वाग्मती प्रदेश सभा बैठक सुरु : कर्मचारीलाई धम्की दिएकोबारे छानबिन समिति गठन गरिने

 जेठ १९, २०७९ बिहिबार १२:२९:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - नेकपा एमालेका सांसदको अवरोधका कारण रोकिएको वाग्मती प्रदेश सभाको बैठक पुनः सुरु भएको छ ।

प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाबाट चालु आर्थिक वर्षमा वितरण हुने अनुदान रकम दिन प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सचिवले दिएको दबाबका विषयमा छानबिन समिति गठन गर्ने निर्णय भएपछि प्रदेश सभाको बैठक सुरु भएको हो । 

निर्देशनालयले दिने अनुदान रकम आफ्नालाई दिन मातहतका कर्मचारीलाई धम्की दिएको विषयमा छानबिनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध भएकाे थियाे । 

प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेमार्फत स्वकीय सचिव, मन्त्री र सचिव समेतले कर्मचारीलाई धम्की दिएको अडियो रेकर्डमा सुनेपछि त्यसको छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध पारेकाे थियाे । एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित भए पनि दुई घण्टापछि मात्रै बैठक सुरु भएकाे हाे ।

सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलाले पशुपक्षी तथा मत्स्य विकास केन्द्रका ३ जना कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल काम नगरेकाले सरुवा गरेको भन्दै विरोध जनाउनु भएकाे थियाे।

उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउन्जेल संसदमा अवरोध कायम राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटको लागि स्थगित गर्नुभएको हो ।

एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो।

पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा पशु स्रोत केन्द्र निर्माणका लागि भनेर १ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएकोमा बङ्गुरको श्रोत केन्द्रका लागि धादिङको नमुना बङ्गुर फार्मलाई नै कार्यविधि विपरीत दिनका लागि मुख्यमन्त्री पाण्डे, पाण्डेका स्वकीय सचिव, कृषि मन्त्री र सचिवले निरन्तर दबाब दिएको खबर सार्वजनिक भएको थियो ।

मुख्यमन्त्री, मन्त्री र सचिवले भनेजस्तो नगरेपछि तीन जना कर्मचारीलाई कारबाहीस्वरुप सरुवा गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया