लमजुङ : वृद्ध सासु र ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

 असार ४, २०७९ शनिबार १८:३७:१८ | श्यामशितल परियार
unn.prixa.net

लमजङ – लमजुङमा वृद्ध सासु/ससुराको राम्रो हेरचाह गर्ने बुहारीहरुलाई सम्मानित गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाकाे अवसरमा आज आफ्ना वृद्ध सासु/ससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरुलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी र मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ सम्मानित गरिएको हाे ।सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै यसले झनै वृद्ध सासुको राम्रो स्याहारसुसार गनुपर्छ भन्ने उत्साह जगाएको रविकलाले बताउनुभयो ।

‘सम्मानित हुन पाउँदा खुशी लागेको छ । यसले झनै उहाँको राम्रो हेरचाह गर्नुपर्छ भन्ने उत्साह जगाएको छ । प्रेरणा थपेको छ,’ रविकलाले भन्नुभयो, ‘सासु/ससुराले बुहारीलाई आफ्नै छोरी र बुहारीले पनि सासु/ससुरालाई आफ्नै बा–आमा ठानी व्यवहार गरेमा सम्बन्ध राम्रो हुन्छ ।’ यसैगरी, आफ्ना वृद्ध श्रीमान्को राम्रो हेरचाह गरेका श्रीमतीलाई पनि सम्मानित गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सुन्दरबजार नगरपालिका-९ की पूर्णकुमारी अधिकारी र चन्द्री गुरुङलाई पनि समाजले सम्मानित गरेको छ । त्यही अवसरमा समाजले ७९ वर्षदेखि ९० वर्ष उमेर समूहका २० जना वृद्धवृद्धालाई दोसल्ला ओढाइ लौरो, टर्च लाइट र च्यवनप्राशका साथमा ढाड कन्याउने सामग्री प्रदान गरी सम्मानित गरेको छ ।

यस समाजमा सुन्दरबजार नगरपालिका-८ र ९ का गरी ७३ जना ज्येष्ठ नागरिक आबद्ध हुनुहुन्छ । समाजले हरेक वर्ष समाजमा आबद्ध ज्येष्ठ नागरिकका साथै वृद्ध बाआमा, सासु/सुराको राम्रो हेरचाह गर्नेहरुलाई सम्मानित गर्दै आएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया