दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द

 जेठ २९, २०७९ आइतबार १०:५५:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो ।

उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । ५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ ।

जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौधरीले बताउनुभयो । अहिले किसान रासायनिक मल नपाएर हैरान छन् । यो बेला प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग पनि बन्द भएपछि किसानलाई थप समस्या भएको छ । बर्सेनि रासायनिक मलको अभाव हुदै आए पनि विकल्पका रूपमा सञ्चालन भएका प्राङ्गारिक मल उत्पादन गर्ने साना उद्योग आर्थिक अभावकै कारण बन्द अवस्थामा पुगेका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गरी विभिन्न जिल्लामा पठाउन थालिएको थियो । तर कोरोना सुरु भएपछि जोखिमका कारण कामदार घर गएपछि बन्द भएको उद्योग अझै सञ्चालमा आएको छैन ।

अहिले भारतबाट थप मेसिन ल्याएर स्तरवृद्धि गरी सञ्चालनको तयारी गरिरहे पनि बैंकबाट ऋण नपाउँदा समस्या परेको उद्योगले जनाएको छ । नयाँ मेसिन जडान भए प्रतिघण्टा ७ देखि १० क्विन्टल मल उत्पादन गर्ने र यसबाट दाङका सबै किसानलाई पर्याप्त मात्रामा मल पुग्ने उद्योगका सञ्चालक महेश चौधरीले बताउनुभयो । यो मल नार्कले धानबालीमा प्रयोगगरी गुणस्तरको अनुमती दिएको छ । सरकारी बागबानी केन्द्रमा पनि यही मल प्रयोग हुदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया