लमजुङमा बाढी/पहिरोको जोखिम : पूर्वतयारीमा जुट्दै सरोकारवाला निकाय

 असार १, २०७९ बुधबार १५:४४:७ | श्यामशितल परियार
unn.prixa.net

फाइल फाेटाे

लमजुङ – बाढी पहिरोको जोखिममा रहेको पहाडी जिल्ला हो लमजु्ङ । विशेषगरी बर्खाको समयमा बाढी पहिरोबाट जिल्लामा क्षति पुग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रका अनुसार मनसुनजन्य विपद्बाट गएको वर्ष जिल्लामा एक सय २० घरधुरीमा क्षति पुगेको थियो । 

तीमध्ये बाढी पहिरोबाट ८७ घरमा पूर्ण क्षति पुगेको थियो । ३३ घरमा आंशिक क्षति पुगेको थियो । गएको वर्षको बाढी पहिरोका कारण मस्र्याङ्दी करिडोर र दोर्दी करिडोरमा रहेको विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुगेको थियो । सडक, बाटोघाटो, निजी लगानीमा सञ्चालित उद्योगका साथै सरकारी संरचनामा समेत क्षति पुगेको थियो ।

यसैगरी २०७७ सालमा बाढी पहिरोका कारण मस्र्याङ्दी गाउँपालिका क्षेत्रमा ७४ घरधुरीमा क्षति पुगेको थियो । ती घरको अहिले पुनर्निर्माण भइरहेको छ । पुनर्निर्माणका लागि सङ्घ सरकारले प्रति प्रभावित घरधुरीलाई जग्गा खरिदमा तीन लाख र घर निर्माणका लागि चार लाख रुपैयाँ उपलब्ध गराएको मिश्रले बताउनुभयो ।  

उहाँका अनुसार मस्र्याङ्दी गाउँपालिका क्षेत्रका प्रभावितहरू नीजि आवास पुनर्निर्माणको दोस्रो किस्ता लिने प्रक्रियामा छन् । २०७७ सालमा बाढी पहिरोबाट क्षति पुगेका अन्य पालिकामा घर पुननिर्माणको प्रक्रिया अघि बढेको छ ।

विपद्पछि तत्कालै दिने राहतह प्रशासनले वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । ‘तत्काल दिने राहत प्रशासनबाट वितरण भइरहेको छ । कतिपयले घर पुननिर्माणको माग गरिरहनुभएको छ । विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणबाट पैसा आउँछ । त्यसका लागि मोबाइल एपमा फाराम भरी पठाउनुपर्छ । त्यो फाराम नपुगेकाले रकम आएको छैन,’ उहाँले भन्नुभयो, ‘पालिकाले मोबाइल एपमा अनलाइन इन्ट्री गरेपछि पुनिर्निर्माणको लागि प्राधिकरणबाट रकम आउँछ । त्यो प्रक्रियामा छ ।’ 

विपद्को जोखिम, सतर्कता अपनाउन सुझाव

बर्सेनि जिल्लामा मनसुनजन्य विपद्बाट धेरै नै क्षति हुने गरेको छ । यस वर्ष पनि तुलनात्मक रूपमा धेरै पानी पर्ने र बाढी पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ । जिल्लामा सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गरी विपद् तयारी प्रतिकार्य योजना बनाइ अघि बढिएको प्रजिअ वैद्यले बताउनुभयो । 

पालिकाहरूले विपद्पछिको उद्धारका सामग्री खरिद गरी तयारी अवस्थामा राख्ने, विपद्मा उद्धारका लागि सुरक्षा निकाय र विभिन्न सङ्घ–संस्थाको समन्वयमा नमुना पूर्व अभ्यास गर्ने लगायतका निर्णय भएको उहाँको भनाइ छ । 

विपद् जोखिम न्यूनीकरणमा जुट्दै पालिकाहरू, ‘मानव सेवामा जुट्छौँ’

बर्खा लागेसँगै बाढी पहिरोको जोखिम न्यूनीकरणका लागि जिल्लाका पालिकाहरू पनि सरिक भएका छन् । जुनसुकै बेला विपद् आउनसक्ने भएकाले मानव सेवा र सहयोगका लागि आफूहरू निरन्तर जुट्ने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

मनसुनजन्य विपद्को जोखिम रहेकाले त्यसको पूर्वतयारीमा आफूहरू जुटिसकेको सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले बताउनुभयो । जोखिम न्यूनीकरण, पूर्वतयारी, विपद्पछिको उद्धार, राहतका लागि बजेट व्यवस्थापन लगायतका विभिन्न तयारीमा लागिएको उहाँले बताउनुभयो । 

‘विपद्को जोखिम छ । जुनसुकै बेला विपद् आउन सक्छ । त्यसमा हामी सचेत र सजग छौँ । आवश्यक तयारीमा जुटिसकेका छौँ’, मेयर कोइरालाले थप्नुभयो, ‘विपद् आउनासाथ सहयोगमा जुट्छौँ । ’

जिल्ला विपद् व्यवस्थापन समितिलाई पालिकाको साथ, सहयोग र समन्वय आवश्यक

विपद्को जोखिम न्यूनीकरण, पूर्वतयारीका साथै विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनामा पालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई सघाउनुपर्नेमा मेयर कोइरालाले जोड दिनुभएको छ । 

‘केही दिनअघि विपद् व्यवस्थापन समितिको बैठक बस्यो । विपद् व्यवस्थापनका तयारीमा जुटेका छौँ । तर कतिपय अवस्थामा यसका लागि जिल्ला दररेट पुरानो रहेछ । साविक जिल्ला दररेटमै बसियो भने विपद्बाट धेरै क्षति, कठिनाइ हुनसक्छ,’ बैठककमा आफूले राखेको सुझावबारे उहाँले भन्नुभयो, ‘त्यो कठिनाइ, क्षति नहोस् भनी समितिको पुरानो दररेटसँग मात्रै हामी आश्रित रहनु हुँदैन । हामी आपत् पर्नासाथ नियम कानुनभन्दा पनि माथि उठेर मानव सेवा र सहयोगका लागि तयार रहनुपर्छ । त्योअनुसार अघि बढ्छौँ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया