सैन्य सहकार्य समेटिएको एसपीपी सम्झौताका लागि नेपाललाई अमेरिकाको ताकेता

 जेठ ३१, २०७९ मंगलबार ७:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनले गएकाे शुक्रवार शिष्टाचार भेटवार्ता गर्दै ।

काठमाण्डाै -  अमेरिकाले सैन्य सहकार्य समेटिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि नेपाललाई ताकेता गरेको छ ।

नेपाल भ्रमणमा आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ‘ए’ फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा एसपीपीलाई चाँडै टुङ्ग्याउन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले यस विषयमा सत्तारुढ दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने आश्वासन दिनुभएको बुझिएको छ । तर सत्ता गठबन्धनमा रहेको माओवादी र प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले एसपीपी कार्यक्रम इन्डोप्यासेफिक रणनीति अन्तर्गत हुनसक्ने आशङ्का गरेका छन् ।

प्रधानमन्त्री देउवाको छिटै हुने भनिएको अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर हुन सक्ने भन्दै उनीहरुले यसबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् । एसपीपी सम्झौताको लागि अमेरिकाले पाँच वर्ष अघिदेखि ताकेता गर्दै आएको छ । यसपालि फेरि केही कार्यक्रमहरु परिर्माजन गरेर एपीपी सम्झौता गर्नुुपर्ने भन्दै अमेरिकाले नेपाल सरकारलाई मस्यौदा बुझाएको छ ।

अमेरिकाले नेपाल सरकारलाई बुझाएको स्टेट पार्टनर सिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदा केही सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । मस्यौदामा नेपालको उच्च भूभागमा संयुक्त प्रशिक्षण अभ्यास र विभिन्न नौ क्षेत्रमा सैन्य सहकार्य गर्ने प्रस्ताव गरिएको छ ।

नेपालमा संयुक्त विपद् व्यवस्थापन तथा उद्धार अभ्यास, नेपाली सेनाका अधिकृतहरूका लागि संयुक्त फेलोसिप कार्यक्रम, नेपाली सेनाको मागबमोजिम हलुका तथा गैरघातक सैन्य सामग्रीको सहयोग, नेपाली सेनाका लागि साइबर सुरक्षा प्रशिक्षण तथा उपकरण सहयोग, नेपाली सेनाको आतङ्कवाद विरोधी सुराकी क्षमता विकास लगायतका प्रस्ताव मस्यौदामा गरिएको छ ।

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि बहस भइरहँदा अमेरिकाले प्रस्ताव गरेको एसपीपी सैन्य सहकार्यसम्बन्धी सम्झौताको विषयले थप विवाद बढाएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेले सरकारले सन्तुलित परराष्ट्रनीति खलबल्याएर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै विरोध गरेको छ । एमालेको हिजो बसेको सचिवालय बैठकमा नेताहरुले छिमेकी देश भारत र चीनलाई चिढ्याउँदै नेपाललाई अमेरिकातिर ढल्काउन खोजेको भन्दै विरोध गरेका छन् ।  

तस्बिर : रासस
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया