हेटाैँडा : विपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट बिजुली निःशुल्क दिने निर्णय

 जेठ ९, २०७९ सोमबार १६:८:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गर्नुभएको छ । आज सोमवार उपमहानगरको सभा हलमा पद तथा गोपनीयताको शपथपछि दुवै जनाले पदभार ग्रहण गर्नुभएको हो । उहाँहरूसँगै अन्य पदाधिकारीले पनि पदभार ग्रहण गरेका छन् । 

पदभार ग्रहणपछि मेयर लामाले पाँच वटा निर्णय गर्नुभएको छ । उपमहानगरभित्र रहेका अति विपन्न घरपरिवारमध्ये १५ सय ४१ घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम उपलब्ध गराइने भएको छ । त्यस्तै ती घरपरिवारलाई मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट बिजुली पनि निःशुल्क उपलब्ध गराउने निर्णय भएको उपमहानरपालिकाले जनाएको छ ।

त्यस्तै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र बाटो विस्तारका क्रममा बाटाको बीचमा भएको विद्युतीय पोल ब्यवस्थापन गर्ने निर्णय भएको छ । महिला जागरण समुहमार्फत लैङ्गिक हिंसा विरुद्धका अभियान सञ्चालन गरिने र पीडित÷प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालीन आश्रयस्थल मार्फत प्रभावकारी रूपमा पुनस्र्थापनाका लागि कार्यहरू सञ्चालन गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले हेटौँडा उपमहानगरपालिकालाई समृद्ध नगर बनाउने अठोट गर्नुभयो । चुनावमा पराजित भएकाहरूले पनि जितेको महसुस गर्नका लागि आग्रह गर्दै उहाँले भन्नुभयो, ‘हामीले प्राविधिक रूपमा जितेका हौँ । प्रतिपक्षी दलको घोषणापत्र र हाम्रो घोषणापत्रलाई लिएर सँगै काम गर्छाैँ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Suresh Tamang

    May 24, 2022, 8:14 a.m.

    मेरो सम्पूर्ण नवनिर्वाभित जनप्रतिनिधीमा अनुरोध । भरखरै चुनाव जितेको जोसमा नववियुक्त वडा अध्यक्षहरु, पालिका अध्यक्ष/मेयरहरुको निशुल्क स्वास्थ्य वीमा, स्वास्थ्य परिक्षण, छात्रवृत्ति, एम्बुलेन्स र हेलिप्याड जस्ता निर्णयहरु आउँदैछन् ! त्यो पनि कतै हिजोको भ्युटावर नहोस्। सोचेर मात्र बोलौं, ती कार्यक्रम कतिको जरुरी र दिगो छ? जनताको रुची र खाँचो के छ? पछि त्यहि पासो हुन्छ। कयिपय नीति र निर्णयहरु बोल्न सजिलो तर लागू गर्न कठिन र अब्यवहरिक पनि हुन्छन् । भौतिक देखि सामाजिक विकास [शिक्षा, स्वास्थ्य, समाज कल्याण] का समस्याहरुका चाँङ छन् विस्तारै प्राथमिकताका आधारमा निर्णय र योजना गरेको राम्रो । हतार र कसैको बहकाउमा हैन, अनुभवले पाकेका र विज्ञहरुको सल्लाह लिऔं, साना ठूला तर जनताको जीवन जोडिएका धेरै विषयहरु छन् । राम्रो काम गर्ने इच्छाशक्ति र नियत मूल कुरा हो । कर्मकाण्डी होइन जनभावना अनुरुप इमान्दार भएर काम गर्नुहोस् !

  •  0 Reply

तपाईको प्रतिक्रिया