श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

 बैशाख २९, २०७९ बिहिबार १६:१४:२१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । 

गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर दमन गरेको आरोपमा विपक्षीले उहाँलाई पक्राउ गर्न निवेदन दिएका छन् । शान्त प्रदर्शनका क्रममा राजपाक्षे समर्थकले आक्रमण गरेका खबरमा उल्लेख छ । अदालतले यस्तो अवस्थामा राजपाक्षे र उहाँका सहयोगीले देश छाड्न नपाउने आदेश दिएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । 

श्रीलङ्काका वकिलहरूको एक समूहले पनि राजपाक्षेलाई पक्राउ गर्न माग गरेर प्रहरी मुख्यालयमा उजुरी दिएका छन् । देशमा बढ्दो आर्थिक सङ्कट र प्रदर्शनका कारण महिन्दा राजपाक्षेले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको छ । तर विरोधीले उहाँको घरमा आक्रमण गर्दै आगजनी गरेपछि उहाँ सेनाको हेलिकप्टरमार्फत भागेर सैन्य शिविरमा बस्नुभएको छ । 

श्रीलङ्का सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै गम्भीर आर्थिक सङ्कटमा फसेको छ । विशेषगरी विदेशी विनिमयको सञ्चिति नहुँदा अत्यावश्यक वस्तुको पनि आयात रोकिएको छ । नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया