अहिलेसम्म चुनाव नहारेका ८१ वर्षीय नरसिंह व्यञ्जनकारको भिन्न प्रचार शैली

 बैशाख २५, २०७९ आइतबार १८:९:४८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

पालिका चुनावमा उम्मेदवार बनेका सबैको एउटै चिन्ता र चासो छ चुनाव कसरी जित्ने ! अनि जित्नका लागि साम, दाम, दण्ड, भेद सबैको प्रयोग गर्ने ! उम्मेदवारको जितको सूत्र यही हो कि भनेझैँ देखिन्छ । 

तर, आधा शतक वडाध्यक्ष हुनुभएका ललितपुर वडा नं १० का नरसिंह व्यञ्जनकारको हकमा भने यो बिल्कुल लागू हुँदैन । ११ औँ पटक वडाध्यक्षको उम्मेदवार हुनुभएका व्यञ्जनकारको जितको सूत्र भने सामान्य छ –मतदातासँग राम्रो व्यवहार गर्ने, मिठोसँग बोल्ने बस् । 

व्यजनकार भन्नुहुन्छ, ‘मेरो जितको सूत्र भनेको भोटरसँग मिठो कुरा गर्ने, राम्रो व्यवहार गर्ने, उहाँलाई के चाहिएको हो त्यो सहयोग गर्ने, रात, बिहान नभनी सेवा गर्ने ।’

अहिले उहाँको उमेर ८१ वर्ष । उमेरको प्रभाव शरीरमा केही देखिन्छ । तर, जोश र जाँगर भने बिल्कुल तन्नेरी । बिहानको घरदैलो कार्यक्रमपछि खाना खाएर उहाँ ललितपुर कुपण्डोलको फ्रेन्ड्स क्लब पछाडि आफ्ना मतदातासँगै हुनुहुन्छ । मुहारमा चुनावको कुनै चिन्ता, तनाव छैन । 

कुराकानीका क्रममा दुई तलामाथि रहेको वडा कार्यालय जानका लागि उक्लिएका उहाँका पाइला हेर्दा लाग्थ्यो उहाँ बिल्कुल वृद्ध होइन र उमेर त झन् उहाँले भन्ने गरेको जति पक्का होइन । 

अहिले उहाँको प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसबाट उहाँको भतिज रविन व्यञ्जनकार, राप्रपाबाट वीरबहादुर तामाङ तथा माओवादी केन्द्रबाट रघुनाथ दुलाल हुनुहुन्छ । 

यो उमेरमा अब अरूलाई नछोडेर कति उम्मेदवार बनेको भन्ने प्रश्न उहाँकोमा पनि आउने गरेको छ । त्यसलाई स्पष्ट पार्ने क्रममा व्यञ्जनकार भन्नुहुन्छ, ‘उहाँको उम्मेदवारीको विषयमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकार श्रेष्ठसँग करिब डेढ वर्षदेखि कुराकानी भइरहेको थियो । साथै अहिलेका जिल्ला सभापति जितेन्द्र श्रेष्ठसँग पनि कुराकानी भएको थियो । कुराकानीमा अरू उम्मेदवार नदिने सहमति भएको थियो । तर, अन्तिम समयमा भतिजलाई दिइदियो ।’

‘कुनै योग्य मान्छे नआइ त्यसै छोड्नु भएन । त्यसमाथि मलाई मतदाताले उठ् भनेर उठ्ने तयारी गरिसकेपछि उहाँहरूलाई धोका दिने कुरा त भएन नि । अब त्यसमा भतिजो भनेर भएन नि’, व्यञ्जनकार भन्नुहुन्छ ।  

वडाका मतदाताले कर गरेका कारण मात्र आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ । वडाको जिम्मेवारी कुनै योग्य तथा परिपक्व मान्छेलाई सुम्पने उहाँको चाहना छ । 

त्यसो त उहाँलाई नेपाली कांग्रेसले टिकट दिन नखोजेको होइन । तर, उहाँ भने पार्टीको टिकट लिएर चुनाव नलड्ने । ‘पार्टीको टिकट लिएर लड्दा नेताको चाकडी गर्नुपर्छ’, व्यञ्जनकार भन्नुहुन्छ, ‘मेरो पद भनेको जनताको सेवा गर्ने हो । तर, नेतालाई भनेको मान्ने, चाकडी गर्ने मान्छे चहिन्छ । म चाकडी गर्दिनँ ।’

२०३६ सालमा पञ्चायतमा राजीनामा गरेर कांग्रेसमा आएर सङ्गठन विस्तार गरेको उहाँको भनाइ छ । पञ्चायतको समयमा काम गर्न पैसा नहुँदा दुई जना मान्छेलाई पञ्च बनाएर पठाएर त्यस बेलाका गृहमन्त्री जोगमेहर श्रेष्ठसँग पैसा लिएर आएर काम गरेको ठाउँमा अहिले नेता गलत भएका कारण कांग्रेस पछाडि परेको भन्दै उहाँ चित्त दुखाउनुहुन्छ । 

‘कांग्रेस सबै नराम्रो होइन । यहाँका तीन/चार जना मान्छे नराम्रा छन् । त्यस कारण कांग्रेस पछाडि परेको हो’, व्यञ्जनकार भन्नुहुन्छ, ‘एक जना कांग्रेसीसँग सोध्दा अहिले २९ वडामा पनि ७/८ वटा आउला रे । यो सबै नेताले बिगारको हो ।’ 

‘सङ्गठन बलियो बनाउने, देश बनाउने भन्ने भावना भनेको छँदै छैन । आफू हारोस्, जितोस् म वडाको उम्मेदवार भइसकेको भनेपछि फूर्ति । देश त बिगारे बिगारे दाजुभाइ फुटाए नि’, उहाँ भन्नुहुन्छ ।  

‘जनतासँग नभिजेर चित्त बुझाउन नसक्ने मान्छे के को नेता । त्यस्तो मान्छे त आफैँ हट्नुपर्छ’, नेताको सम्बन्धमा उहाँको आफ्नै बुझाइ छ । यो ५० वर्षमा पनि चुनावमा खासै परिवर्तन नभएको उहाँको भनाइ छ । 

कोणसभा, र्‍याली तथा घरदैलो जस्ता कार्यक्रम अरूले गरे पनि आफू भने नगर्ने उहाँ बताउनुहुन्छ । व्यञ्जनकार भन्नुहुन्छ, ‘जनताको समय किन लिने, कोणसभा गरेर मान्छे जम्मा गरेर किन अल्मल्याउने ? काम गरेपछि भोट दिइहाल्छन् । समय किन खेर फाल्ने ।’

२०७४ सालको चुनावमा उहाँले ६ सय ९१ मत ल्याएर विजयी हुँदा उहाँको निकटतम प्रतिद्वन्द्वी कर्मलाल व्यञ्जनकारले पाँच सय ९४ मत ल्याउनुभएको थियो । त्यस बेला ९७ मतान्तरले विजयी हुनुभएका व्यञ्जनकार यस पटक भने तीन सय मतान्तरले जित्ने दाबी गर्नुहुन्छ । तर, स्वतन्त्र उम्मेदवारको चिह्न मतपत्रमा तल–तल परेका कारण केही असजिलो भएर फरक पर्न सक्ने उहाँको अनुमान छ । 

अब विजयी भएकाे खण्डमा कुपण्डोल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उहाँको योजना छ । तर, त्यसका लागि फोहर वाग्मती सफा गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

‘वाग्मती सफा भयो भने त्यहाँ घुम्ने सफा र ठूलो ठाउँ हुन्छ । ठमेलमा घुम्ने ठाउँ नहुँदा त पर्यटक आउँछन् भने यहाँ सफा भयो भने किन नआउनु ?’, व्यञ्जनकार आफ्नो योजनाको बारेमा विश्वस्त हुनुहुन्छ । 

विजयी भइसकेपछि पनि उहाँको वडा घुमेर सिन्दुरे जात्रा गर्ने केही योजना छैन । जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्दै अर्को दिनदेखि वडा कार्यालयमा आएर काम गर्ने उहाँ बताउनुहुन्छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया