श्रीलङ्कामा प्रदर्शन उग्र बनेपछि देशभर कर्फ्यु, निवर्तमान प्रधानमन्त्री राजपाक्षे सेनाको शरणमा

 बैशाख २७, २०७९ मंगलबार १८:१९:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्कामा प्रदर्शनकारीहरूले महिन्दा राजपाक्षे र उहाँलाई समर्थन गर्ने विभिन्न सांसदका घरमा आगो लगाइदिएका छन् । आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि हिजो साेमवार महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।

प्रधानमन्त्रीको राजीनामापछि प्रदर्शन झनै चर्किएको छ । राजपाक्षे आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए । लगत्तै राजपाक्ष र उहाँको परिवारलाई सुरक्षाका लागि राजधानी कोलम्बोबाट झन्डै दुई सय ७० किलोमिटर टाढा रहेको नौसेनाको क्याम्पमा लगिएको छ । नौसेना क्याम्पबाहिर पनि विरोध प्रदर्शन भइरहेको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ ।

श्रीलङ्कामा चर्किएको प्रदर्शनमा हिजोदेखि मात्रै सात जनाको ज्यान गएको र एक सय ९० जना घाइते भएका बीबीसीले जनाएको छ । प्रदर्शन उग्र बनेपछि देशभरि कर्फ्यु आदेश जारी भएको छ । प्रदर्शनकारीहरूले प्रधानान्त्रीका दाजु तथा राष्ट्रपति गोटाबय राजपाक्षेको पनि राजीनामा मागिरहेका छन् ।

श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ । महँगी बढ्दा जीवनयापन गर्न लाग्ने खर्च धान्नै नसकिने भएपछि प्रदर्शन चर्किएको हो ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया