चीन र भारतलाई सन्तुलनमा राख्न रुससँगकाे सम्बन्ध आवश्यक : प्रस्तावित राजदूत तुलाधर

 जेठ ४, २०७९ बुधबार १४:१२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई देशबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ । 

आज बुधवार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताउनुभएको हो । उहाँले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गर्नुभयो । 

नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदूत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध आवश्यक रहेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘रुस एउटा यस्तो देश हो, उसकाे भारतसँग पनि अत्यन्त निकट सम्बन्ध छ र चीनसँग पनि रणनीतिक सम्बन्ध छ । चीन र भारत दुवैसँग अत्यन्त निकट रहेर रुसले काम गरिराखेको छ । नेपाल पनि चीन र भारतसँग मिलेरै जानुपर्ने देश हो । हामी यो भन्दा अलग भएर जान सक्दैनौँ । चीन र भारतलाई सन्तुलन नराखिकन हामी जानै सक्दैनौँ । त्यसरी सन्तुलन राख्दा हामीले रुससँग पनि सम्बन्ध राम्रो राख्नुपर्ने जरुरी देखिन्छ ।’

प्रस्तावित राजदूत तुलाधरले रुसको पर्यटक भित्र्याउन र नेपालको हस्तकलाका वस्तुहरू निर्यात गरेर निर्यात व्यापारमा योगदान पुर्‍याउन पनि आफू लागिपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया