चार्टर्ड उडानमा दुई जना पाइलट राख्नु पर्ने, १४ हेलिकप्टर र २० वटा जहाजले काठमाण्डौ बाहिर पार्किङ गर्नुपर्ने

 असार ६, २०७९ सोमबार ७:४४:५९ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै - हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाण्डौबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।

‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ ।

यो निर्णय आजदेखि हेलिकप्टरमा र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार प्राधिकरणले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाण्डौबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

निर्णय कडाइकासाथ लागू गरिने पनि उहाँले बताउनुभयो । प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकप्टर रहेको छ । अबका दिनमा हेलिकप्टर र वायुसेवाले काठमाण्डौ विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् ।

सङ्घीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका नागरिकले आफ्नो समयअनुसार काठमाण्डाैमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ । यसैगरी राज्यले भीभीआईपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर्ड उडानमा यात्रा गर्न नपाउने भएका छन्।

नागरिक उड्डयन प्राधिकरणले भीभीआईपी हेलिकप्टर उडानमा अनिवार्य दुई जना पाइलट हुनुपर्ने निर्णय गरेको छ । राज्यले भीभीआईपी भनेका व्यक्तिहरूलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र आज सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले जानकारी दिनुभयो । नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् ।

प्राधिकरणले अबदेखि चार्टर्ड उडानमा पनि दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ । मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले चार्टर्ड उडान भने गर्न पाउनेछन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया