बाग्मतीकाे ११९ पालिकाका प्रमुख/उपप्रमुख हेटौँडामा : विकास भनेको सडक मात्र होइन– मुख्यमन्त्री पाण्डे

 जेठ ३०, २०७९ सोमबार १५:१०:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशका एक सय १९ वटा पालिकाका प्रमुख र उपप्रमुख हेटौँडामा भेला भएका छन् । बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्मन्धी अभिमुखीकरण कार्यक्रममा पालिकाका प्रमुख र उपप्रमुखहरू सहभागि भएका हुन् । 

आज र भोलि चल्ने कार्यक्रमको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले विकास भनेको भौतिक पूर्वाधार निर्माण गर्नु, सडक निर्माण गर्नु मात्र नभएको बताउनुभयो । संविधानको मर्मअनुसार काम गर्न उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । ‘डोजरे विकासबाट बाहिर आएर एकल महिला, लोपोन्मुख, सीमान्तकृत जातिका लागि के गर्नुभयो, के गर्दै हुनुहुन्छ ध्यान दिनुस्, अब आउने बजेटमै यो कुरा ध्यान दिनुस् । बाग्मती प्रदेश पालिका सरकार सँगसँगै हिँड्न चाहन्छ’, उहाँले भन्नुभयो । 

यही असार १० गते पालिकाले ल्याउने बजेटमा प्रदेशको नीति तथा कार्यक्रममा समावेश भएका योजनाहरूलाई समेत समेट्न उहाँले गर्नुभयो । ‘तपाईँहरू जुन–जुन पार्टीबाट निर्वाचित भए पनि अब सबै जनतालाई सेवा गर्न तयार हुनुहोस्’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । 

पालिकाको आवश्यकताअनुसार बनेका कानुन आफैले कति कार्यान्वयन गरियो भनेर समीक्षा गर्न उहाँले आग्रह गर्नुभयो । ‘पुरानाले के गर्नुभयो, अब तपाईँहरूले कानुन बनाउनुअघि घनिभूत छलफल गर्नुस् अनि बनेको कानुन अक्षरसः कार्यान्वयन गर्नुस्’, उहाँले भन्नुभयो । कानुन नबनाइ शासन गर्छु भन्नु छाडा हुनु भएको मुख्यमन्त्री पाण्डेले उल्लेख गर्नुभयो । 

‘सङ्घ सुन्ने सरकार हो, प्रदेश नजिक छ भन्ने सरकार हो, पालिकासरकार जनताले काखमा टाउको राखेर रुने सरकार हो, यो जनमुखी हुनुपर्छ’, उहाँले भन्नुभयो । चुनावमा जे पनि गर्छु भन्ने अनि जितिसेकपछि पछि हट्ने काम नगर्न जनप्रतिनिधिलाई उहाँको आग्रह छ । 

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा स्थानीय तहका विज्ञ डा. खिमलाल देवकोटाले स्थानीय सरकार स१चालन र विकासबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रजिअ भरतमणि पाण्डे, सुरक्षा निकायका प्रमुखहरू, १३ जिल्लाका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया