मतदातालाई धन्यवाद दिन घर–घर पुगे जनप्रतिनिधि, सुझाव पनि लिए

 जेठ १२, २०७९ बिहिबार १५:५:३१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङका नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले मतदाताका घरघरमा पुगेर उनीहरूलाई धन्यवाद दिन व्यस्त छन् । चुनावमा अमूल्य मतदान गरी आफूहरूलाई जिताएकोमा खुसी व्यक्त गर्दै निर्वाचित जनप्रतिनिधिहरू नागरिकका घरघरमा पुगेर धन्यवाद दिन थालेका हुन् । विगतमा प्रायः चुनावपछि जनप्रतिनिधि आफ्नो घरआँगनमा नआउने भन्दै गुनासो गर्ने मतदाता यस पटक भने खुसी भएका छन् । 

नागरिकको घरघरमा जनप्रतिनिधि, मतदाता उत्साहित

विगतमा चुनावका बेला मात्रै ‘नमस्कार’ गर्दै भोट माग्न नागरिकसम्म आउने, गाउँटोल धाउने तर चुनावपछि जित्ने–हार्ने दुवैले नागरिक र गाउँठाउँका समस्यालाई चटक्कै भुल्ने गरेको मतदाताले गुनासो गर्थे । तर यस पटक लमजुङका नवनिर्वाचित जनप्रतिनिधिहरू चुनावका बेला भोट माग्न मतदाता घरघर धाएझैँ चुनावको नतिजा आएपछि पनि मतदाताको घरघर पुगेर धन्यवाद दिए । गाउ्रँठाउँको विकास र नागरिकको सुख, दुःखमा सँगै साथै रहने प्रतिबद्धता जनाए ।

निर्वाचित भएसँगै पुनः मतदाताकोमा पुग्दा उनीहरू निकै उत्साहित भएका सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनुभयो । ‘भोट माग्न मात्र होइन, चुनाव जितेपछि पनि प्रायः सबै वडामा रहेका गाउँ टोलमा पुगी मतदातालाई धन्यवाद दिइयो’, उहाँले भन्नुभयो, ‘चुनावलगत्तै निर्वाचित जनप्रतिनिधि आफूमाझ पाउँदा मतदाता निकै उत्साहित भएको अनुभूति गरेँ ।’

आफ्नो घरआँगनमा आएका जनप्रतिनिधिहरूलाई मतदाताले विकासका काममा हातेमालो गरी अघि बढ्न आग्रह गरेका छन् । उनीहरूले आफ्नो ठाउँका समस्याबारे जनप्रतिनिधिहरूलाई खुलेर भनेका छन् । गाउँमा आवश्यकता धेरै छन् । कतिपय रोगीले आर्थिक अभावका कारण उपचार पाउन सकेका छैनन् । खानेपानीको पनि समस्या छ ।

‘बाटो, नाली छैन । हिउँद र बर्खामा सबै बाटोमा गाडी चल्न सक्ने गरी सडक स्तरोन्नति गरियोस् भन्ने नागरिकको चाहना छ,’ मेर कोइरालाले भन्नुभयो, ‘सीमित स्रोत–साधन हुन सक्छ । त्यही पनि उपलब्ध स्रोत–साधनलाई अधिकतम उपयोग गरी नागरिकको आवश्यकता र चाहनाअनुसार काम गर्न सदैव प्रतिबद्ध छौँ ।’

चुनावको परिणामपछि घरघरमा पुगेर मतदातालाई भेट्दा उनीहरू निकै भएका दोर्दी गाउँपालिकाका निर्वाचित अध्यक्ष युवराज अधिकारीले अनुभव सुनाउनुभयो । बाटोघाटो, पानी, सिँचाइलगायत जनजीविकासँग जोडिएका कुरामा ध्यान दिन मतदाताले अनुरोध गरेका उहाँले बताउनुभयो ।

चुनावका बेला नागरिकसँग गरिएको वाचा, देखाइएको सपना नभुली जनहितमा काम गर्न लमजुङ दोर्दी गाउँपालिका १ का मतदाता जंगबहादुर थापाले सुझाव दिनुभयो । 

युवालाई स्वरोजगार बनाउने मार्गमा जुट्न सुझाव 

कृषि, पशुपालन, पर्यटनलगायत क्षेत्रको विकास गरी युवाहरूलाई घरगाउँमै स्वरोजगार बनाउने काममा लाग्न पनि जनप्रतिनिधिलाई मतदाताले सुझाव दिएका छन् । 

पालिका चुनाव–२०७९ बाट लमजुङका सबै पालिकाले नयाँ नेतृत्व पाइसकेको छ । नवनिर्वाचित जनप्रतिनिधिहरूरुले शपथ ग्रहणसँगै पदभार सम्हालिसकेका छन् ।

‘विकासका काम र नागरिकका सुख–दुःखमा सधैँ साथै रहन्छौँ’   

लम्जुङका नवनिर्वाचित जनप्रतिनिधिहरूले सधै गाउँ/ठाउँको विकास र जनहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावमा विभिन्न पार्टीबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा गए पनि चुनावी नतिजापछि निर्वाचित जनप्रतिनिधि कुनै पनि पार्टीको पेवा हुन नसक्ने बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले बताउनुभयो । निर्वाचित जनप्रतिनिधि सबैको साझा रहेको बताउँदै त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

बेसीसहर नगरपालिकाका मेयरमा पुनः निर्वाचित हुनुभएका अर्यालले पालिका सरकार सेवामूलक क्षेत्र रहेकाले समग्र नगर क्षेत्रको विकासका साथै नागरिकको सेवाका क्षेत्रमा जुट्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।

लमजुङको राइनास नगरपालिकाका नवनिर्वाचित मेयर खड्गबहादुर गुरुङले पनि सबैको साझा भएर जनताको सुख–दुःखमा साथै रहेर विकास र सेवाका क्षेत्रमा लागिपर्ने उल्लेख गर्नुभएको छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा पालिका चुनावमा सुन्दरबजार, राइनास, मध्यनेपालको मेयर र दूधपोखरीको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । यस्तै दोर्दी, मस्र्याङ्दी, क्वहोलासोँधरको अध्यक्ष र बेसीसहरको मेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया