‘मेरो श्रीमान् मलेसियाको कुनै कुनामा छन् भन्ने सुन्न मात्र पाए पनि हुन्थ्यो’

 जेठ ४, २०७९ बुधबार १२:५१:४२ | सन्जिता देवकोटा
unn.prixa.net

दाङ – २०७४ माघ ५ गते मलेसियाबाट शोभाराम पराजुलीले श्रीमती लक्ष्मीलाई २५ हजार रुपैयाँ पैसा पठाइदिनुभयो । पैसा हातमा परेपछि खबर गर्न फोन लगाउनुभयो । घण्टी गयो तर उठेन । 

एक दुई पटकसम्म फोन नउठ्दा लक्ष्मीलाई लाग्यो श्रीमान् काममा व्यस्त होलान् । तर यो क्रम निरन्तर सात दिनसम्म चल्यो । यताबाट लक्ष्मीले फोन गरिरहनुभयो । घण्टी पनि गयो । तर फोन उठेन । तर सात दिनपछि भने शोभारामको फोन अफ भयो ।

मलेसियामा सम्पर्कविहीन हुनुभएका शोभाराम पराजुली

‘पैसा पठाएको छु, पैसा निकाल्नु भनेर उतैबाट बिहानै फोन गर्नुभयो, गएर पैसा निकालेँ, घर आउनसाथ फोन लगाएको घण्टी जान्छ तर उठ्दैन, एक हप्तासम्म पनि फोन लागिरह्यो तर उठेन’ लक्ष्मी भन्नुहुन्छ ।

त्यस दिनदेखि न शोभारामको त्यो नम्बरमा फोन लाग्यो न त कुनै नयाँ नम्बरबाट फोन नै आयो । छोराको डाक्टर पढ्ने सपना पूरा गर्न मलेसिया जानुभएका शोभाराम एकाएक हराउनुभयो । श्रीमती लक्ष्मी र छोरा विजयका सपना बिपना पनि शोभारामसँगै हराए । 

छोरो पढाउन परदेश

शोभाराम पराजुली कृषि विकास बैङ्कमा जागिरे हुनुहुन्थ्यो । बैङ्कको जागिर । तीन जनाको परिवार । घर व्यवहार सहज थियो । तर द्धन्दकालमा शोभारामले जागिरबाट हात धुनुपर्‍याे । खेतीपातीबाटै घर व्यवहार चलाउन थाल्नुभयो । खेतीपातीबाटै पनि खान लगाउन पुग्थ्यो ।

तर छोरो पढ्दै जाँदा शोभारामले विदेश जाने रहर गर्नुभयो । लक्ष्मी भन्नुहुन्छ ‘मैले त नजानु सुखदुख यतै गरौँला, खान पुगिहाल्छ भनेको पनि तर बाबु पढाउनुपर्छ भनेर जानुभयो, बाबुलाई राम्रोसँग पढाउने उहाँको सपना थियो ।’

छोरा विजयको डाक्टर पढ्ने सपना थियो । छोराको यही सपना पूरा गर्ने उद्देश्य बोकेर शोभाराम २०७२ साल वैशाखमा मलेसिया जानुभयो । 

काम त सजिलै छ भनेर सुनाउनुहुन्थ्यो घरमा । तर त्यही काम गर्नेले अन्य कम्पनीमा १८ सय रिंगिट कमाउने तर आफ्नो भने तलब थोर भयो भनेर परिवारसँग गुनासो चाहिँ गर्नहुन्थ्यो । कति पटक त कम्पनी छाडेर काम गर्ने आफ्नो सोच पनि सुनाउनुभएको थियो । 

‘यो कम्पनीमा तलब नै राम्रो छैन, म त भागेर काम गरौँ कि क्या हो भन्नुहुन्थ्यो’ लक्ष्मी भन्नुहुन्छ ‘बरु घर आउनुस् भागेर काम नगर्नु है भनेको हो मैले त, हामीलाई नपुग्दो केही छैन, एउटा छोरो जसरी नि पढाउला भन्दा बोल्नुभएको थिएन ।’

मलेसिया पुगेका दिनदेखि परिवारसँग कुनै दिन मनमुटाब भएन । फोनमा दैनिक कुरा हुन्थ्यो । तलब आउनासाथ घरमा पैसा पनि नियमित पठाउनुहुन्थ्यो शोभारामले । तर २०७४ माघ ५ गतेदेखि भने लक्ष्मीको सुन्दर संसारलाई एकाएक कालो बादलले ढाक्यो । 

फोन नउठ्दाको छटपटी

फोनमा बोलिरहँदा, सन्चो बिसन्चोको खबर पाइरहँदा त परदेशमा रहेका आफ्ना मानिससँग टाढा हुनुको पीडाले मन पोल्छ । झन् वर्षौवर्षसम्म पनि परदेशी भूमिमा आफ्ना मानिस बेखबर हुँदाको भोगाइ त बेहिसाब हुन्छ । जुन लक्ष्मीले पाँच वर्षदेखि भोगिरहनुभएको छ ।

घरमा पैसा हालेदेखि सम्पर्कमा नआएका शोभारामको फोन लाग्दासम्म त लक्ष्मीले फोनमा श्रीमान् कै नम्बर मात्र डायल गर्नुभयो । 

तर जब फोन बन्द भयो तब लक्ष्मीको आशाको ढोका पनि बन्द भए झैँ भयो । मनमा छटपटी बढ्यो ।

‘मनमा त आगो दनदनी बल्न थाल्यो, फोन नै लाग्न छाडेपछि त मनले हरेस खान थाल्यो’ त्यो दिन सम्झँदै लक्ष्मी भन्नुहुन्छ ‘प्रहरीले पक्राउ पो गर्‍यो कि, कतै जानु पो भयो कि, ज्यान नै केही भयो कि, के चाहिँ भयो होला भन्ने लाग्ने, छटपटी मात्र हुने भयो ।’ 

कम्पनीमा सँगै काम गर्ने साथीभाइलाई फोन लगाउनुभयो छोरा विजयले । तर साथीभाइले पैसा हाल्न जानुभएका शोभाराम फर्किएर कम्पनीमा नआएको बताए । 

‘बाबाको पासपोर्ट, सामान सबै छ रे कम्पनीमा, त्यो दिन घरमा पैसा हालेपछि फर्किएर फेरि रुममा पुग्नुभएन छ ’ मलेसियामा शोभारामसँगै काम गर्ने साथीले दिएको जानकारी सुनाउनुहुन्छ छोरा विजय । 

हराएका शोभारामको खोजीका लागि त्यहाँ रहेका साथीभाइ र चिनजानका आफन्तसँग गुहार मागे । छोरा विजयका अनुसार मलेसियाको स्थानीय पत्रिकामा पैसा खर्च गरेरै शोभाराम हराएको सूचना प्रकाशित पनि गरे । 

शोभारामको खोजीका लागि नेपालबाट पनि प्रयास नगरेको  । विजय हजुरआमाको साथमा काठमाण्डौ आउनुभयो । काठमाण्डौमा वैदेशिक रोजगार बोर्ड र विभागमा आफ्नो बुवाको खोजीका लागि अनुरोध गर्नुभयो । त्यसपछि कन्सुलर सेवा विभागमा पनि आफूसँग भएको जति जानकारी राखेर बुवाको खोजीका लागि निवेदन दिनुभयो ।

‘ठुलो सहरमा हामीजस्तो सानो मान्छेको कुरा सुन्ने मानिसहरू नै काम हुने रहेछन्, जता पनि निवेदन दिनु भन्नुभयो, निवेदन त दिएको हो नि खै त्यसपछि हामीलाई केही खबर आएन, कम्तीमा तिम्रो बुवा भेटिएनन् त भन्नु पर्ने हो नि हैन र ?’ विजय गुनासो गर्नुहुन्छ ।

हरेक दिन उहाँ नै आउनुभयो कि भनेर झस्कन्छु

पाँच वर्ष भयो आज पनि लक्ष्मीको आँखा शोभारामको पर्खाइमा ओभाएका छैनन् । कुनै नचिनेका नम्बरबाट फोन आउँदा होस् या घरमाथि कुनै अटो रोकिँदा । लक्ष्मीलाई आफ्नै श्रीमान् आए झैँ लाग्छ । मोबाइल दिनरात साथमा राख्नुहुन्छ । कुनै नयाँ नम्बर देख्नासाथ फोन उठाउनुहुन्छ । मिस कल आउँदा पनि फर्काउनुहुन्छ ।

‘जुन नम्बर नयाँ देखे पनि उहाँले नै फोन गर्नुभयो कि झैँ लाग्छ, मिस कल देख्दा नि फर्काउँछौँ, कतै फोन आउला कि भनेर मोबाइल बोकेरै हिँड्छु’ बलिन धारा आँसु बगाउँदै लक्ष्मी भन्नुहुन्छ ‘घरमाथि कुनै अटो रोकियो भने त्यसमा आउनुभयो, आज त आउनुभयो कि जस्तो लाग्छ, हरेक दिन म हेरिरहन्छु ।’

कृषि विकास बैङ्कमा जागिर खाँदा शोभाराम हरेक बिदामा घर आइपुग्नुहुन्थ्यो । जुन ठाउँमा पोस्टिङ हुँदा पनि वर्षमा एक दुई महिना त लक्ष्मी त्यही ठाउँमा गएर बस्नुहुन्थ्यो । दसैँका बेलामा सोह्र श्राद्ध लाग्नासाथ शोभाराम घरमा आउनुहुन्थ्यो । दसैँ सकिएपछि मात्रै काममा फर्कनुहुन्थ्यो । त्यही झल्कोले अहिले सोह्र श्राद्ध लागेपछि निदाउन दिँदैन लक्ष्मीलाई । दसैँ सम्झँदा तिनै पुराना यादले पोल्छ ।

सपनामा पनि यताउता हिँडेकै देख्नुहुन्छ । सपनामा यताउता हिँडेको देख्दा लक्ष्मीलाई परदेशी भूमिमा श्रीमान् छटपटाइरहेका छन् कि झैँ लाग्छ ।

शोभारामले राजापुरको जग्गा बेचेर घर बनाउने र बाँकी पैसा बैङ्कमा राखेर छोरालाई डाक्टर पढ्ने पैसा पुर्‍याउने योजना सुनाउनुभएको थियो । तर शोभाराम नै हराएपछि उहाँकै नाममा रहेको जग्गा बेच्ने र घर बनाउने योजना पनि हराएको छ । माटोको पुरानो घर भत्कन लागिसक्यो । जसोतसो टालटुल गरेर बासको जोहो गरिरहनुभएको छ लक्ष्मीले ।

छोरा विजय पनि बुवा हराएपछि डाक्टर बन्ने सपना माया मारेर गाउँकै एउटा स्कुलमा पढाउन थाल्नुभएको छ  । बिहान बेलुका आफू पढ्ने र बाँकी समय स्कुलमा पढाउनुहुन्छ । डाक्टर नै पढ्न नपाए पनि साइन्स पढ्दै हुनुहुन्छ विजय ।

छोराले पनि अलिअलि कमाउँदा अनि खेतीपाती गर्दा खानलाई दुःख छैन घरमा । तर मनको शान्ति छैन । लक्ष्मी भन्नुहुन्छ ‘मनको एकदमै दुःख भयो, कुन दिनमा दशा लागेर विदेश पठाएछु ।’

घरमा अहिले लक्ष्मी र छोरा विजय मात्र छन् । छोरा कतै हिँड्दा लक्ष्मीलाई घरै शून्य हुन्छ । घरमा बस्न मन लाग्दैन । छोरो आँखाबाट एक पल टाढा हुँदा श्रीमानको सम्झनाले झन् गलाउँछ ।

यहाँ छु भनिदिए जसरी पनि घर ल्याउने थियौँ

श्रीमान् मलेसियाको कुनै ठाउँमा छन् भन्ने खबर मात्रै सुन्न पनि आतुर हुनुहुन्छ । श्रीमान् जस्तो अवस्थामा भए पनि छन् भन्ने जानकारी भए जसरी पनि उद्धार गर्ने बताउनुहुन्छ लक्ष्मी ।

आजकाल लक्ष्मीलाई डर लाग्छ । श्रीमान् नभेटिँदै आफूलाई केही भइहाल्यो भने छोराको के होला भन्ने पिरले सताउँछ । 

‘म मरेँ भने छोराको के होलाजस्तो मात्र लाग्छ, यहाँ हुनुहुन्छ, यस्तो काम गर्दै हुनुहुन्छ भन्ने मात्र सुन्न पाए पनि मलाई पुग्थ्यो’ लक्ष्मी भन्नुहुन्छ ‘यहाँ छन् भन्ने जानकारी पाउन पाए जति खर्च लागे पनि उहाँलाई हामी यहीबाट पैसा पठाएर ल्याउने थियौँ ।’

विजय र लक्ष्मी घरीघरी शोभारामलाई खोज्न मलेसिया नै जान पाए नि हुने भनेर कुरा गर्छन् ।  तर अनजान सहरमा खोज्न सजिलो छैन भन्ठानेर मन मार्छन् ।

‘यो मन त पानीमा डुबाए पनि शान्त हुँदैन’ मलिन स्वरमा लक्ष्मी भन्नुहुन्छ ‘मैलेजस्तो जीवन त कसैले बाँच्न नपरोस् ।’

मलेसियामा कसैले आफ्नो श्रीमानलाई देखेको या भेटेको भएमा खबर गरिदिन आग्रह गर्नुहुन्छ लक्ष्मी । 

हराएका श्रीमानलाई आग्रह गर्दै भन्नुहुन्छ ‘जहाँ भए पनि यस्तो ठाउँमा छु मात्र भए पनि भनिदिनुस् हामी तपाईँलाई पर्खेको पख्र्यै छौँ ।’

(यदि तपाईँले मलेसियामा शोभाराम पराजुलीलाई कतै देख्नुभयो भने भने दाङमा रहेको आप्रवासी स्रोत केन्द्रको फोन नम्बर ०८२५६३५४६ मा सम्पर्क गरेर शोभारामको बारेमा जानकारी दिन सक्नुहुन्छ ।)

अन्तिम अपडेट: असार ९, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • तारा छेत्री

    May 18, 2022, 1:30 p.m.

    कामदार बिदेश गएर काम लागि सके पछी बैदेशिक रोजगार एप वा अनलाईन मार्फत स्वयम व्यक्ती वा अन्य जानकारी भएका व्यक्तीले समेत उताको आफ्नो मोबाईल नम्बर समेत काम गर्ने कम्पनी र बस्ने ठाउँको ठेगाना समेत राख्न मिल्ने गरी व्यवस्थापन गर्नु पर्नेमा श्रम स्वीकृती निकाल्दा समेत आफ्नाे चेक र नया भिषा समेत राख्न पनि रिसेटको नाममा बैदेशिक रोजगार बिभागका कर्मचारी गुहारेर हप्ता दिन कुर्नु पर्ने व्यवस्था गरिएको छ यो गरिव नागरिकको भलाईको लागि हो की चोरहरुलाई चौतारो बनाई दिएको हो भन्ने छुट्याउन गारो छ, बैदेशिक रोजगार विभागको Femis भन्ने अनलाईन स्फ्टवेयर सम्बन्धित व्यक्ती तथा सम्बन्धित देशमा रहेको दूतावासका कर्मचारीहरुले चेक गरेर समस्यामा परेका आफ्ना नागरिकको अवस्था पत्ता लगाएर उद्दार गर्ने व्यवस्था मिलाउनु पर्ने हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया