लुम्बिनीमा प्रधानमन्त्री देउवा र मोदीको संयुक्त प्रार्थना, नवनिर्मित हलमा हुने सभालाई सँगै सम्बोधन गर्ने

 बैशाख २९, २०७९ बिहिबार १४:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको दिन लुम्बिनी भ्रमणमा आउनुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर देउवाको निमन्त्रणमा मोदी जेठ २ गते सोमवार लुम्बिनी आउने र दुवै देशका प्रधानमन्त्रीले मायादेवी मन्दिर संयुक्त रूपमा प्राथना गर्ने जनाएको छ ।

यस्तै बौद्ध संस्कृति र सम्पदा केन्द्रको पनि संयुक्त शिलान्यासको कार्यक्रम रहेको छ । त्यसपछि देउवा र मोदीले लुम्बिनीमा भर्खरै निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रमा हुने विशेष समारोहलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल पनि हुनेछ । मोदीको सम्मानमा प्रधानमन्त्री देउवाले दिवा भोजको आयोजना गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पनि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने तालिका छ । मोदीको भ्रमणले नेपाल–भारत सम्बन्ध थप बलियाे हुने र दुई देशबीचको सामाजिक सांस्कृतिक नाता अझै प्रगाढ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो पाँचौँ भ्रमण हुनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया