खप्तड–शैलेश्वरी म्याराथनमा सेनाका अमलदार सुशीलकुमार शाही प्रथम

 जेठ ३०, २०७९ सोमबार ११:२:१ | विमल बिष्ट
unn.prixa.net

डाेटी - सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको खप्तड–शैलेश्वरी म्याराथन २०७९ प्रतियोगितामा सुशीलकुमार शाही प्रथम हुनुभएको छ ।

‘सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ नाम दिइएको प्रतियोगितामा भवानी बक्स गण अछामका अमलदार शाही प्रथम हुनुभएको हो । बिहान ६ बजे खप्तडको त्रिवेणी मन्दिरबाट सुरु भएको म्याराथन दौडमा उहाँ २ घण्टा १८ मिनेट ३१ सेकेन्डमा शैलेश्वरी मन्दिर सिलगढी  पुग्नु भएको हो ।

प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जदेखि डोटीको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा रहेको शैलेश्वरी मन्दिरसम्म ३२ किलोमिटरको म्याराथन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

यसैगरी,  म्याराथनमा रणबम गण डडेलधुराका सिपाही नरेशसिंह बोहरा दोस्रा हुनुभएको छ भने रणबम गणकै सिपाही रामसिंह पाल तेस्रो हुनुभएको छ ।  म्याराथनमा १ सय २० जना सहभागी भएका थिए ।

म्याराथनमा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ७५ हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी ५ जनालाई १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार र ३२ जनालाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ दिइएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया