‘भँगेरा बा’को अनुभवः ‘न भँगेरा रहे न त बिस्कुन !’

 जेठ १९, २०७९ बिहिबार १३:४३:४५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

सुरु सुरुमा त भँगेरा बा अर्थात ध्रुव बस्नेतलाई भँगेरा संरक्षणमा लाग्दा उहाँको श्रीमतीलेसमेत ‘यस्तो नचाहिँदो काम गर्ने’ नभनेको कहाँ हो र । तर, अहिले भने समय फेरिएको छ ।

उहाँको श्रीमती पनि बिहान उठेर भँगेरालाई चामल/अक्षता अर्थात चारो हाल्नुहुन्छ । पूजा गर्न भिजाउने चामल अर्थात अक्षता पनि भँगेराले खाओस् भनेरै धेरै भिजाउन थाल्नु भएको छ । अचेल उहाँ चामलसँगै पानी पनि राखिदिने गर्नुहुन्छ । योसँगै भँगेराका पनि दिन फिरेका छन् भने उहाँको खुशी ।

कीर्तिपुर टुसालका ६९ वर्षीय बस्नेत २०७२ सालमा त्रिभुवन विश्वविद्यालको सह–प्रशासकबाट अवकाश पाएपछि विभिन्न सामाजिक अभियानमा सक्रिय रुपमा लाग्नु भएको छ । जसमध्ये एउटा भँगेरा संरक्षण अभियान पनि हो । 

उहाँले २०६८ सालमा प्राध्यापक विनोद बानियाँ, अधिवक्ता राजु बस्नेत लगायतका साथीहरु संलग्न सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान सुरु गर्नु भएको थियो । चैत १ गतेलाई भँगेरा दिवस मनाउने क्रमको सुरुआत बस्नेतले २०७४ सालमा आफ्नो घरबाट सुरु गर्नु भएको हो । 

गएको चैत १ गते कीर्तिपुरको क्रिएटिभ स्कूलका विद्यार्थीमाझ भँगेराको महत्त्व र संरक्षणका विषयमा जानकारी गराउँदै यस वर्षको भँगेरा दिवस सम्पन्नसमेत भइसकेको छ । बस्नेतको गुनासो छ, ‘हामीकहाँ पशु पक्षी मन्त्रालय भए पनि विभाग अन्तर्गत पक्षी छुटेको छ । विभागले कुकुर र कुखुराको सन्दर्भमा मात्र काम गर्छ । चराहरुको सन्दर्भमा भने केही व्यवस्था छैन ।’

बस्नेत हाम्रो सनातन परम्परामा नै पशु पक्षी संरक्षण गर्ने प्रचलन रहेको बताउँदै ‘लच्छिनको घरमा भँगेरा बस्छ अलच्छिनको घरमा माकुरो’ भन्ने उखान नै रहेको बताउनुहुन्छ । 

यसको अर्थ जुन घरमा सरसफाइ हुँदैन फोहर हुन्छ त्यहाँ माकुरा बस्छ । अनि जुन घरमा मेहनत गरेर खेतीपाती गरेर अन्न बाली भित्र्याइन्छ, सुकाइ, पकाइ गर्न बिस्कुन सुकाइन्छ त्यहाँ भँगेरा चारो खान आउने बताउनुहुन्छ बस्नेत । 

तर, समयक्रममा खेतबारी मासिँदै गयो । खेतबारीसँगै भँगेरा पनि मासिँदै गए । तर खेतबारी मासिएका कारण भँगेरा मासिएको तर्कसँग असहमति छ बस्नेतको । भँगेरा मासिनुको कारण खेतबारी नभएर उसको बासस्थान रहेको भनाइ छ बस्नेतको । 

गाउँघरतिर २०७२ सालको भूकम्पपछि ढुङ्गामाटोले बनेका पुराना घरहरु भत्किए । सिमेन्ट लगाएका नयाँ घरहरु बने । नयाँ घरमा भँगेरा बस्ने खटप्वाल राखिएन जसका कारण भँगेरा सङ्कटमा पर्न थालेपछि बस्नेतको भँगेरा संरक्षण अभियान तीव्र बनेको हो । 

‘भूकम्पले मान्छे मात्र सुकुम्वासी भएनन् चरा पनि सुकुम्वासी भए’ बस्नेत भन्नुहुन्छ, ‘तत्काल प्रभाव पार्न सकिएन । सामाजिक सञ्जालमार्फत अभियान तीव्र बनाइयोे ।’ 

पहिले पहिले वर्षायाममा खेतीपाती गर्ने र हिउँदमा भारोपर्मबाट घर बनाउने चलन थियो । यसरी घर बनाउँदा ‘चखुँ प्वा’ अर्थात भँगेरा बस्ने घर वा प्वाल पनि बनाउने चलन थियो । नेवारीमा चखुँ भनेको भँगेरा अनि प्वा भनेको प्वाल । यस अर्थमा ‘चखुँ प्वा’ भनेको भँगेरा बस्ने प्वाल । 

‘चखुँ प्वा’ साना साना हुन्छन् । प्वाल ठूलो भयो भने काग पसेर भँगेराको बच्चा खाइदिने हुनाले भँगेराका लागि साना साना प्वालहरु हुन्थे । साथै पहिलो तलामा खटप्वाल नटाली राख्ने चलन थियो जसले गर्दा भँगेरा त्यहाँ बस्न सकोस् । 

पहिले पहिलो घर बनाउँदाको खटप्वालको नटाल्नुको अरु कारण नभएर केवल भँगेरा बसोस्, गुँड बनाओस् भन्ने मात्र रहेको बताउँदै बस्नेत भन्नुहुन्छ, ‘किनकि भँगेराले आफैँ गुँड बनाउन सक्दैन।’

‘ढुकुरको गुँड लिसिङ पिसिङ जुरेलीको मानो, हामी सानो तोपचराको तीन तले छानो’ भन्ने उखान सम्झँदै भँगेराले आफैं गुँड बनाउन नजान्ने भएको हुँदा यसका लागि आफ्नो घरवासमा बासस्थान बनाइदिनुपर्छ भनेर पहिले पहिलेका घरमा खटप्वाल नटाल्ने गरिएको बस्नेत बताउनुहुन्छ । 

ढुकुरलाई चरामा बैगुनी जात मानिन्छ । अनि चटक्क छोडेर बसाइँसराइ गर्ने कारणले पनि गुँड राम्रो नबनाउने बस्नेतको तर्क छ । तर भँगेरा भने धेरै उड्न नसक्ने, गुँड पनि आफैँ बनाउन नसक्ने, गुँड बनाइदिएपछि छोडेर अन्त नजाने तथा मान्छेले नै बुझेर गुँड बनाइदिने हुनाले मानिसको वरिपरि आएर बस्ने अनि खेतबारीमा अन्नबाली नोक्सान गर्न आउने किराफट्याङ्ग्रा खाइदिने हुनाले भँगेरालाई लच्छिन तथा मानिसको हितैषी चरा मानिने बताउनुहुन्छ बस्नेत । 

बिहान चाँडैदेखि उठेर चिरबिर गरेर कराएर मानिसलाई चाँडै उठ्न, धेरै नसुत्न र अल्छि नहुने सन्देश समेत दिने तर्क रहेको छ बस्नेतको ।  

पहिले आफ्नो बाल्यकालमा बिस्कुन सुकाउने बेलामा भँगेरा धेरै आएर बिस्कुन खाइदिने हुनाले आमाले बाबु लट्ठी लिएर बस् भनेको सम्झँदै उहाँ भावुक हुँदै भन्नुहुन्छ, ‘अहिले न भँगेरा रहे न त बिस्कुन !’ 

भूकम्पले भँगेरा पनि सुकुम्वासी

पहिले काठमाण्डौमा पुराना र थोरै घर थिए त्यस बेला भँगेरा धेरै थिए । तर, अहिले घर धेरै भए भँगेरा हराए । घर धेरै भएपछि भँगेरा झन् धेरै हुनुपर्नेमा झन् भँगेरा त सुकुम्वासी पो भए । 
मान्छे सुकुम्वासी भए सरकारले ख्याल गर्नुपर्छ भनिन्छ तर भँगेरा सुकुम्वासी भएकोमा कसैले चिन्ता नदेखाएका कारण आफूले अभियान सुरु गरेको बताउनुहुन्छ बस्नेत । 

लोपोन्मुख जीवजन्तु र चराचुरुङ्गीको संरक्षण गर्नुपर्नेमा अहिले भँगेराप्रति मानिसले बेवास्ता गरेकोमा उहाँ चिन्तित पनि हुनुहुन्छ । भँगेरा मानिसको मित्र चरा भएका कारण पनि यसको संरक्षण गर्नु पर्ने बस्नेतको तर्क छ । 

उहाँ यसका बारेमा कसैलाई दोष लगाउने भन्दा पनि यसका बारेमा हाम्रा पीता पुर्खाले नयाँ पुस्तालाई बुझाउन नसकेको, वातावरणविद्ले पनि बुझाउन नसकेको र नयाँ बन्ने घरमा भँगेराको महत्त्वको बारेमा वास्तुविद् तथा इन्जिनियरले पनि बुझाउन नसकेका कारण नयाँ बन्ने घरमा फोहर हुन्छ भनेर भँगेराको बासस्थान राख्ने चलन हराएको बताउनुहुन्छ बस्नेत ।

साथै घर बनाउँदा प्वाल राखेर काम गर्दा कामदारलाई ढिलो हुने तथा ठेक्कामा काम गर्ने/गराउने प्रवृत्तिले पनि भँगेरा सुकुम्वासी भएको बस्नेतको धारणा छ । 

भँगेरा संरक्षणका लागि अब नयाँ बन्ने घरहरुमा भँगेराका लागि प्वाल राख्नुपर्ने जसका लागि वडामा नक्सा पास गर्दा नै त्यसको प्रावधान राखिनुपर्ने बस्नेतको माग छ । उहाँले सहरी विकास मन्त्रालयमार्फत यसलाई राष्ट्रिय रुपमा नै अगाडि बढाउन खोजे पनि मन्त्रिपरिषदबाट निर्णय गराउनु पर्ने हुँदा सफल नभएको बताउनुहुन्छ । 

तर, यसका लागि कानुनमा समेत व्यवस्था भएको हुँदा कुनै व्यवधान नहुने पनि उहाँको तर्क छ । भन्नुहुन्छ, ‘पशुपक्षी संरक्षणको कानुन छ त्यही भित्र रहेर हामीले भँगेरा संरक्षण गर्न सक्छौँ।’

यसका लागि आफूले आफ्नो वडाको वडाध्यक्ष तथा इन्जिनियरलाई यसका बारेमा बुझाएर काम समेत सुरु भइसकेको बस्नेत बताउनुहुन्छ । अब यस्तो प्रावधान अन्यत्र पनि राखिनुपर्ने तथा अहिले नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई यस बारेमा सम्झाएर भँगेरा संरक्षण अभियानलाई तीव्रता दिनुपर्ने बस्नेतको भनाइ छ । 

बस्नेत आफ्नो घरमा तीस/पैँतीस वटा गुँड घरको गाह्रोमा रहेको तथा गाह्रोमा नअटेमा भँगेराहरु बाँसमा बस्न आउने गरेको बताउनुहुन्छ । अहिले कीर्तिपुरमा दुई/तीन सय वटा गुँड भइसकेको र नयाँ बन्ने घरमा कसरी गुँड बनाउने भनेर आफूसँग सल्लाह लिन आउने गरेको पनि बस्नेत बताउनुहुन्छ । 

आफ्नो अभियानका बारेमा थाहा पाएपछि शताब्दी पुरुष सत्यमोहन जोशीले उहाँको घरमा भँगेराको बासस्थान बनाउन लगाएको पनि बस्नेत भन्नुहुन्छ । 

यदि घर बनिसकेको छ भने बाँसमा सानो सानो प्वाल बनाएर पनि भँगेरा बस्ने व्यवस्था मिलाउन सकिन्छ । साथै प्लाइका साना घरहरु पनि बनाउन सकिन्छ । 

उहाँ भँगेरा संरक्षणका लागि नयाँ घर बनाउँदा भँगेराका लागि अनिवार्य रुपमा प्वाल राख्ने व्यवस्था गर्ने तथा भँगेराको उपयोगिताको बारेमा विभिन्न गोष्ठी तथा कार्यक्रम गरेर भए पनि यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ । 

मानव मैत्री चरा भएका कारण पनि यसको संरक्षण जरुरी रहेको तथा भँगेरा आउन थालेपछि अरु चराहरु पनि आउने हुनाले अन्य चरा संरक्षणमा समेत यसले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको तर्क छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Kiran limbu

    June 2, 2022, 2:49 p.m.

    हरेक जीवन्त मानव,पसुपन्चि,बोत बिरुवा पुरै प्रकृति नै चैनमा चल्नेभयेकोले एक अर्का प्रति निर्भर भएकोेले गर्दा पृथ्वीमा रहेको बुद्दिमानि मानिने मानब जातिले नै हरेक कुरा लाई ध्यान दिनु पर्ने हुन्छ। एक अर्कालाई मासिन दिनु हुन्न।

  •  0 Reply

तपाईको प्रतिक्रिया