काठमाण्डौ महानगरमा बालेनकाे अग्रता कायमै, अन्य पाँच महानगरमा सत्ता गठबन्धन अगाडि

 जेठ १, २०७९ आइतबार ११:५९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउनुभएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजार भन्दा धेरै मतले अग्रता बनाउनु भएको छ । साहले दुई हजार दुई सय ३८ मत ल्याउनु भएको छ भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सृजना सिंहले एक हजार ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । डंगोलले एक हजार सात सय ४३ मत ल्याउनु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको ५ सय १६ मत छ ।

ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार महर्जनले ८ सय २३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ८१ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेका उपमेयर उम्मेदवार मञ्जली शाक्य ४ सय २० मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले एक सय ६७ मत ल्याउनु भएको छ ।

यसैबीच, ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो वडामा स्वतन्त्र उठेका निर्मल तण्डुकार ६ सय ६१ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी धु्रबलाल तण्डुकारले ३ सय ८१ मत प्राप्त गर्नुभयो ।

पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गर्नु भएको छ । राप्रपाका शंकर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गर्नु भएको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मत परिणाम अनुसार उहाँले एक हजार दुई सय ८ मत पाउनु भएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ८७ मत ल्याउनुभएको छ ।

विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । कोइरालाले दुई हजार ५ सय ८३ मत प्राप्त गर्नु भएको छ भने एमालेका सागरकुमार थापाले एक हजार ९ सय ९० मत ल्याउनुभएको छ ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले एक हजार ५ सय ७ र एमालेका उम्मेदवार विजयकुमार सरावगीले ६ सय ६८ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया