बाग्लुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

 जेठ ७, २०७९ शनिबार १९:३७:५७ | रासस
unn.prixa.net

बाग्लुङ – वैशाख ३० गते सम्पन्न पालिका चुनावमा बाग्लुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार मेयर र उपमेयरका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कुल ४० हजार ४ सय १८ मतदाता रहेकामा त्यस नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो ।

नगरपालिकामा खसेको २४ हजार ८ सय मतमध्ये पाँच पार्टीका मेयर र उपमेयरका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो । 

मेयरका उम्मेदवार विवेकशील साझा पार्टीका सुरज खड्काले ५४ मत, नेपाल दलित पार्टीका भक्तबहादुर रसाइलीले ६३ मत, नेपाली कांग्रेस ‘वीपी’ का धना आचार्यले १२ मत, नेकपा (माले) की मन्जु क्षेत्रीले २६ मत र नेपाल परिवार दलका नलीप्रसाद आचार्यले १२ मत पाएपछि धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । 

उपमेयरमा उम्मेदवारी दिएकी नेपाल दलित पार्टीकी शान्तिकुमारी नेपालीले ५२ मत, एकीकृत समाजवादीका जीवन आचार्यले ५० मत र स्वतन्त्र उम्मेदवार ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेपछि उहाँहरुको धरौटी जफत भएको छ। 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया