देशकाे अर्थतन्त्र गम्भीर स्थितिमा : सांसद चाैधरी

 जेठ ५, २०७९ बिहिबार १८:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले देशको अर्थतन्त्र गम्भीर स्थितिमा रहेको बताउनु भएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद चौधरीले कोराेना महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले देशको अर्थतन्त्र गम्भीर स्थितिमा पुगेको बताउनु भयो । उहाँले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भीरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताउनु भयो ।

सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको आरोप लगाउनु भयो । उहाँले अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीव्र गति नलिने बताउनु भयो । अहिलेको अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि जिकिर गर्नुभयो ।

‘बजेटको बेलामा बाहेक अरुबेला देशको अर्थतन्त्र कता गइरहेको छ भनेर गम्भीरतापूर्वक छलफल नगर्ने हाम्रो मानसिकता, कहिले कोभिड, युक्रेन र रसियाको युद्ध जस्ता कुराहरुको आडमा देशले भोगेको अत्यन्त विमतिलाई लुकाउने जष्टिफाइ गर्ने पुरानो प्रवृतिको निरन्तरताको फलस्वरुप अझै पनि देशको अर्थतन्त्र त्यस्तै गम्भीर स्थितिमा उभिएको छ' उहाँले भन्नुभयो, 'हाम्रा विकास बजेट कार्यान्वयन गर्ने प्रशासकीय क्षमता अत्यन्तै कमजोर भयो भन्ने कुरा पटक–पटक हामीले १० औं वर्षदेखि भन्दै आएका छौं । अहिले पनि जेठ ४ गतेसम्म ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीव्र रफ्तार समात्दैन । अहिलेको हाम्रो अर्थतन्त्रको बेथा पनि त्यही नै हो ।'

सांसद चौधरीले पछिल्लो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत निर्यात गर्नुपर्ने बताउनु भयो । उहाँले विदेशी कच्चा पदार्थमा आधारित वस्तुको नेपालले निर्यात गरेर व्यापार घाटामा रहेको ठूलो खाडल पुर्न नसक्ने बताउनु भयो । सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तिमा पनि १५ हजार मेगावाट बढी विद्युत् बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउन पर्ने आवश्यकता रहेको बताउनु भयो । सरकारले नीति तथा कार्यक्रम मार्फत जलविद्युतमा छुटै नीतिगत व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

यस्तै, सांसद चौधरीले शेयर बजारमा धेरै लगानीकर्ताको पुँजी डुबेकाले आगामी बजेटले क्यापिटल मार्केटमा तरङ्ग ल्याउने किसिमको नीति ल्याउनुपर्ने पनि बताउनु भयो । उहाँले  बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक ब्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको बताउनु भयो । चौधरीले राष्ट्र बैंकसँग भएको ५ सय अर्ब भन्दा बढी पुँजी बजारमा ल्याउन माग गर्नुभयो । उहाँले सरकार आफ्नो विकास खर्च पनि गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने भएकाले राष्ट्र बैंकले यसको अन्त्य गर्न सक्नुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया