सौन्दर्य प्रतियोगिताका आयोजकबाट यौन शोषण प्रकरणमा अनुसन्धान सुरु, हदम्यादको बाधा फुकाउन दबाब बढ्दै

 जेठ ७, २०७९ शनिबार ७:१२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सौन्दर्य प्रतियोगितामा सहभागी युवतीमाथि आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा समिति गठन गरेको छ । तर बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानुनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । बलात्कारको कानुनमा रहेको हदम्याद हटाउन माग गर्दै प्रदर्शनसमेत सुरु भएको छ ।

गएको बुधवार एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफू १६ वर्षको हुँदा एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । तर उजुरीको हदम्यादसम्बन्धी कानुन थाहा पाएपछि उनी थप चिन्तित भएकी छिन् । एक वर्षभित्र रिपोर्ट गरेन भने अदालतले फाइल नै नलिने कानुनका कारण आफूले न्याय पाउनेमा आशा हराउँदै गएको भन्दै उनले ‘यो कस्तो नियम हो नेपालको ?’ भनेर प्रश्न गरेकी छिन् । 

नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैङ्गिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो ।

त्यस्तै, २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ । तर पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एक वर्षे हदम्याद पनि अपर्याप्त रहेको भन्दै हदम्याद बढाउन सरकार र सदनमाथि दबाब बढ्दै गएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया