प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाट मात्रै करिब १ अर्ब ७० करोड बक्यौता रकम असुली गर्न बाँकी

 जेठ ६, २०७९ शुक्रबार १४:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल नागरिक उडड्यन प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाट मात्रै करिब एक  अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ । 

संघीय संसद अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उडड्यन सम्बन्धी समस्या र समाधान उपसमितिले पेश गरेको प्रतिवेदनमा प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाटै त्याे बक्यौता रकम असुली गर्न नसकेको उल्लेख गरिएको हो । उपसमितिका संयोजक दिव्यमणि राजभण्डारीले विदेशी विमानस्थलहरुबाट पनि बक्यौता रकम असुली गर्न प्राधिकरणले नसकेको जानकारी दिँदै त्यसको मुख्यकारण गैरजिम्मेवारीपन रहेको बताउनु भयो ।

उपसमितिको प्रतिवेदनमा नेपाल वायु सेवा निगममा नयाँ नेतृत्व आए पनि त्यसले बोर्ड बैठक समेत बोलाउन नसकेको भनिएको छ । उपसमितिका संयोजक राजभण्डारीले भन्नु भयो,  ‘झण्डै-झण्डै १ अर्ब ७० करोड बक्यौता रुपैयाँ उठाउन नसकेको देखिन्छ भने अर्कोतिर विदेशी संस्थाहरुसँग पनि पैसा उठाउन नसकेको प्रष्टसँग देखिन्छ । यसमा सम्बन्धित निकायहरुको गैरजिम्मेवारीपन मुख्य कारण देखिन्छ । नेपाल वायु सेवा निगमको हकमा नयाँ नेतृत्व आए पनि महिनौं बैठक समेत बस्न नसकेको पाइएको छ ।’

उपसमितिको प्रतिवेदनमा नागरिक उडड्यन सम्बन्धी समस्या र ती समस्याहरुको समाधानका लागि सरकार र सम्बन्धित निकायहरुलाई समितिले जिम्मेवार भएर काम गर्न सचेत गराउनुपर्ने सुझाव पनि दिइएको छ । उपसमितिका संयोजक राजभण्डारीले विमान सेवाको माध्यामबाट देशको पर्यटन क्षेत्रको विकास गर्ने कुनै पनि सोच सम्बन्धित निकायसँग नरहेको बताउनु भयो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल वायु सेवा निगमको पुरानै संरचना त्यही अनुसारको सोचको कारण यसले प्रगति गर्न नसकेको निष्कर्ष समेत उपसमितिको प्रतिवेदनमा निकालिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया