कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरेको छैन, सीसीटीभी फुटेज हेर्दा हुन्छ : मन्त्री आले

 असार ४, २०७९ शनिबार ९:८:७ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको दाबी गर्नुभएको छ । 

उहाँले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नोे गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । उहाँले भन्नुभयो, समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन । यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सीसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ ।

कतिपय कामहरूमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले कर्मचारीमाथि भने दुर्व्यवहार नभएकाे बताउनुभयाे । पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृत्रिम अभाव गराइ आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि पालिका चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयमा आएका यी गुनासाका विषयमा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएपछि त्यसलाई रोक्न धेरै शक्ति केन्द्रबाट कार्यकारी अध्यक्षले उल्टै आफूमाथि अनैतिक दबाब दिएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आलेले निगमका अध्यक्षमाथि हातपात नै गरिएको भनेर अहिले आएको समाचार झुटाे रहेको बताउनुभयो ।

आफ्नाविरुद्धमा निरन्तर प्रचारमा लागेका केही व्यक्तिहरूले आफूलाई बदनाम गर्नका लागि समाचार लेखाएको आरोप पनि उहाँले लगाउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया