'ब्युटी पिजेन्ट'सँग जाेडिएकाे यौनहिंसाको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न संसदमा ध्यानाकर्षण

 जेठ ६, २०७९ शुक्रबार १४:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गर्नुभएको थियो । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको हो ।

सरकारलाई निर्देशन दिँदै सभामुख सापकोटाले भन्नुभयो – ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाई राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कान‍ुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गर्नुभयो । उहाँले वलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार गर्नुपर्ने बताउनुभयो ।

एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आफूलाई ८ वर्ष अघि ब्युटी पिजेन्ट अर्थात् सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गर्नुभएको थियो । उहाँले त्याे घटनामा केही व्यक्तिहरुको संलग्नता देखाउनुभएको थियो । उहाँको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । यसै विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।

 


अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया