म्याग्दीमा सुन्तला उत्पादन बढ्यो, यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको कारोबार

 जेठ १२, २०७९ बिहिबार १३:४३:१३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो । 

म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भइ १० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको बताउनुभयो ।     

गएको वर्ष म्याग्दीको सुन्तलामा चाइनिज सिड्रस फुडफ्लाई नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर, यस वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिमका साथै प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारीसमेत रहनुभएका कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो । 

गएको वर्ष म्याग्दीमा एक हजार नौ सय ६४ मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको थियो भने यस वर्ष ६६ मेट्रिक टन बढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादनसमेत बढ्दै जान थालेको छ । यस पटक सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र म्याग्दीले ११ लाख रुपैयाँको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । 

म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मंगला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगंगाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन् । छोटो समयमा थोरै लगानी र मेहनतबाट पनि राम्रो उत्पादन गर्न सकिने भएपछि ग्रामीण भेगका किसानहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन् । 

म्याग्दीमा उत्पादित सुन्तला किसानले बोटमै प्रतिकेजी ६० रुपैयाँका दरले बिक्री गरेका थिए । म्याग्दीको सुन्तला सदरमुकाम बेनीबजार हुँदै बाग्लुङ, पर्वत, पोखरा, चितवन, धादिङ र काठमाण्डौका बजारमा पुग्ने गरेको छ । सुन्तला खरिद गर्नका लागि ठूला सहरबाट व्यापारीहरू किसानको बोटमै पुग्छन् । सुन्तलासँगै नर्सरी स्थापना गरेर आफूले बिरुवासमेत बिक्री गर्दे आएको भकिम्ली राखुकी अगुवा किसान मनकुमारी पुनले अनुभव सुनाउनुभयो । उहाँले १६ रोपनीमा सुन्तला खेती गरेकोमा यस वर्ष तीन रोपनीको दुई सय ५० बोटले उत्पादन दिएको बताउँदै झन्डै सात लाख रुपैयाँ आम्दानी भएको जानकारी दिनुभयो । 

म्याग्दीमा झन्डै पाँच सय जना किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् । सुन्तला रोपेको पाँच वर्षपछि फल दिन सुरु हुने कृषि प्राविधिकहरू बताउँछन् । सुन्तलाले फल दिन थाले पनि तुरुन्तै लाभ दिन भने नसक्ने भएकाले ६ देखि १० वर्षसम्म लाभ दिन थाल्छ । त्यसपछि अनुकूल वातावरण तथा रोग, किराको प्रकोप नभएको खण्डमा सुन्तला लगाएको १२ वर्षपछि लगानीको १५ गुणाले आम्दानी दिन्छ । सुन्तला खेतीमा व्यवस्थापन खर्च भने कम रहेको किसानहरू बताउँछन् । 

किसानले कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखामार्फत आवश्यक औजार, तालिम, गोष्ठी, भ्रमण र अनुदानलगायतका सेवा–सुविधा पाएपछि सुन्तला खेतीमा किसानको आकर्षण बढेको छ, साथै उत्पादन पनि बढेको छ । म्याग्दीमा विदेश गएर फर्किएका युवाहरू एकल वा समूह बनाएर व्यावसायिक कृषि र पशुपालनमा आकर्षित हुँदै गइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया