‘भारत र चीन मामिलामा अमेरिकाले आगोमा घिउ थप्ने काम गर्‍याे’

 जेठ २७, २०७९ शुक्रबार १८:४७:१९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ । भारत भ्रमणमा आएका एक जना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको स्तरलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएपछि चीनले यस्ताे प्रतिक्रिया दिएको हो । 

वार्ता र परामर्शका माध्यमबाट सीमा समस्या समाधान गर्न आफूहरू सक्षम रहेको जनाउँदै चिनियाँ विदेश मन्त्रालयले दुई देशबीचको मामिलालाई लिएर अमेरिकाले गरेको टिप्पणी ‘आगोमा घिउ’ थप्ने खालको भएको बताएको छ । भारतको चार दिने भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले गरेको टिप्पणीपछि चीनको यस्ताे प्रतिक्रिया सार्वजनिक भएको हो । भारतका पत्रकारहरूसँगको कुराकानीमा फ्लिनले लद्दाख क्षेत्रमा चीनले निर्माण गरेका पूर्वाधार डरलाग्दा एवम् विष्मयकारी भन्नुभएकाे थियाे । 

केही अमेरिकी अधिकारीले चीन र भारतबीच फाटो ल्याउन खोजेको, आफूहरूमाथि औँला उठाएर अपमान गरेको बताउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिकाले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयाे ।  

यसैबीच भारतीय विदेश मन्त्रालयले पनि पूर्वी लद्दाख क्षेत्रमा चिनियाँ पक्षले पूर्वाधार निर्माण गरेको घटनालाई ध्यानपूर्वक निगरानी गरिरहेको बताएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया