विना संयोग अनेक संशयबीच मोदीको लुम्बिनी भ्रमण

 जेठ २, २०७९ सोमबार ११:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

पालिका चुनावको नतिजामा नेपालीको ध्यान केन्द्रित भइरहेको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमवार चौथो पटक नेपाल आउँदै हुनुहुन्छ । बुद्ध जयन्तीको अवसर पारेर उहाँ केही घण्टाको लागि लुम्बिनी आउन लाग्नुभएको हो । दुई देशबीचको सम्बन्ध सुमधर हुन नसकेको बेला मोदीको यो भ्रमणले धार्मिक र कुटनीतिक महत्त्व राख्ने धेरैको बुझाइ छ । तर भैरहवामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन लुम्बिनी आउँदा मोदी भारतीय वायुसेनाको हवाईजहाजमा पठाएका गाडि चढ्न हेलिकप्टर चढेर आउँदै हुनुहुन्छ ।

भारतीय विशेष विमानबाट सिधै भैरहवा आउने सुविधा हुँदासमेत भैरहवा विमानस्थलबाट १८ किलोमिटर टाढाको हेलिप्याडमा उत्रिने रहर मोदीलाई किन लागेको होला भन्ने स्वाभाविक जिज्ञासा धेरैका मनमा छ । यो जिज्ञासा किन पनि छ भने, भैरहवा विमानस्थलमा आउने अन्तर्राष्ट्रिय जहाजलाई भारतले आफ्नो आकाशको बाटो दिएको छैन । नेपालको संविधान सभाले संविधान बनाउँदा भारतीय संस्थापनले नेपालप्रति जस्तो कठोर प्रतिकृया देखाएको थियो, सात दशकपछि नेपालमा बनेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका दिन भारतीय प्रधानमन्त्रीले त्यही भावको उपेक्षा नेपालप्रति देखाउनु भएको छ । 

भैरहवा विमानस्थल सञ्चालनको दिन नेपालले भारतबाट औपचारिक रुपमा हवाई रुट पाउनु पर्ने थियो । र, त्यो विमानस्थलमा उत्रेर मोदीले त्यति घोषणा गरिदिएको भए, उहाँको ठूलै जयजयकार हुने थियो । तर, औपचारिक उडानको उद्घाटनका दिन भारतीय प्रधानमन्त्री त्यो विमानस्थललाई छलेर १८ किलोमिटर टाढा हेलिकप्टरबाट उत्रिँदै हुनुहुन्छ । मोदीको यो कदमले नेपालको विकासप्रति भारतको उच्चस्तरको उपेक्षा मात्रै प्रकट गरेको छ । 

त्यसो त, विश्वको ठूलो प्रजातन्त्र र उदाउँदो शक्ति राष्ट्रका प्रमुख नेपालको एउटा क्षेत्रमा तीर्थाटनमा आउनु नेपालका लागि राम्रै अवसर हो । तर के नेपालले पनि त्यो भ्रमणको महत्त्वलाई त्यति नै फाइदा उठाउने गरी उपयोग गर्न सक्ला ? विदेश नीतिबारे चासो राख्ने नेपाली वृत्तमा अहिले यो प्रश्नले डेरा जमाएको छ ।

यसअघि ४ पटक नेपालको भ्रमण गरिसक्नुभएका भारतीय प्रधानमन्त्रीको चारवटै भ्रमण कुनै न कुनै रुप तीर्थ र धर्मसितै जोडिएको छ । प्रधानमन्त्री भएको दुई महिनापछि नै सन् २०१४ को अगस्टमा पहिलो पटक नेपाल भ्रमण गर्दा मोदीले पशुपतिनाथको दर्शन गर्नुभयो । संसदमा नेपाली भाषामा समेत सम्बोधन गरेर र सडकमा निस्केर हात हल्लाएर नेपाली राजनीतिका गन्यमान्य मानिसहरुदेखि आम जनमानससम्म मन जित्नुभयो । 

तर, नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण भ्रमणको एक वर्ष बित्न नपाउँदै नेपालीका मन पूरै मोदी विरोधी बन्न पुग्यो । भारतले त्यो नाकाबन्दीलाई कहिले पनि आफूले गरेको भनेन् तर नेपालीहरु कसैले पनि उसको यो कुरा पत्याएनन् । 

लामो समयपछि राजनीतिक तहमा एउटा उच्च स्थान समाउँदै गरेको नेपाल भारत सम्बन्ध फेरि शङ्का र अविश्वासकै घेरामा घुम्न थाल्यो । तर ओली नेतृत्वको बहुमतको सरकार बनेको २ महिना नबित्दै सन् २०१८ को मे महिनाको ११ तारिखका दिन नेपाल भ्रमणमा आएका मोदीले भारतप्रतिको रोषलाई केही कम गर्ने प्रयत्न गर्नुभयो । 

संस्कृति, धर्म र सम्पदाले उस्तै र भूगोलले अलग दुई देशबीचको सम्बन्धमा जति ठूलो चिरा परे पनि जोड्नका लागि संस्कृति, धर्म र सम्पदा नै बढी प्रभावकारी हुने गरेको छ । मोदीको जनकपुर भ्रमण र मुक्तिनाथ दर्शनले चिसिएको दुई देशको सम्बन्धमा केही न्यानोपन थपेको पनि हो ।

नेपाल र भारतको सम्बन्ध सधै उतारचढावमा चलिरहन्छ । तर, पनि यसलाई दुई देशका उच्चस्तरीय भ्रमणहरुले धेरै मत्थर पार्ने गरेका छन् । मोदीको यो पटकको लुम्बिनी भ्रमण पनि भैरहवा विमानस्थलबाट भइदिएको भए भारत र नेपालको सम्बन्ध न्यानोपनको अर्को चरणमा पस्ने थियो । तर, यो पालिको भ्रमणमा भैरहवा विमानस्थलप्रति देखाएको वितृष्णाले दुई देशको सम्बन्ध झन् चिसो हुने सङ्केत गरेको छ ।

नेपाल र भारतबीचको सम्बन्धमा बेलाबखत आउने चिसोपना राजनीतिक नेताहरुका कारण भन्दा भारत सरकारका कुटनीतिज्ञ र विशेषगरी प्रशासनिक पदमा आसिन केही व्यक्तिहरुको लहडमा हुने सानातिना कुराहरुले प्रभाव पार्ने गरेको छ । तर यो पालि उच्चस्तरको राजनीतिक भ्रमणमा त्यो पनि बुद्ध जन्मेका दिन भारतले व्यक्त गरेको छ । नेपालले आफ्नो विमानस्थल निर्माण गर्दा भारत यतिविधि चिढिनु के त्यो महान देश र त्यो देशका बासिन्दालाई सुहाउने विषय हो? 

भारतले नेपाललाई नहेरेको पनि हैन । भूकम्पका बेला होस् वा कोभिडका बेला, नेपालले भारतबाट भरपर्दो र प्रभावकारी सहयोग पाएको छ । नेपालमा स्वास्थ्य, शिक्षा, जलस्रोत, सुरक्षा लगायत थुप्रै क्षेत्रहरुमा भारतको ठूलो सहयोग छ । 

खाद्यान्न वा दैनिक आवश्यकतापूर्तिका सयौँ सामानहरुमा हामी भारतप्रति आश्रित छौँ । हाम्रो उत्पादन घट्दै गएको छ र नेपाल आयातमुखी भइरहेको छ । भारतले आफ्नो देशबाट निर्यात गर्ने कतिपय सामग्री वा खाद्यान्न उसले अन्य देशलाई निर्यात गर्नबाट रोकेर समेत नेपाललाई सहयोग गरेको छ । भारतको यो उदारता र सद्भावलाई नेपाल सरकारले मात्रै हैन नेपाली नागरिक पनि सकारात्मक मान्छन् । 

तर, नियतवश जानेर होस् या अञ्जानमा, बेला बेला भारतका व्यवहारहरु हेपाहा प्रवृत्तिका जस्ता देखिन्छन् । नेपालको लिम्पियाधुरा, लिपुलेक क्षेत्रमा बाटो बनाउनु र नेपालले त्यसबारे ध्यानाकर्षण गराउन खोज्दा कुरा बुझ्न वा वार्ता गर्नतिर भन्दा पनि आफू नै सही छु भन्ने कुरा विश्व समुदायलाई बुझाउन खोज्नु, नेपालले आफ्नो संविधान जारी गर्दा भारतले रोक्न खोज्नु, र आफ्नो अहङ्कार पूरा नहुँदा नाकाबन्दी गरिदिनु, नेपालमा जन्मेका बुद्धलाई बेलाबेला भारतमा जन्मेका हुन् भनेर अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्नु जस्ता भारतका कृयाकलापले नेपालप्रति उसको क्षुद्रता पनि देखाउँछन् । भारतको यही क्षुद्रता र कमिलाको चित्तवृत्तिले नेपालमा उसको छवि सँधै एकनासले उज्यालो हुन पाएको छैन । 

धेरै नेपालीलाई लागेको छ, भारत सरकार आफैँ वा प्रधानमन्त्री मोदी आफैँ नेपाललाई चिढ्याउन र होच्याउनकै लागि बुद्ध पूर्णिमाको दिन छान्नु भएको हैन । यदि त्यस्तै हो भने पनि भारतीय जनता पार्टीका नेताहरु नेपाली राजनीतिक दलका कार्यक्रमहरुमा सहजै अतिथि बनेर आउने वा नेपाली उच्च स्तरका नेताहरुले भारतीय जनता पार्टी वा भारतीय कांग्रेस पार्टीहरुसँग भाइचाराको सम्बन्ध राखिरहने पक्कै थिएनन् । आफ्नो पहिलो भ्रमणका बेला नेपालको संसद्लाई सम्बोधन गर्दै पानी र जवानी एकै ठाउँमा बस्दैन, माथिबाट तलतिर बग्छ भनेर नेपालको जलसम्पदा उपयोग गर्नमा ठूलो सहयोग गर्ने र नेपालको आर्थिकस्तर उकास्न समेत अघि सर्ने आशयको भाषण गर्ने मोदीले वानेश्वरमा गुडिरहेको आफ्नो कार्गिडबाट ओर्लिएर फुटपाथमा उभिइरहेका नेपाली नागरिकसँग हात मिलाउनेदेखि आफूले नेपाली केटोलाई नै धर्मपुत्र बनाएको कुरासम्म खुलस्त भन्न हिच्किचाउनुभएन । नेपालप्रतिको यो उदारमना स्वभाव भएको देशको सरकार प्रमुखले यी सानातिना विषयहरुमा सम्बोधन गर्न ढिलो नगर्दा दुई देशबीचको सम्बन्धले अझ उचाइ लिने क्रम ढिलो भइरहेको छ । “जनकपुर भ्रमणका बेला नेपालबिना हाम्रा धाम पनि अपूरा छन् र हाम्रा राम पनि अपूरा छन्” भन्ने अभिव्यक्ति दिने नरेन्द्र मोदी यो पटक हेलिकप्टर चढेर नेपाल आउनु एउटा संयोग मात्र हाेइन भने पनि अचम्मलाग्दो संशय लाग्ने विषय चाहि पक्कै हो ।

अन्तिम अपडेट: असार १७, २०७९

तपाईको प्रतिक्रिया