आफूमाथि लगाएका आराेप पुष्टि गर्न एन्फा अध्यक्षलाई थापाकाे चुनाैती

 बैशाख २८, २०७९ बुधबार २०:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिनुभएकाे छ । 

ललितपुरकाे एक होटलमा आज बुधवार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये एन्फा अध्यक्ष शेर्पाले मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिनुभएकाे हाे । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस् भन्ने रहेको र आउँदै गरेको एन्फाको चुनावसँग सम्बन्ध नरहेको समेत बताउनुभयाे । 

पत्रकार सम्मेलनमा थापाले आफूविरुद्ध शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा दिनुभएकाे अन्तर्वार्ताकाे भिडियो प्रस्तुत गर्नुभएकाे थियाे । थापाले भन्नुभयो, ‘वर्तमान अध्यक्षले ममाथि लगाएका आरोप आरोप मात्र हुन् । ममाथि लगाएका आराेप पुष्टि गर्न चुनौती दिन्छु । यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै चर्चा गर्दिनँ ।’

पूर्वअध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताउनुभयाे । लामो समय फुटबलमा बिताएको र व्यवस्थापनमा पनि आफूले राम्रो काम गरेको भन्दै थापाले वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको सुनाउनुभयाे ।

कार्यक्रममा उहाँले एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार्नुभयाे । जसका कारण आफूले फिफाको प्रतिबन्ध भोगेको उहाँले बताउनुभयाे । थापाका छोरा गौरव थापाको खातामा एक लाख डलर जम्मा भएको देखिएपछि फिफाले उहाँमाथि अनुसन्धान थालेको थियो । पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उहाँमाथि झन्डै २१ लाख रुपैयाँ जरिबाना गरेको थियो । फिफाले सन् २०११ मा भएको फिफाको चुनाव र सन् २००९ मा एएफसी कंग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया