सडकमा फोहर कुल्चँदै रेस्टुराँमा सु........!

 जेठ २२, २०७९ आइतबार १२:१९:२४ | मिलन तिमिल्सिना
unn.prixa.net

हैन ए बाजे, कता हो सुरुवालको इँजार समातेर हतारिँदै र आत्तिँदै ?

फाल्न बाबु, फाल्न । साह्रै गाह्रो भयो । ओहो ! खै खै बाटो छोड त ।

हैन के फाल्न भन्नुभएको ? यो त फाल्ने हैन, भर्ने ठाउँ हो । माथि बोर्ड देख्नुभएन रेस्टुराँ भनेर लेखेको ? 

त्यही बोर्ड देखेर त आएको नि फाल्नको लागि । खै छोड न गाह्रो भैसक्यो क्या ।

पख्नोस् न पख्नोस् । कुरै नबुझी त्यसै कहाँ छोड्न मिल्छ र ? के फाल्ने भन्नुभएको, कुरो बुझिने गरी भन्नुहोस् त ।

पिसाब क्या बाबु पिसाब । भन्नलाई त पिसाब फेर्ने भन्छन् । लुगा हो र फेर्नलाई ? फेर्ने भनेपछि भैरहेको फालेर अर्को लगाउने हो । अब पिसाब फालेर के लगाउने ? त्यसैले पिसाबलाई फेर्ने भन्ने कुरो मिल्दैन । म चाहिँ फाल्न आएको । पिसाब फाल्न ।

हैन ए बा रेस्टुराँलाई तपाईंले सार्वजनिक शौचालय ठान्नुभयो कि क्यो हो ? यो कहाँ पिसाब फाल्ने ठाउँ हो त ? यो त भर्ने ठाउँ हो । पेट भर्ने । पेट भरेपछि मात्र फाल्न मन लागे फाल्ने, मन नलागे बाटो लाग्ने । फाल्न मात्रै चाहिँ पाइँदैन है बाजे । खुरुक्क आफ्नो बाटो लाग्नुहोस् ।

ल यी बाबु यहीँ काठमाण्डौ बसेर पनि केही कुरा थाहा पाउँदा रहेनछन् । हैन रेस्टुराँको ढोकामा उभिएर मान्छेको बाटो मात्रै छेक्ने काम हो कि समाचार पनि हेर्छौ हँ बाबु ?

किन नहेर्नु समाचार । हेरिन्छ पनि सुनिन्छ पनि । यी यही मोबाइलमै आउँछ सबैथोक । के थाहा पाउनुपर्यो ल भन्नुहोस् ।

अनि काठमाण्डौका अहिलेका मेयरले रेस्टुराँको चर्पीमा सबैले दिसा पिसाब गर्न पाउने भनेको तिमीले थाहा पाएनौँ । मैले त त्यही थाहा पाएर यहाँ सु गर्न आएको । खै तिमी मोबाइलमा समाचार हेर्दै गर म भित्र सु गरेर फर्कन्छु ।

ए बा किन धकलेको हँ ? एकछिन पख्नुहोस् । मेयरले भन्दैमा हुन्छ ? मेयरले आफ्नो कुरा भन्नु थियो भने । खै वडाध्यक्षहरुले सहमति दिए त, दिएका छैनन् । कुरो मात्रै गरेर हुन्छ ? सहमति हुन परेन ? निर्णय गर्न परेन ? कुरो मात्रै गरेर हुने भए त के के हुन्थ्यो के के ? त्यसमाथि मेयरले निर्णय गरे पनि हामी त्यसै कहाँ मान्छौँ । हामीले चन्दा चाहिँ दलहरुलाई दिनुपर्ने, अनि कुनै दल नभएका मेयरले आची गर्ने मान्छे पठाउँदैमा हामीले ढोका खोल्दिनुपर्ने ? त्यस्तो कुरा हुँदैन बाजे, खुरुक्क सुरुवाल माथि सारेर परतिर जानुस् ।

ए बाबु कति लामो भाषण छाँटेको हँ तिमीले । अर्कोपटक तिमी पनि चुनाव लड्न आँट्यौ कि क्या हो ? कहाँ जाने परतिर ? कहाँ छ र सु गर्ने ठाउँ । आफूलाई यहाँ कस्तो गाह्रो भैसक्यो ।

उ त्यहाँ फोहर थुप्रिएको छ नि त्यहीँ गएर फाल्नुहोस् ।

फोहरमा मिलेन क्या बाबु । अघि बसबाट ओर्लनेबित्तिकै सडक छेउमा फोहर थुप्रिएको देखेँ । अहिलेका मेयरले फोहरलाई मल बनाएर अर्गानिक खेती गर्ने भन्ने सुनेको थिएँ । मल बनाउन लागेका होलान्, मलका लागि थपथाप हुन्छ कि भनेर सुरुवाल खोल्न आँटेको मात्रै थिएँ वरपर नाक थुनेर हिँड्दै गरेका मान्छेले यतै हेर्न थाले । अनि लाजले सुरुवाल सार्दै यता आएको क्या बाबु । अब रेस्टुराँलाई सार्वजनिक चर्पी बनाउने भन्या छन्, म उद्घाटन गरिदिन्छु नि । बाटो छोड्देउ त बाबु ।

अँ हँ, त्यत्तिकै फाल्न त मिल्दै मिल्दैन बाजे । फाल्ने नै हो भने पहिले भर्नुपर्छ ।

हैन ए बाबु के भर्ने भनेको ? त्यही भरेको कुराले पेट भारी भएर फाल्नुपर्ने भएको, फेरि के भर्ने ? लौन मेरो त सुरुवाल बिग्रने भयो ।

पहिले खाने, अनि फाल्ने भनेको । पहिला खानेकुरा खाने, अनि पिसाब गर्ने । त्यत्तिकै कहाँ पाइन्छ ?

पहिले फालेर भर्न चाहिँ मिल्दैन ? मलाई त निकै गाह्रो भएको छ बाबु । सुरुवालमै उम्कियो भने त तिम्रो रेस्टुराँमा भएका मान्छे नि भाग्छन् फेरि । बरु भित्र गएर फाल्छु, अनि तिम्रो रेस्टुराँको के के खाइदिन पर्ने हो खाइदिन्छु नि, है बाबु ।

ल ल छिटो गर्नुहोस् । चर्पीबाट निस्केपछि खानुपर्छ नि, नत्र रेस्टुराँ साहुले तपाईंको सुरुवाल र मेरो जागिर एकैसाथ खुस्काइदिन्छन् । उ त्यहाँ छ चर्पी ।..............हैन कस्ता कस्ता मान्छे आउँछन् हँ । आफूलाई त रेस्टुराँमा पैसा तिरेर केही नखाइ चर्पी पस्न दिँदैनन् । चर्पी मात्रै गर्न आउनेलाई साहुले कसरी भित्र छिर्न दिन्छन् होला ? 

बल्ल आनन्द भयो बाबु, तिमीलाई धेरै धेरै धन्यवाद ।

ल ल बाजे अब त्यहाँ भित्र गएर मेन्यु हेर्ने, अनि पहिले पैसा तिरेर मज्जाले पेट पर्ने ।

भैहाल्छ नि बाबु....उ उता हेर त ती बालेन होइनन्, अहिलेका मेयर ?

खै कता ? ..........ए बाजे.....पख्नुहोस् त पख्नुहोस्, कहाँ भागेको हँ ? थुक्क बाजेले फोक्कडमा सु... गरेर भागे है । अझै मेयर आए भनेर डर पो देखाउँदा रहेछन् । मेयरलाई त उतै अफिसमा होला नि सु गर्ने ठाउँ, यहाँसम्म किन आउँथे र !

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया