहरुले प्रचार–प्रसारका लागि सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाएका छन् । टिकटक, फेसबुक, युट्युब तथा सन्देशसहितको गीति भिडियो, वृत्तचित्र तथा छोटो फिल्म लगायत अन्य श्रव्य दृष्य सामग्रीले सामाजिक सञ्जालका भित्ता रङ्गिएका छन् । 

प्रचारप्रसारको पुरानो माध्यम गीतसङ्गीत 

यसअघिका निर्वाचनमा पनि गीतसङ्गीतका माध्यमबाट दलहरुले व्यापक रुपमा प्रचारप्रसार गरेका थिए । मुख्य सहरभन्दा पनि अलि ग्रामीण भेगमा प्रचारको यो शैलीलाई धेरै रुचाइएको देखिन्छ । गीतसङ्गीतमा विशेषगरी पार्टीले गरेका कामहरु, उम्मेदवारले आफ्नो क्षेत्रमा गरेका विकासका गतिविधि तथा सुन्दा आकर्षक लाग्ने नारा तथा झट्ट सुन्दा आकर्षण गरिहाल्ने खालका शब्दका माध्यमबाट प्रचार गर्ने गरिएको छ ।

२०७४ सालको चुनावमा एमालेले प्रचारमा ल्याएको ‘सैँ पनि एमाले, मै पनि एमाले’ निकै चर्चित बनेको थियो । लोकदोहोरी गायक तथा यस गीतका सर्जका बद्री पङ्गेनीले यस पटक ‘मेरो देशै एमाले, म त यसै एमाले’ भन्ने गीत प्रचारका लागि ल्याउनु भएको छ । यस गीतमा पङ्गेनीको अलावा रामजी खाण, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बीसी, सुनिता बुढा लगायतले स्वर रहेको छ । एमालेले पालिका चुनावका लागि टिकटक प्रतियोगिता समेत आयोजना गरेको छ । 

विगतमा गीतसङ्गीतमार्फत प्रचारप्रसारमा कम्युनिस्टहरु अगाडि देखिए पनि कांग्रेसले आफूहरु पनि पछि नरहेको सन्देश दिएको छ । कांग्रेसले यसपटक पुराना गीतका अलावा नयाँ गीत पनि पनि ल्याएको छ प्रचारका लागि । केही समय अगाडि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गायत्री थापाको ‘चार तारे झन्डा’ गीत सार्वजनिक गर्नु भएको थियो । 

साथ दिने, शीतल दिने सबैको प्यारो रुख, कांग्रेस नै हो सबैको बुझ्ने पिर दुःख जस्ता शब्द रहेको छ गीतमा । गीतमा स्वर कृष्ण काफ्ले र रीता केसीको स्वर रहेको छ । अभिनयमा भने विजय पुन, ऋचा थापा, आरुसी मगर, जनार्दन आचार्य आदि कलाकारलाई देख्न सकिन्छ । 

गीतमा वीपीको समाजवादको नारा सार्थक बनाउन जोड दिइएको छ भने प्रजातन्त्रका लागि लामो समय लडेको कांग्रेस पार्टी प्रजातन्त्र तथा समाजवाद तथा अन्य कुरामा पनि अरु दलभन्दा अग्रगामी रहेको सन्देश दिन खोजिएको छ ।

अहिले गठबन्धनका तर्फबाट पुनः भरतपुरको मेयर बनेकी रेणु दाहालले सार्वजनिक गरेको गीत चर्चामा रहेको छ । सार्वजनिक गरिएको गीत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, नारायणी नदी, निर्माणाधीन सिटी हल लगायत ठाउँमा छायाङ्कन गरिएको छ । जसमा दाहालको नेतृत्वमा विभिन्न ठाउँमा भएको विकास निर्माणका गतिविधि समेटिएको छ । रवि अधिकारीको निर्देशनमा रहेको भिडियोमा सन्तोष देउजाको शब्द, विष्णु खत्री र टीका पुनको स्वर रहेको छ ।

भिडियोमा मेयर दाहाललगायत विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी पनि देख्न सकिन्छ । यसका अलावा पहिलेको चुनाव लक्षित गीतहरु तथा अरु नयाँ गीतहरु पनि आउने क्रममा रहेको छ । 

एमाले, कांग्रेस, माओवादी जस्तै राप्रपा तथा अरु पार्टीको चुनावी गीत समेत सामाजिक सञ्जालका विभिन्न माध्यममा देख्न पाइन्छ । 

पार्टीहरुको टिकटक मोह 

सामाजिक सञ्जाल टिकटकको लोकप्रियता देखेर दलहरुले टिकटकलाई पनि प्रचारको माध्यम बनाएका छन् । एमालेले त राम्रो टिकटक बनाउनेलाई पुरस्कार दिने घोषणा गरिसकेको छ । एमालेको साइबर सर्कलले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्यमा आधारित उत्कृष्ट टिकटकलाई चार लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । 

चार लाख रुपैयाँको राशिमा पहिलो हुनेले एक लाख, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । टिकटकमा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टी सिद्धान्तलाई विषयवस्तुका रुपमा समावेश गर्नुपर्नेछ। 

कांग्रेस र माओवादी केन्द्रको पनि चुनावी गीतका साना फुटेजहरु टिकटकमा देखिन थालेको छ । माओवादी केन्द्रले विभिन्न भाषा, वर्ग र समुदाय केन्द्रित प्रचार अभियानलाई तीव्र बनाएको छ।

छोटा फिल्मदेखि डकुमेन्ट्रीसम्म

पछिल्लो समय छोटा फिल्महरु पनि निकै चलेका कारण यसलाई पनि पार्टीहरुले आफ्नो प्रचार माध्यम बनाउने होडबाजी नै गरेका छन् । नेपाली कांग्रेसले पाँच छोटा चलचित्र, केही डकुमेन्ट्री र १० लघुचलचित्र तयार गरिरहेको छ । जसमा पार्टीका नेता तथा विज्ञले बेलाबेला सार्वजनिक सभा तथा बहसमा गरेका उत्कृष्ट संवाद तथा तर्क साथै नेपाली कांग्रेसलाई जिताउनु पर्ने आधारका बारेमा गरिएका संवाद रहनेछन् । 

माओवादीले पनि छोटा फिल्म तथा डकुमेन्ट्रीलाई प्रचारको माध्यम बनाउने तयारी गरिरहेको छ । सामग्री तयार भएपछि यसलाई फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा पार्टीको चुनाव प्रचारका लागि राखिने कांग्रेसले जनाएको छ। 

अन्तिम अपडेट: चैत २३, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया