अब ४ पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी

 जेठ १२, २०७९ बिहिबार ७:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।

काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा एकीकृत समाजवादीका बलदेव चौधरी ७ सय ४४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका वसन्तकुमार बस्नेतले ३ सय ३४ र एमालेका भागवत राउतले २ सय ११ मत प्राप्त गर्नुभएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच प्रतिस्पर्धा छ । खाँणले १६ हजार ८ सय ३६ मत प्राप्त गर्दा चापागाईंले १५ हजार ८ सय ३३ मतका साथ पछ्याइरहनुभएको छ ।

७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

स्वतन्त्र उम्मेदवारले १२ वटा प्रमुख पद जितिसकेका छन् । काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित निश्चित छ । बाँकी पालिकामा अरु साना दल प्रमुखमा विजयी भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया