६ सय २५ पालिकाको मत परिणाम सार्वजनिक : उपमेयरमा कांग्रेसभन्दा एमाले अगाडि

 जेठ ६, २०७९ शुक्रबार ९:१२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय २५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४ वटा नगरपालिका र ४ सय २१ वटा गाउँपालिका गरी ६ सय २५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । 

नेपाली कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २ सय ७८ वटा पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले नगरपालिकामा एक सय वटाभन्दा धेरैमा जित हासिल गरेको छ । १ सय २ नगरपालिका र १ सय ७६ गाउँपालिका गरी २ सय ७८ वटा पालिकामा कांग्रेसले मेयर तथा अध्यक्ष जितेको हो ।

यस्तै, कांग्रेसले ७५ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले अहिलेसम्म २ सय ५२ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको हो । नेपाली कांग्रेस २ हजार ३ सय ६१ वटा वडाअध्यक्ष पदमा विजयी भएको छ । 

नेकपा एमाले
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ५८ वटा नगरपालिकाको मेयर र १ सय १४ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय ७२ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै, एमालेले ७७ वटा नगरपालिकाको उपमेयर, १ सय १७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । एमालेले अहिलेसम्म १ सय ९४ वटामा उपमेयर तथा उपाध्यक्ष जितेको छ तर एमालेले कांग्रेसले भन्दा २ वटा नगरपालिकामा उपमेयर बढी जितेको छ । एमाले २ हजार १७ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएको छ ।

माओवादी केन्द्र 
नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ ।

माओवादी केन्द्रले २८ वटा नगरपालिकाको उपमेयर, ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय १७ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रबाट ९ सय ८३ वटा वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् । 

नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर र ८ वटा गाउँपालिकाको अध्यक्षमा गरी जम्मा १४ वटा प्रमुखमा जितेको छ । समाजवादीले ८ वटामा उपमेयर जितेको छ ।

जसपा
जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म १६ वटा पालिकामा अध्यक्ष जितेको छ । जसपाले १३ वटामा उपाध्यक्ष र २ सय ३२ वटामा वडाअध्यक्ष जितेको छ ।

स्वतन्त्र/अन्य दल
यस्तै स्वतन्त्र र अन्य दलले गरी ३३ वटा पालिकामा मेयर/अध्यक्ष जितेका छन् । स्वतन्त्र र अन्य दलहरुले ४१ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका निर्वाचन आयोगले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • विरेन्द्र चौलागाई

    May 20, 2022, 9:28 a.m.

    म हरेक दिन उज्यालो का खबर अनलाइन मार्फत सुन्दै आएको छु हरेक घटना क्रमलाई एकदम छिटो छरितो समाचारमा रूपान्तरण गरी जन्ता सामु प्रस्तुत गरेकोमा उज्यालो रिडियो नेटवर्क लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु

  •  0 Reply

तपाईको प्रतिक्रिया