नगर्नु विदेश जाने मन : दुःख गरे देशमै फल्छ धन, सजिलै चल्छ जीवन !

 जेठ २१, २०७९ शनिबार १३:२८:० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - तनहुँ भानु नगरपालिका–१०, नेपालडाँडाका नवीन जोशी र सविना जोशीले सुरुमा कुखुरा पाल्न थाल्नुभयाे । त्यसपछि गाई पनि पाल्नुभयो, । तर आशा गरेजस्ताे कमाइ भएन । तै पनि हार मान्नु भएन।

कुखुरापालन र गाईपालनबाट राम्रो आम्दानी नभएपछि उहाँहरु भैँसीपालन गर्न थाल्नुभयाे । उहाँहरुले भैँसीपालन गरी व्यावसायिक कृषि उद्यमलाई निरन्तरता दिनुभएको हो । भैँसीको दूधको बजारमा माग, मूल्य राम्रो रहेको र यसबाट फाइदा हुने सम्भावना देखेर परिवारको सल्लाहमै आफूहरु भैँसीपालन व्यवसायतिर लागेकाे उहाँले बताउनुभयो ।

२०७४ सालदेखि उहाँहरुले भैँसीपालन गर्नुभएको हो । अहिले उहाँहरुको भैँसीपालन व्यवसाय थप विस्तार भएको छ । अहिले फार्ममा साना/ठूला गरी २२ वटा भैँसी रहेका छन् । फार्ममा नौ वटा दुहुना, ३ वटा ब्याउने भैँसी र अन्य साना पाडापाडी रहेका छन् ।

श्रीमान् नवीन जोशी सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । व्यवसायमा उहाँको पनि भरथेग सहयोग त मिलेकै छ । तर कृषि व्यवसायलाई हाँक्ने मुख्य जिम्मा सविनाकै काँधमा छ ।

सबेरै बिहानदेखि अबेर साँझसम्मै भैँसीकै स्याहार–सुसारमै समय बित्ने गरेको छ, सविनाको । भैँसीलाई कुँडोपानी, घाँसपात, गोठ सफा गर्नुका साथै दूध दुहुने, फार्ममा उत्पादित दूध बिक्रीका लागि बजार लैजान तयारी गर्ने कार्यमा उहाँ आफैँ अघि सर्नुहुन्छ । 

श्रीमान् र छोराछोरीको साथ

‘श्रीमान्ले पनि सघाउनुहुन्छ । उहाँ सामाजिक, राजनीतिक क्षेत्रमै क्रियाशील हुनुहुन्छ । प्राय : भैँसीपालन व्यवसायमा मै खटिएको हुन्छु,' सविनाले भन्नुभयो ।

विगतमा नवीन दूध बिक्रीका लागि आफैँ बजार पुग्नुहुन्थ्यो । अहिले दूध बिक्रीमा एसईई दिएर घरमै बस्नुभएका छोरा सुशान्तले सघाउनुभएको छ ।

‘बाबा–आमाले कृषि कर्म गर्नुभएको छ । खुशी लाग्छ । पढाइ/लेखाइबाट बचेको फुर्सदको समयमा उहाँहरुलाई सघाउँदै आएको छु,’ फार्ममै भेटिनुभएका १६ वर्षे सुशान्तले भन्नुभयो, ‘अहिले दूध बिक्रीका लागि आफैँ बजार पुग्ने गरेको छु ।’

उहाँले लमजुङ तार्कुृघाटमा रहेकाे वीरभक्ति माविबाट एसईई दिएर अहिले घरमै हुनुहुन्छ । छोरी स्वस्तिकाले पनि घरमा आएको बेला फार्ममा सघाउनुहुन्छ । उहाँ अहिले चितवनमा ‘ल्याब टेक्सियन’को पढाइ गरिरहनुभएको छ ।

व्यवसायमा श्रीमान्, छोराछोरीको साथ, सहयोग मिल्ने गरेको सविना बताउनुहुन्छ । ‘कामदार पाउनै गाह्रो हुन्छ । परिवारको साथ, सहयोग मिलेकाले राम्ररी कृषि व्यवसाय चलिरहेको छ,’ उहाँले भन्नुभयो । 

दूध पाउँदी र कालीमाटीमै खपत, मासिक आम्दानी ६० हजार

घर नजिकै तनहुँको भानु–१०, नेपालडाँडा खाल्टेफाँटमा नवीन र सविनाले सञ्चालन गर्नुभएको स्वस्तिका गाईभैँसी फार्मबाट उत्पादित दूध लमजुङको पाउँदीबजार र तनहुँको कालीमाटी बजारमै खपत हुने गरेको कृषक सविना बताउनुहुन्छ ।

‘भैँसीको दूधको माग धेरै नै छ । भाग पुर्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको छ । बजारको कुनै समस्या छैन ।’ उहाँको फार्ममा अहिले दैनिक २५/३० लिटर हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूध प्रतिलिटर एक सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।

अहिले दूध बिक्रीबाट मासिक ५०/६० हजार रुपैयाँ हाराहारीमा आम्दानी हुँदै आएको सविनाले बताउनुभयो ।

‘खर्च पनि हुन्छ । व्यवसायबाट मासिक आम्दानी भइरहेको छ,’ उहाँले खुशी हुँदै भन्नुभयो, ‘दूध बिक्रीबाट मासिक ५०/६० हजार रुपैयाँकाे हाराहारीमा आम्दानी भएको छ ।’

फार्ममा लाखौँ लगानी, आशा गरेअनुसारकै आम्दानी

भैँसी खरिद, भौतिक संरचना निर्माणमा गरी उहाँहरुको लाखौँ लगानी भइसकेको छ । फार्म झण्डै पाँच रोपनी जग्गामा फैलिएको छ । वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी उहाँहरुले जग्गा भाडामा लिएर फार्म स्थापना गर्नुभएको हो ।

दूध उत्पादनका साथै पछि मासुका लागि बिक्री गर्न सकिने भएकाले भैँसीपालनलाई प्राथमिकता दिइएकाे उहाँले बताउनुभयो । ‘फार्ममा लाखौँ लगानी भइसकेकाे छ । लगानी र दुःख गरेअनुसारको आम्दानी पनि राम्रै भइरहेको छ,’ सविनाले भन्नुभयो ।

व्यवसाय थप विस्तार गर्ने लक्ष्य

आफूहरुले भैँसीका लागि आवश्यक घाँस खेती पनि गरिएको उहाँले बताउनुभयो । ‘फार्म परिसरका साथै अन्यत्र साढे २ रोपनी जगमा घाँस लगाईएको छ । दाना खासै किनिँदैन । भैँसीलाई चोकर भने खुवाइएको छ,’ उहाँले भन्नुभयो ।

अझै यस व्यवसायलाई थप विस्तार र व्यवस्थित गर्दै लैजाने फार्म सञ्चालक नवीन जोशीको लक्ष्य छ । भैँसीपालन व्यवसायमा झण्डै आधा दशक बढीको अनुभव बटल्नुभएको छ, जोशी दम्पत्तिले ।

‘विदेशमा गर्ने दुःख स्वदेशमै गरौँ’

व्यवस्थित र व्यावसायिक रुपमा भैँसीपालन गर्न सकेमा स्वदेशमै राम्रो कमाउन सकिने उहाँहरुको भनाइ छ । विदेशमा बगाउने श्रम/पसिना देशमै बगाउन सके, केही कृषि उद्यम गर्न सके यहीँ धन कमाउन सकिने उहाँहरु बताउनुहुन्छ ।

धन कमाउने सपना बोकी विदेश जान खोजेका युवाहरुलाई सविना भन्नुहुन्छ ‘सकेसम्म विदेश जाने नगर्नु मन, दुःख–मेहनत गरे यहीँ फल्छ धन, यहीँ चल्छ सजिलै जीवन !’ 

अन्तिम अपडेट: बैशाख २, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया