रोमाञ्चक खेलमा कोलकातालाई २ रनले हराउँदै लखनउ आईपीएलको 'प्ले अफ' मा

 जेठ ५, २०७९ बिहिबार ८:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । मुम्बईमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ रनले हराउँदै लखनउ प्ले अफमा पुगेको हो ।

लखनउले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि कप्तान श्रेयस आयरले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै नितिश रानाले ४२ तथा रिन्कु सिंहले ४० रन जोडे ।

लखनउका मार्कुस स्टोनिस र मोसिन खानले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा विना विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो ।

लखनउका ओपनर क्विन्टन डी ककले अविजित १ सय ४० रनको शतकीय पारी खेले । यस्तै अर्का ओपनर तथा कप्तान केएल राहुलले अविजित ६८ रनको अर्धशतकीय पारी खेले । आईपीएल इतिहासमा ओपनरद्वय डी कक र राहुलको यो कीर्तिमानी साझेदारी हो ।

जितसँगै लखनउ दोस्रो स्थानमा उक्लिएको छ । लखनउ प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि गुजरात टाइटन्स प्ले अफमा पुगिसकेको छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली पनि हुन् । लखनउले १४ खेलमा १८ अंक जोडेको छ । समान खेलमा कोलकाता १२ अङ्कका साथ छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया