बालेनको जितले दिएको सन्देश

 जेठ १४, २०७९ शनिबार १८:४०:५६ | महेश खनाल
unn.prixa.net

सामान्यतया लौरोको आवश्यकता शारीरिक रुपमा कमजाेर भएपछि गरिन्छ तर अहिले काठमाण्डौमा युवादेखि वृद्धसम्म सबैले लौराेलाई आवश्यक ठानेका छन् । याे चुनावमा काठमाण्डाैका मतदाताले लाैराेलाई नै आफ्नो सहारा भएको विश्वास देखाएका छन् । अहिले देशको केन्द्र काठमाण्डौको मत परिणामले नयाँ तरंगको सिर्जना गरेको छ ।

चुनावकाे बेला स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनको चर्चा राम्रै थियो । चर्चा राम्रै भए पनि धेरैको आकलन बालेनले एमाले वा कांग्रेस कसकाे बढी मत काट्छन् त्यो दलले चुनाव हार्छ भन्ने थियाे । अर्थात् एमालेको मत काटे कांग्रेस जित्छ, कांग्रेसको मत काटे एमाले जित्छ भन्ने थियो । तर मत परिणाम ठिक उल्टो आयो । उनले कस्को मत बढी काटे त यकिन भएन तर जस्को मत काटे सबै आफ्नो पोल्टामा पारे । फलस्वरूप मत गणना सुरु भएकै दिनबाट एकपटक पनि उनी दोस्रोमा झर्नु परेन । काठमाण्डौ जस्तो ठाउँमा बालेनको जितले नेपालका मुख्य दललाई राम्रो झापड हान्दै तरंगित बनाएको छ ।

अहिले चलिरहेको संसद अधिवेशनमा बोल्ने हरेक जसो नेताहरुले बालेनको नाम लिएको देख्दा यो कुरा थप पुष्टि हुन्छ । बालेनको जितसँगै धेरै कुराहरु गासिएर आउँछन् । अघिल्लो पटकको चुनावमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले शानदार ढंगले चुनाव जिते । देशको केन्द्रको महानगरपालिकाको मेयर पाँच वर्ष नै केन्द्रमा रहे । तर खासै काम गर्न सकेनन् । सम्भवत विद्यासुन्दर शाक्य देशभर मै सबैभन्दा आलोचित मेयर बन्न पुगे । यसले गर्दा पनि महानगरका जनता आजित थिए । राम्रो विकल्पको पर्खाइमा थिए ।

एउटा कुरा के नकार्न सकिँदैन भने बालेन साहलाई आएको भोट उनको समर्थनमा आएको भोटसँगै राजनीतिक दल बिरुद्धको आक्रोश पनि हो । निर्वाचित प्रतिनिधिहरु जनताले तोकिदिएको सही लेनमा हिँड्न नसक्दा बालेनको उदय भएको छ । बालेनको जितले धेरै प्रश्नहरु सिर्जना गरेको छ र धेरै पाठ पनि सिकाएको छ, केही यहाँ चर्चा गर्दै छु ।

१. स्वतन्त्र उम्मेदवारको जितले अब जनता एमाले काङ्ग्रेस माओवादी लगायतका मुख्य दलहरुको विकल्प खोज्न तयार भएको देखाउँछ ।

२. पार्टी जति नै बलियो भए पनि उम्मेदवार राम्रो भएन भने जनताले पार्टी नहेरेर व्यक्ति  हेर्न सुरु गरिसके भन्ने गतिलो उदाहरण बनेको छ ।

३. नेवारहरुको बाहुल्यता भएको काठमाडौंमा नेवार नै रोज्छन् भन्ने सोचाइ पनि यो पटक गलत भएको छ,नेवारको बाहुल्यता भएको ठाउँमा मधेशी मुलको ब्यत्तिले जित्नु आफैमा सुन्दर पक्ष हो ।

४. उम्मेदवारमा राम्रो 'भिजन' भयो भने लाखौँ करोडौ खर्च, ठूलो ठूलो भाषण, आमसभा, तडकभडक नगरी सामान्य खर्चमा पनि चुनाव जित्न सकिने रैछ भन्ने उदाहरण बनेको छ र अब चुनाव लड्न खोज्ने तर पैसाको कारणले विचार राम्रो भएर पनि रोकिएकाहरुलाई राम्रो प्रेरणा मिल्ने निश्चित छ।

५. आफ्नो विचार भन्दा पनि बिपक्षी उम्मेदवारलाई गाली गरेर,हदैसम्म गिराएर, आफ्नो पक्षमा मत पार्न खोजिन्छ तर,जति नै नराम्रो भए पनि एक शब्द गाली नगरिकन बरु सम्मान नै गरेर आफ्नो भिजन मात्रै राखेर पनि जित्न सकिने रैछ भन्ने सबैलाई राम्रो अनुशासनको पाठ सिकाएको छ ।

६. मह्त्वपूर्ण कुरा देश वहुदलीय व्यवस्थामा गएपछि आमूल परिवर्तन हुन्छ भन्ने थियो तर यसरी काठमाण्डौ जस्तो ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्दा कतै जनताहरुको वहुदलीय व्यवस्थामाथि नै विश्वास गुमेको हो कि र दलविहीन व्यवस्थालाई स्वीकार गर्न तयार भएका हुन् कि भन्ने छनक पनि दिएको पाइन्छ ।

काठमाण्डौमा बालेन साह, धरानमा हर्क सामपाङ लगायतका विभिन्न ठाउँहरुमा स्वतन्त्र उम्मेदवारहरु उदाउनु र उनीहरुले देशभरीबाट नै व्यापक समर्थन पाउनुले अब आउने दिनहरुमा कैयौं बालेनहरु, कयौं हर्कहरु उदाउने निश्चित छ । जित बालेनको भए पनि यो एउटा व्यत्तिको मात्रै जित होइन,यो विचारको जित हो,परिवर्तन खोज्ने काठमाण्डौ मात्र नभएर समग्र देशका जनताको जित हो । अहिले बालेनकाे जित प्रति जुन उत्साह छ, आशा पनि त्यतिकै धेरै छ । बालेनले आफैले घोषणा गरेका हरेक कुराहरु पूरा गर्न सकुन्, शुभकामना ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया