काठमाण्डौमा बालेन्द्र साहको जित : असीमित उत्साहसँगै चुनौती पनि उस्तै

 जेठ १६, २०७९ सोमबार १२:२६:५२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

गठबन्धनका कारण यस पटकको पालिका चुनावको सुरुमा भरतपुर चर्चाको केन्द्रमा थियो । तर, मतपरिणाम आउन थालेपछि भने काठमाण्डौ सर्वाधिक चर्चाको केन्द्रमा रह्यो । काठमाण्डौ महानगरका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत कति आयो, जित हुन्छ कि हुँदैन भन्नेमा सर्वाधिक चासो देखियो । 

काठमाण्डौ महानगरको मतगणना सम्पन्न भएर नतिजा आउन दुई हप्ता लाग्यो । नतिजाले काठमाण्डौ महानगरको मेयरको जिम्मेवारी बालेन्द्र साहलाई दिएको छ । यस अघि कुनै राजनीतिक पार्टी तथा क्रियाकलापमा आबद्ध नभएका तथा यहाँको मूल नेवार समुदायभन्दा बाहिरको व्यक्तिले मेयरको जिम्मेवारी पाएपछि बालेन्द्र साहको चर्चा झन् बढेको छ ।

कालीमाटीका लक्ष्मीनारायण सिल्पकार देशमा बहुदल आएर पार्टीहरु सञ्चालनमा आएको ३० वर्षभन्दा बढी हुँदा पनि पार्टीहरुले राम्रो काम र उम्मेदवार नदिएकोले यो एउटा नसिहत हो भन्नुहुन्छ ।

पार्टीहरुले पैसा र पदको दुरुपयोग गरे त्यसैले स्वतन्त्र पनि आउन सक्छ भन्ने यो एउटा झापट भएको बताउँदै सिल्पकार भन्नुहुन्छ, ‘अब यस्तो स्वतन्त्र मान्छे आउनुपर्छ । सङ्घीय चुनावमा यस्तो झन् धेरै मान्छे आउँछ ।’

अब मंसिरमा हुने सङ्घीय चुनावमा नागरिकको सेवा गर्ने युवाहरु आउनु पर्ने बताउँदै सिल्पकारले काम गर्ने नायकलाई सम्मान गरिनुपर्ने बताउनुभयो । 

सिल्पकार बालेन्द्रलाई अवसरसँगै चुनौती पनि धेरै नै रहेको बताउँदै भन्नुहुन्छ, ‘काठमाण्डौलाई सफा, सुग्घर राखेर खानेपानी लगायतका समस्या समाधान गर्नु जति चुनौती छ त्यति नै अवसर पनि हो उहाँलाई ।’

बल्खुका ध्रुव बस्नेतले पहिले नै बालेन्द्रलाई सहयोग गर्दै आउनु भएको हो । उहाँ सामाजिक सद्भाव राष्ट्रिय एकता अभियानको संयोजक पनि हुनुहुन्छ । उहाँ राष्ट्रिय एकतालाई अचार जस्तै नुन, पीरो सबै मिलेको हुनुपर्ने बताउनुहुन्छ ।

अहिले स्वतन्त्र उम्मेदवार बालेन्द्रकाे जितले यस अभियानलाई झनै सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले राष्ट्रिय झण्डा बाँड्ने तथा राष्ट्रिय सद्भाव फैलाउने काममा लागेकोले पनि स्वच्छ, स्वतन्त्र र इमानदार मान्छेको अभियानमा आएको बताउनु भयो । 

चुनाव आवधिक भएको तथा स्थायी नभएका कारण गलत गर्ने मान्छेले नसिहत अवश्य पाउने उहाँको धारणा छ । ‘प्रणालीको धेरै भागमध्ये एक जनतासँग सम्बन्ध स्थापित गर्ने माध्यम हो चुनाव, भन्नुहुन्छ, ‘यस चुनावमा स्वतन्त्र कुरा धेरै आएको छ । राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको कुरो आएको छ । तर मिडियाले पनि दलीय एकताको कुरा ल्याउँछ राष्ट्रिय एकताको कुरै ल्याउँदैनन् ।’ 

यस पटक बालेन्द्र साहको विजय दलहरुको लागि मात्र चुनौती नभएर स्वयम् साहका लागि पनि चुनौती रहेको विचार छ बस्नेतको । भन्नुहुन्छ, ‘स्वतन्त्र भएको हिसाबले उहाँ काम गर्न जति स्वतन्त्र हुनुहुन्छ उहाँलाई सबैलाई मिलाएर लैजाने चुनौती पनि त्यत्तिकै छ । काठमाण्डौको वर्षौँदेखि रहेको फोहर र अव्यवस्थित राजधानीलाई सुधार्नु पनि गाह्रै छ उहाँलाई ।’ 

रामेश्वर राउत ‘मातृदास’ बालेन्द्रको जितलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँदै भन्नुहुन्छ, ‘दलहरुलाई सारा नेपाली जनताले विश्वास गरे । रगत, पसिना बगाए । सत्र हजार मान्छे मरे । तर, दलहरुले देश र जनताप्रति बेवास्ता गरे ।’

दलहरुले नागरिकलाई आफूले खोरमा पालेको भेडा च्याङ्ग्रा ठानेर जे गरे पनि हुने जस्तो व्यवहार गरेका कारण आजको अवस्था आएको उहाँको ठम्याइ छ । भन्नुहुन्छ, ‘यसको प्रतिकारमा हामी विकल्प दिन सक्छौँ भनेर जनताले भनेको अवस्था हो यो ।’ 

यदि नेताहरुले देश र नागरिकलाई सोच्दैन भने थुप्रै विकल्प रहेको रुपमा यस जितलाई लिनुपर्नेमा उहाँको जोड छ । भन्नुहुन्छ, ‘यस्तै हो भने जनताले यिनीहरुलाई सवक सिकाउँछन् । बालेन्द्रको जित यस कुराका राम्रो नमुना हो ।’

साहलाई अहिले महानगरको मेयरको जितले जति उत्साह प्रदान गरेको छ त्यति नै काम गर्न गाह्रो रहेको देख्नुहुन्छ मातृदास । भन्नुहुन्छ, ‘उहाँ स्वतन्त्र भएका कारण उहाँलाई काम गर्ने अवसर दिनेभन्दा पनि उहाँको खुट्टा तान्ने मान्छे धेरै हुन्छन् भन्ने डर छ । त्यसलाई चिरेर उहाँ कसरी अगाडि बढ्नुहुन्छ त्यो भनेको उहाँकै हातमा छ ।’

काठमाण्डौ असनकी निरुपमा बालेन्द्रको जितलाई नयाँ पुस्ताले भर्खर उठ्ने मौका पाएको रुपमा हेर्नुहुन्छ । नयाँ पुस्ताले मौकाको सदुपयोग गरेर केही गरेर देखाए भने परिवर्तन अवश्य हुन्छ । भन्नुहुन्छ, ‘भोट त हामीले पहिले पनि अरुहरुलाई हालेको हो तर सुधार भएन । बालेन्द्र साहको भिजन चित्त बुझेर हामीले उहाँलाई भोट हालेको हो ।’

देश सफलताको बाटोमा जाला र केही सुधार होला भन्ने उहाँको आशा समेत छ । पहिले यहीँको नेवारले जित्नुपर्छ भन्ने मान्यता रहेकोमा अहिले त्यो मान्यता हटेको उहाँको विचार छ । भन्नुहुन्छ, ‘देश विकास गर्न यहीँको मान्छे हुनुपर्छ भन्ने छैन । जसले देश विकास गर्ने प्रतिबद्धता व्यक्त गर्छ उसैलाई भोट हाल्ने हो।’

‘अहिले अलि भिजन र आशा बालेन्द्र साहमा देखेका कारण पनि उहाँले जित्नुहुन्छ भन्ने लागेको थियो’ उहाँ भन्नुहुन्छ ‘जित्ने आशालाई विश्वासमा परिणत गरिदिनु भएको छ । अब काठमाण्डौले सुमार्गतिर डोरिने मौका पाओस् । उहाँले आफ्ना प्रतिबद्धताहरु पूरा गर्नुस् । काठमाण्डौलाई सुन्दर सहर बनाउनुस् ।’

भोट दिएर जिताए पनि उहाँले काठमाण्डौका भित्री नेवार बस्ती तथा सम्पदालाई कसरी बुझ्नुहुन्छ त्यसले उहाँ सफल हुने नहुने कुरा तय गर्ने बताउनुहुन्छ निरुपम । भन्नुहुन्छ, ‘भोट त दिइयो अब उहाँले यहाँ भित्रका मान्छेको समस्या बुझेर काम गरेमा उहाँका लागि त्यो अवसर हो भने भित्री बस्ती, बाहिरी बस्ती अनि दलबाट निर्वाचित अन्य प्रतिनिधि सबैलाई मिलाएर लैजानु उहाँको चुनौती पनि हो।’ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया