मन्त्रीको गाउँ भ्रमण र मलको निकास !

 जेठ २९, २०७९ आइतबार ८:१७:४६ | मिलन तिमिल्सिना
unn.prixa.net

गाउँमा खेती गर्न अल्छी मानेर सहर पसेका मान्छे मन्त्री भए । मन्त्री भएपछि गाउँपाखा र खेतबारी सम्झन परेन । चुनाव आएपछि झल्याँस्स गाउँको याद आयो । अनि अगुवा र पछुवाको ताँतीसहित उनी गाउँ पुगे । गाउँमा खेतबारी बाँझै देखेर उनलाई रिस उठ्यो । 

गाउँभरिको अल्छी मान्छे मन्त्री भएर आउँदा सहर जान नपाएका अरु अल्छीलाई बेस्कन मज्जा लाग्यो । मन्त्रीको स्वागत गर्न उनीहरु अल्छी मानि मानि लाइन लागे । तर मन्त्री भै खाएको अल्छी गाउँका अल्छीसित जङ्गिन पो थाल्यो । 

ए काका, यतिका जग्गा किन बाँझो राखेको हँ ? धान रोप्नु, मकै लगाउनु, तरकारी र फलफूल खेती गर्नु । कति अल्छी भएको हँ तपाईँहरु ?

अल्छी भएको हैन मन्त्रीबाबु, गर्न नसकेको ?

किन सकिँदैन ? हातपाखुरा छन् त । मजाले खन्नु, जोत्नु, डल्ला फोर्नु, सम्याउनु, छर्नु । यति गर्न के को गाह्रो ?

यही गर्न नसकेर त तिमी सहर पसेको होइन ? न स्कुलमा पढ्यौ, न खेतबारीमा काम गर्यौ । पढ्न र काम गर्नको अल्छीले सहर पस्यौ, टाठाबाठासँगको सङ्गतले नेता भयौ । भनसुन गरेर मन्त्री भयौ । तिमीलाई पो भन्न सजिलो छ, काम गर्नेलाई कस्तो गाह्रो छ बुझेका छौ ?

बुझेका छौँ, बुझेका छौँ। त्यति गाह्रो पनि छैन । एउटा कुरा थाहा होला नि अब खेती नगरि जग्गा बाँझो राखियो भने जरिबाना तिर्नुपर्छ ।

के को जरिबाना ? पहिलो कुरा त गाउँमा उमेर ढल्केका बुढाबुढी र भर्खरै टुकुटुकु हिँड्न थालेका केटाकेटी मात्रै छन् । खुट्टा लागेका युवाहरु कोही झोला बोकेर पढ्न भन्दै सहर पसे, कोही गुन्टा बोकेर काम खोज्दै खाडी । न बुढाबुढीले काम गर्न सक्छन्, न केटाकेटीले । जग्गा बाँझो नराख्न खनजोत गर्नु परेन ? कसले खन्ने, कसले जोत्ने ? ल बल्लबल्ल सकिनसकी खनजोत गरियो भने पनि न भनेको बेलामा मल पाइन्छ, न बीउ । हैन सरकारमा बसेर तिमीहरु चाहिँ के हेर्दैछौ हँ ? किसानलाई मल दिनु पर्दैन ?

त्यही मल त हेर्दैछौँ नि ?

खै कहाँ हेर्यौ त मल ? कहिले आउँछ मल ? 

मल आउन त टन्न खुवाउन पर्यो नि ।

गोठमा भएका गाईबस्तुलाई सकिनसकी घाँसपात कुँडोफाँडो खुवाएकै छौँ नि । त्यसमाथि गाईबस्तुलाई खुवाएर गोबर मल आउँछ, विकासे मल आउँदैन । त्यो विकासे मल चाहिँ चाहियो भनेको क्या ।

त्यही त विकासे मल पाउनलाई पनि खुवाउन पर्यो नि ।

हैन गाईबस्तुलाई के खुवाउँदा विकासे मल आउँछ त ? नचाहिने कुरा के गरेको होला ?

गाईबस्तुलाई हैन क्या, सरकारलाई खुवाउनुपर्छ ।

के खुवाउनुपर्छ त ? सरकारले त खाएको खायै छ नि । हामीले खाइनखाइ जम्मा गरेर कर बुझाएकै छौँ । अनि सरकारमा बस्नेले त्यही कर खाइरहेकै छन् । भेटेसम्म, मिलेसम्म कमिसन पनि खाइरहेकै होलान् । अब के खुवाउनुपर्यो त ?

माल खुवाउनुपर्यो क्या माल । सरकारले टन्न माल खान पायो भने पो भनेको बेलामा मल पाइन्छ त ।

हैन माल भनेको के हो नि ?

माल भनेको माल । बुझ्नुपर्यो नि बा । मल पाइएन भनेर मात्रै हुन्छ ? अरु कुरा जान्न परेन ? सरकारलाई टन्न माल खुवाउने, अनि मात्र मल पाइन्छ । हैन भने काठमाण्डौका मेयरले फोहरबाट मल बनाउँछु भनेका छन् क्यारे, त्यही मल लगेर खेतमा हाल्ने ।

फोहरबाट मल बनाउन त सरकार र दलहरुले दिनुपर्यो नि । बालेनलाई त्यही फोहरमा डुबाउन आँटेको हामीले बुझेका छैनौँ र ?

आफैँ डुब्न खोजेपछि हामीले के गर्नु ? नडुब्न त, बल गर्नुपर्यो नि ।

नडुब्न के गर्नुपर्ने नि मेयरले ?

स्वतन्त्र भनेर हुन्छ ? दलमा आउनुपर्यो । दल प्रवेश गर्नुपर्यो । दलमा रमाउनुपर्यो।

त्यसो भए दलको दलदलमा नपरेसम्म फोहरबाट मल पनि नबन्ने भो है ?

त्यो त मिलाएर बुझ्नुस् न काका बा । तर एउटा कुरा मल चाहिने भए सरकारलाई टन्न खुवाउनुहोस् । नखाइकन मल निस्कँदैन भनेर बुझ्नुहोस् । तर, मल नपाएर आपतै परेको छ भने मन्त्री गाउँ आएको बेला अलिकति सहयोग गर्नोस् । 

खै पाइखाना जाने लोटा, ल्याउनुस् त !

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया