कालीकाेटका विद्यार्थीलाई पोखराका विद्यार्थीले किताब कापी लगिदिए

 असार ७, २०७९ मंगलबार २०:१३:२८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराका केही युवा विद्यार्थी मिलेर कर्णाली प्रदेशकाे कालीकाेटकाे विद्यार्थीका लागि पुस्तक अभियान चलाएका छन् । पुराना र नयाँ पुस्तक सङ्कलन गरेर विद्यार्थीहरूले कालीकाेटका विद्यार्थीका लागि अभियान चलाएका हुन् । कक्षा १२ को परीक्षा सकेर उनीहरू अभियानमा लागेका हुन् । 

'एजुकेट' नेपाल नारा दिएर अभियान अगाडि बढाएको अभियानका सदस्य देव भुजेलले बताउनुभयाे । उहाँसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदीप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेल अभियानमा जुट्नुभएकाे छ । 

पोखरामा सङ्कलन गरिएकाे किताब–कापी कर्णाली प्रदेशको कालीकोटकाे विभिन्न गाउँपालिकाका विद्यालयमा वितरण गर्ने अभियानका सदस्य स्मित लामिछानेले बताउनुभयाे । अहिलेसम्म कक्षा ५ देखि १० सम्मका विभिन्न विषयका चार हजार किताब सङ्कलन भएकाे छ । सङ्कलन गरेका किताब, कापी र कपडा लिएर उनीहरू आज मङ्गलवार कर्णालीतिर हिँडेका छन् ।

किताब नपाएर विद्यार्थीले पढ्न नपाएको समाचारमा सुनेका थियाैँ’, अभियानका सदस्य देव भुजेलले भन्नुभयाे, कक्षा १२ को परीक्षा सकिने बित्तिकै अभियान सुरु गरेका हौँ ।’ अभियान थाहा पाएपछि सबैले खुसी हुँदै सहयोग गरेकाे उहाँले बताउनुभयाे । केही व्यक्तिले रकमसमेत सहयोग गरेको उहाँकाे भनाइ छ । 

सङ्कलन भएका किताब, कापी र कपडा सम्बन्धित विद्यार्थीलाई नै दिने अभियानका अर्का सदस्य कृष्ण पौडेलले बताउनुभयाे । ढुवानीका लागि मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने उहाँले सुनाउनुभयाे । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया