‘ब्युटिपार्लर व्यवसायले मलाई नाम र दाम दुवै दिलायाे’

 जेठ १७, २०७९ मंगलबार १३:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

मान्छे आफूलाई झन् बढी सुन्दर देखिने बनाउन श्रृङ्गार गर्छन् । विशेषगरि महिलाहरुले  आफ्नो सुन्दरतामा झन् बढी ध्यान दिन्छन् । अहिले सहरदेखि गाउँसम्म श्रृङ्गार गर्ने पसल खुलेका छन् । तर आजभन्दा २० वर्ष पहिले अवस्था यस्तो थिएन । त्यतिबेला ब्युटिपार्लर व्यवसायलाई हाम्रो समाजले राम्रोसँग अँगाल्न सकेको थिएन । यो व्यवसाय गर्न निकै चुनौती थिए । त्यो समयमा प्रमुख सहरभन्दा बाहिर ब्युटिपार्लर व्यवसाय थाल्नु निकै गाह्रो काम थियो । तर स्याङ्जा वालिङ ११ की दुर्गा थापाले आँट गर्नुभयो । सृष्टि हर्बल ब्युटिपार्लर नाम राखेर २०६० सालमा सञ्चालन गर्नुभएको व्यवसायले अहिलेसम्म आइपुग्दा हजारौँ ग्राहकलाई सेवा दिनु त छँदै छ, सयौँलाई सीप सिकाएर स्वरोजगार पनि बनाएको छ ।

‘गाउँघरका छोरीचेली बिगार्ने भइ भन्थे, तर मैले त्यस्ता कुरालाई मत्लब गरिनँ’ दुर्गाले भन्नुभयो, ‘यो पेसालाई मर्यादित बनाउनुपर्छ भनेर म अघि बढेकी थिएँ, अहिले आफ्नो अडानमा सफल भएँ जस्तो लाग्छ, अहिले धेरै दिदीबहिनीहरु आत्मनिर्भर हुनुहुन्छ ।’

व्यवसाय गर्दाका चुनौती

दुर्गाले आफूले यो व्यवसाय सुरु गरेदेखि अहिलेसम्म चुनौतीका निकै पहाड छिचोल्नुपर्‍याे । दुई दशक पहिले स्याङ्जामा एक दुईवटा ब्युटिपार्लर थिए । ती पनि केही समय सञ्चालनमा आएर बन्द भए । व्यवसायको दुनियाँमा आफूलाई टिकाइराख्न सकेनन् । त्योबेला दुर्गालाई पनि अप्ठेरो नभएको होइन । महिनामा चार पाँच जना ग्राहकलाई मात्रै सेवा दिएर पनि उहाँले वर्ष दिन काट्नुभयो । एकदमै थोरै ग्राहक त्यसैमाथि निकै कम शुल्कमा काम गरिरहँदा आम्दानीले व्यवसाय धान्ला जस्तै थिएन । तर पनि उहाँले हार मान्नुभएन ।

‘थ्रेडिङको जम्मा १० रुपैयाँ थियो त्यतिबेला, त्यसैमाथि महिनामा चार पाँचजना मात्र ग्राहक हुन्थे’, पुराना दिन सम्झिँदै दुर्गा भन्नुहुन्छ, ‘ग्राहक लिन स्कुटी कुदाएर पोखरा सम्म पनि पुग्नुपथ्र्यो । निकै टाढाटाढाबाट पनि आउँथे तर महिनादिन बिराएर ।’

अहिले त अझै कतिपयले ब्युटिपार्लरमा छिर्दा पनि कसैले देख्छ कि भन्दै दायाँबायाँ हेरेर छिर्ने गर्छन् । झन् २० वर्ष पहिले अवस्था कस्तो थियो होला । सजिलै अनुमान लगाउन सकिन्छ । व्यवसायमा चुनौती हुन्छन् नै । झन् महिलाले यस्ता अनेक चुनौती झेल्नुपर्छ । त्यो कुरा दुर्गाको भोगाइले प्रष्टै पार्छ । त्यसैमाथि समाजको धारणा । कोही ब्युटिपार्लरभित्र छिरेको आफन्तहरुले देखेमा गाउँभरि हल्ला फैलिसक्थ्यो । कतिबेला दुर्गालाई आफू अपराधी हो कि भन्ने भान पनि हुन्थ्यो किनकी गाउँलेको बुझाइ नै त्यस्तै थियो ।

व्यसाय दर्ता गर्दा त झन् सरकारी कर्मचारीबाटै अपहेलित हुनुभयो उहाँ । सेवा लिन कार्यालयमा जाँदा उल्टै आपत्तिजनक कुरा सुन्नुपर्दा उहाँको मनमा बिझेको काँडाले कहिलेकाहीँ अहिले पनि घोच्छ ।

‘ब्युटिपार्लर दर्ता गर्न घरेलु उद्योगको कार्यालय गएकी थिएँ । त्यही बेला एकजना पुरुष पनि आफ्नो स्टील व्यवसाय दर्ता गर्न त्यहाँ गएका रहेछन्’, दुर्गाले विगत कोट्याउनुभयो, ‘घरेलु उद्योगका कर्मचारीले मतर्फ देखाउँदै कपाल काट्नेले त पाँच लाख लगानी गर्छन् तपाईं त २० लाखकै गर्नुस् न भनेका थिए, त्यतिबेला मलाई कस्तो पीडा भएको थियो, अहिलेसम्म भुलेकी छैन ।’

दुई दशकको यो समय अन्तरालमा ब्युटिपार्लर व्यवसायमा भएको विकासको साक्षी हुनुहुन्छ दुर्गा । बुझ्ने मान्छेले नै कपाल काट्ने भन्दै होच्याउँथे यस व्यवसायलाई । उहाँसँग यस्ता धेरै अनुभव छन् । जसले उहाँलाई यही व्यवसायमा टिक्न हतोत्साही पनि बनायो र हौसला पनि दियो । अहिले दुर्गा स्याङ्जामा व्यवसायको क्षेत्रमा चर्चित नाम हो ।

ब्युटिपार्लरले दिलाएको परिचय

महिलाले पनि केही गर्न सक्छन् भन्ने सोचका साथ दुर्गाले ब्युटिपार्लर व्यवसायलाई अगाडि बढाउनुभयो । आफूले काम गरिरहँदा उहाँलाई अरु महिलाहरुले पनि यो काम गरेर आत्मनिर्भर बन्न सक्छन् भन्ने लाग्थ्यो । त्यसपछि उहाँले ब्युटिपार्लरको तालिम दिन थाल्नुभयो । अहिलेसम्म आइपुग्दा एक हजार जतिलाई उहाँले ब्युटिपार्लर सिकाइसक्नुभएको छ । ब्युटिपार्लरको डिप्लोमा पनि सिकाउनुहुन्छ । यही कुराले दुर्गालाई यो पेसाप्रति आकर्षित बनाइराख्छ ।

दुर्गा भन्नुहुन्छ,–‘सीप सिकौँ आत्मनिर्भर बनौँ भन्ने मेरो बुझाइ हो, त्यसैमा रोजगारी दिलाउन सकिने । घरपरिवार पनि चलाउन मिल्ने भएपछि म यो पेसाबाट अलग भइनँ । यसैले मलाई नाम र दाम दुवै दिलायाे ।’

दुर्गा स्याङ्जा जिल्ला ब्युटिपार्लर व्यवसायी संघको संस्थापक अध्ययक्ष समेत हुनुहुन्छ । यस्तै उहाँ धेरै व्यावसायिक संघ संस्थामा पनि आबद्ध हुनुहुन्छ । धेरै ठाउँमा सम्मान पनि पाइसक्नुभएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया