रित्ता गाग्रीसहित गाउँपालिका पुगे माइलीपानी खानेपानी संस्थाका उपभाेक्ता

 असार २, २०७९ बिहिबार २०:१६:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – पश्चिम दाङमा खानेपानीको सहज आपूर्ति नभएको भन्दै उपभाेक्ताले शान्तिनगर गाउँपालिकाका अध्यक्षसँग गुनासाे पाेखेका छन् । आज बिहीवार रित्ता गाग्री लिएर गाउँपालिका पुगेका उपभोक्ताले अध्यक्ष प्रमोद बस्नेतसँग गुनासो पोखेका हुन् । 

गाउँपालिका ४ काे पश्चिम एकलीका झन्डै ५० घरधुरीका उपभोक्ताले अध्यक्ष बस्नेतसँग खानेपानीको समस्याबारे गुनासाे गरेका हुन् । उनीहरूले अध्यक्ष बस्नेतसहित वडा नम्बर ३ का अध्यक्ष मीनबहादुर केसी र वडा नम्बर ४ का अध्यक्ष गोमानबहादुर ओलीसँग छिटोभन्दा छिटो खानेपानीको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका हुन् । 

शान्तिनगर ३ काे माइलीपानी खानेपानी संस्थाले वडा नम्बर १ देखि ४ का उपभोक्तालाई निजी धारामार्फत पानी उपलब्ध गराउँदै आए पनि पानीको स्रोत कम र जनसङ्ख्या बढ्दै गएका कारण यस भेगका उपभाेक्ता मर्कामा परेका छन् ।

उपभाेक्ताकाे टाेलीकाे नेतृत्व गर्नुभएका रेशराज कँडेलले आफूहरूलाई पहिला पानी चाहिएकाे अनि मात्र बाटाे चाहिएकाे बताउनुभयाे । गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूलाई आफ्नाे समस्या सुनाएकाे र सुनुवाइ हुनेमा आफू विश्वस्त रहेकाे उहाँकाे भनाइ छ । 

भेटमा गाउँपालिकाका अध्यक्ष बस्नेतले खानेपानी समिति र अन्य निकायसँग समन्वय गरेर उपभोक्तालाई खानेपानी सहज रूपमा उपलब्ध गराउनका लागि पहले गर्ने बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया