नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

 जेठ २९, २०७९ आइतबार १६:१८:५० | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थलहरू हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ । 

आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले भन्नुभयो, ‘विमानस्थलहरूकै बाटो भएर पर्यटक तथा यात्रु ओहरदोहर गर्छन्, तिनै विमानस्थल फोहर भए अवस्था के होला ? नेपालका सबै विमानस्थलको थप विकास तथा विस्तार गरी पर्यटकसहित यात्रु लोभिने खालका बनाउँछु ।’ 

मन्त्री आलेले यात्रुले पाँच मिनेटमा नै आफ्नो सामान लिएर जान सक्ने र कुर्न नपर्ने गरी समय मिलाउन पनि कर्मचारीलाई निर्देशन दिनुभयो । टर्मिनल  भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौ महिनाभित्र काम सक्ने वातावण मिलाउन पनि आग्रह गर्नुभयो ।

मन्त्री आलेले आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्याससमेत गर्नुभएको छ । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

एक वर्षमा काम सम्पन्न गरी सक्ने गरी पाँच करोड रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिभिल इन्जिनियरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिनुभयो । आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल भवन निर्माण गर्न लागिएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताउनुभयो । यो भवन निर्माणको जिम्मा ब्राइट मल्टि कन्ट्रक्सनले लिएको छ । 

आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने अहिलेको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र झन्डै ३५ मिटर लामो ब्यागेज कन्भेयर बेल्ट (दुईतर्फी ब्याग लिन मिल्ने) हुने भएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया